१९-२५ जेठ २०७६ | 2-8 June 2019

भित्री कुरा यस्तो हो

Share:
  
- भिक्टर प्रधान

हिमाल (१२–१८ जेठ) मा प्रकाशित स्तम्भ भोगेको देखेको सुनेको मा भैरव रिसालले मेरा पिता स्व. भुवनलाल प्रधानका बारेका केही रोचक किस्सा प्रस्तुत गर्नुभयो, ‘सुनेको’ भनेर । हल्ला–किस्सा रोचक हुन्छन्, फैलन्छन् र कतिपय अवस्थामा रमाइलोकै लागि अतिशयोक्ति पनि हुँदै जान्छन् । त्यसमा उठेका प्रसंगका यथार्थ केही बुँदामा प्रस्तुत गरेको छु ।

१. मेरो पिताजीले मन्त्री पदबाट नदिएको राजीनामा स्वीकृत भयो भन्ने हल्लाबारे रिसालजीले मेरो भनाइलाई उद्धृत पनि गरेका छन् । मैले उनलाई कारण बताइनँ, यहाँ खुलाउँदैछु । पिताजीको राजीनामा २०१६ सालमा भएको नेपाल–भारत गण्डक सम्झैताको कार्यान्वयनको विस्तारित सहमतिपत्रसित सम्बन्धित छ । यसका लागि दुवै देशबीच कुराकानी चलिरहँदा उहाँ नहर तथा विद्युत् मन्त्री हुनुहुन्थ्यो । तर यस सम्बन्धी द्विपक्षीय बैठकमा भने सरकारका तर्फबाट तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्ट उपस्थित हुन्थे । यस्ता केही बैठकपछि विस्तृत दस्तावेज तयार हुन थाल्यो र सहमतिपत्र पनि । पिताजीले कोशी सम्झैता जस्तै गण्डक सम्झैता पनि रुचाउनुभएको थिएन र त्यसका सहमतिका बुँदाहरू पनि मन परेको थिएन । सहमतिपत्रमा विभागीय मन्त्रीका हैसियतले उहाँले नै हस्ताक्षर गर्नुपर्ने अवस्था सृजित हुन्थ्यो । त्यो अवस्थामा पिताजीले समय–परिस्थिति विचारेर मन्त्रिपरिषद्बाट शान्तपूर्वक बाहिरिन चाहनुभयो । उहाँले स्वास्थ्य समस्या देखाएर राजीनामा दिनुभयो ।

उहाँको राजीनामा स्वीकृतिको साता दिनपछि मन्त्रिपरिषद् विघटन भयो । नयाँ मन्त्रिमण्डलमा केदारमान व्यथित नहर तथा विद्युत् मन्त्री भए । सम्भवतः उनकै समयमा विस्तारित सहमतिपत्रले औपचारिकता पायो । मन्त्री पदबाट हटेपछि व्यथितलाई राजा महेन्द्रले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपतिको जिम्मेवारी दिए । नेपाली साहित्य जगतमा ‘कवि राजा’ को यो महानताको वाह्वाही भयो । तर पिताजी भन्नुहुन्थ्यो, सो पद राजा महेन्द्रबाट कवि व्यथितलाई बक्स भएको इनाम थियो ।

नदिएको राजीनामा स्वीकृत भयो भन्ने हल्लाको पछाडि के पृष्ठभूमि थियो भने, पिताजीले राजीनामा दिने मनस्थिति बनाएपछि हरेक क्याबिनेट बैठकमा जाँदा राजासित एकान्तको अनुकूलतामा राजीनामा बुझाउने मनसायले खल्तीमा राखेर जाने गर्नुहुन्थ्यो । त्यतिबेला क्याबिनेट राजाको अध्यक्षतामा राजदरबारमा बस्थ्यो । नभन्दै राजीनामा दिइसक्दा पनि त्यसबारे तेस्रो व्यक्तिलाई सुइँको भएन । भोलिपल्ट उहाँ अड्डा जानुभएन, तर राजीनामाबारे कुनै कुरा चलेन । त्यसपछि पिताजीले अनर्गल हल्ला नहोस् भनेर राजीनामा स्वीकृत नहुन्जेल अड्डामा नियमित गएर काम गरिरहनुभयो । एक सातापछिको एक बिहान सरदार हंसमानसिं राजीनामा फिर्ता लिन राजाबाट आज्ञा भएको भन्दै हाम्रो घर आए । पिताजीले मान्नुभएन ।

एकदिन उहाँ मन्त्रालयमै रहेको बेला करीब १२ बजेतिर राजदरबारबाट राजीनामा स्वीकृतिको पत्र आयो । उहाँ मन्त्रालयबाट बाहिरिनुभयो । रेडियो नेपालले दिउँसोको समाचारमा स्वास्थ्यको कारण दिइएको राजीनामा स्वीकृतिको समाचार भन्यो । सहानुभूति प्रकट गर्न आउनेहरूलाई उहाँ स्वस्थै रहेको बताउनुहुन्थ्यो । यस्तो पृष्ठभूमिका कारण ‘नदिएको राजीनामा स्वीकृत भयो’ भन्ने हल्ला चल्नु अस्वाभाविक थिएन । यससँगै अर्को हल्ला पनि चलेको थियो— उहाँको राजीनामा स्वीकृतिको साता दिनमै मन्त्रिपरिषद् विघटन भएकोले राजाले भुवनलाललाई त इज्जतसाथ झिकेछन् भन्ने ।

२. मन्त्री बनाउन खोज्दा बुइँगलको घ्याम्पोभित्र लुके भन्ने प्रसङ्गमा यथार्थ के थियो भने, २०१७ पुसमा राजाले शासन लिएपछि राजनीतिक व्यक्तिहरू धमाधम पक्राउ परिरहँदा काठमाडौंको तँलाछीमा रहेको हाम्रो घरमुनि एउटा जीप रोकियो र घरको खोजी भयो । सडक छेउकै मतानकोठामा ट्युसन पढाइरहनुभएको उहाँले आफूलाई समात्न आएको सुइँको पाउनुभएछ । हाम्रो घरकै चोकमा नेपाली कांग्रेसका कार्यकर्ता त्रिरत्नमान तुलाधरको घर थियो । २००५ सालमा बीपी कोइराला पक्राउ पर्दा मेरो पिताजी लगायत राजनीतिक कार्यकर्ताहरूको सहयोगमा बीपी, त्रिरत्नको सोही घरमा भूमिगत थिए । त्यहाँबाट बीपी समातिएको केही दिनपछि मेरो पिताजी पनि जेल पर्नुभयो । पिताजीलाई २०१७ सालमा पनि फेरि विगतकै जस्तो घटना दोहोरिने भो भन्ने लाग्यो, त्यसैले उहाँ दुई घरको फरकमा उनै त्रिरत्नमानलाई भेट्न जानुभयो । दुईबीच केही राजनीतिक कुरा भए, अन्ततः पिताजी आफ्नो परिवार उनको जिम्मा लगाई गिरफ्तारी दिन सडकमा निस्किनुभयो । जीपमा आएका व्यक्तिले पिताजीलाई राजदरबारको पत्र थमाए । जसमा भोलिपल्ट दरबारमा उपस्थित हुन भनिएको थियो ।

३. राजाले दिएको पैसाले घर किनेर उब्रेको पैसा सरकारलाई फिर्ता गर्न टेबलमा राखिदिए भन्ने सन्दर्भमा रकम नै टेबलमा राखिएको होइन । आफूले पाएको रु.८० हजारको हिसाब सरकारमा जाहेर गरिएको हो र राजाले बाँकी रकम आफैंले राख्नू भनेका हुन् ।

४. पुछारमा एउटा थप कुरा जोड्छु । मन्त्री पदबाट राजीनामा गरिसकेपछि पिताजीले राजनीति चटक्कै त्याग्नुभयो । उहाँलाई लाग्यो, सत्ता सम्हाल्नेहरू नै देश बनाउन गम्भीर नभई एकाध निस्वार्थ कार्यकर्ताले केही गर्न सक्दैनन् ।

comments powered by Disqus

रमझम