कमाउ अस्पताल विरुद्ध

Share:
  
- डा. अरुणा उप्रेती

चार वर्षअघिको कुरा; क्यान्सरपीडित ८२ वर्षीया मेरी काकी बज्यैलाई सास फेर्नै गाह्रो हुन थाल्यो। परिवारलाई थाहा थियो, उहाँ जीवनको अन्तिम घडीमा हुनुहुन्छ। उपचारभन्दा पनि मृत्युवरण सजिलो होस् भनेर उहाँलाई ललितपुर, सातदोबाटोस्थित एक निजी अस्पताल लगियो। जाँचपश्चात् भनियो, 'शरीरमा रगतको कमी छ, रगत दिनुपर्छ।' “अन्तिम अवस्थाको मानिसलाई रगत दिएर पो के होला र!” उहाँका छोराले भने। तर, स्वास्थ्यकर्मी बम्किए, “भनेको नमान्ने भए किन अस्पताल ल्याएको त?” रगत दिएको पाँच घण्टा पछि आईसीयूमा राख्ने तयारी गर्दैगर्दा उहाँको मृत्यु भयो। तर, अस्पतालले सम्पूर्ण तयारी गरिसकेको भन्दै प्रयोग नै नगरेको आईसीयूको रु.५ हजार शुल्क तिरायो। 'अस्पतालले मृत्युबाट पनि पैसा कमायो' हामीले कुरा गर्‍यौं।

तीन वर्षअघि पनि यस्तै भएको थियो। चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज र भारतको राजीव गान्धी हस्पिटलले समेत बढीमा ६ महीना मात्र बाँच्ने भनिएका क्यान्सर रोगी रवि अधिकारी (५०) लाई काठमाडौंकै एक निजी अस्पतालले ठीक बनाउने दाबी गर्‍यो। अचानक परिवारमा आशा पलायो। उपचार शुरू भयो। अन्ततः छैटौं महीनामै बिरामीको मृत्यु भयो। अहिलेसम्म परिवार अस्पतालमा खर्च भएको रु.३ लाख ऋण तिरिरहेको छ।
हिमाल मा 'सिकिस्त बिरामीको किनबेच' पढेपछि मलाई यी घटना एकाएक सम्झ्ना आए। डाक्टरले जसरी भए पनि बिरामी ठग्न खोज्छन् भन्नु वास्तवमै गलत हो। तर, हिमाल का रिपोर्ट र अनुभवहरूबाट भन्न कर लाग्छ, केही निजी अस्पताल बिरामी ठग्न नै खुलेका हुन्।

विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार सुत्केरी हुनेमध्ये १० देखि १५ प्रतिशतलाई मात्र शल्यक्रियाको आवश्यकता पर्न सक्छ। तर, अचेल निजी प्रसूति गृह पुग्ने झ्न्डै ६० प्रतिशत गर्भवतीको प्रसूति शल्यक्रियाबाटै गरिन्छ। डाक्टरले एक–दुई कारण तेर्स्याएर 'शल्यक्रिया गर्नुपर्छ' भनेपछि कसैले पनि प्रश्न उठाउँदैन। शल्यक्रियापछि परिवारले रु.६०–७० हजारसम्म तिर्नुपर्छ। तर, यस्तो शल्यक्रिया थापाथलीस्थित प्रसूति गृहमा भने सित्तैंमा हुन्छ।

पाँच महीनाकी एक २४ वर्षीया गर्भवती जाँच गराउन एक निजी अस्पताल पुगिन्। जाँचपछि अस्पतालकी स्त्री रोग विशेषज्ञले 'तपाईं यहीं जाँच गराउनुस्। शल्यक्रिया गर्नुपर्छ' भनिछन्। बच्चा पाँच महीना छँदै शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्छ भन्ने उनी कस्ती विशेषज्ञ? मैले युवतीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा जान सुझाएँ। खुशीको कुरा, पाँच महीनापछि उनको प्रसव प्राकृतिक तरीकाले भयो। युवतीले मलाई धन्यवाद दिइन्। यस्तै स्थिति रहे पैसा कमाउनकै लागि कुनै अस्पतालले प्राकृतिक रूपमा प्रसूति गराउन पछि समस्या पर्छ भन्न बेर छैन।

केही वर्षअघिसम्म ब्राजिलको अवस्था नेपालको भन्दा भयावह थियो। त्यहाँका निजी अस्पतालमा ८५ प्रतिशत गर्भवतीको शल्यक्रिया गरिन्थ्यो। गर्भवती महिला र शिशुको जीवनरक्षाका लागि अत्यन्त गम्भीर अवस्थामा मात्र गरिने शल्यक्रिया अस्पतालको कमाउने माध्यम बनेपछि ब्राजिल सरकारले महिलालाई प्राकृतिक रूपमै बच्चा जन्माउन प्रोत्साहित गर्न थालेको छ। जथाभावी शल्यक्रिया रोक्न सरकारले अस्पतालसँग शल्यक्रियाको तथ्यांक माग्न थालेको छ। तथ्यांक नदिने अस्पताललाई ८ हजार डलर जरिवाना गर्ने नियम बनाइएको छ। अनावश्यक शल्यक्रिया गर्नु, बिरामी आफ्नो अस्पतालमा ल्याउन कमिशन दिनु र यस्तो कार्यमा नाम चलेका अस्पतालसँगै स्वास्थ्यकर्मी नै संलग्न हुनु शरमको विषय हो।

कुनै वेला भारतका निजी क्लिनिकमा बिरामी पुर्‍याउन क्लिनिकले रिक्सा–चालकलाई प्रति बिरामी रु.१० देखि रु.२५ सम्म दिने सुन्दा पनि हामी जिब्रो टोक्थ्यौं। तर, यतिवेला यो कारोबार राजधानी आइपुगेको छ। र, रिक्साको साटो एम्बुलेन्सबाटै कारोबार हुन थालेको छ। यसले सामाजिक उत्तरदायित्व वहनकर्ता स्वास्थ्यकेन्द्र र स्वास्थ्यकर्मीको इमानमा प्रश्नचिन्ह लगाइदिएको छ।

त्यसो त प्रत्येक निजी अस्पताल बदमास नहुन सक्छन्। तर, पत्रकारले नक्कली ड्राइभर बनेर गरेको फोनवार्ताका संलग्नलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। यस्तै कुरामा हो, स्वास्थ्य मन्त्रालयको ध्यान जानुपर्ने। यस्ता विकृति विरुद्ध हामी सबै जागरुक हुनुपर्छ।

comments powered by Disqus

रमझम