दुर्गमको नमूना

Share:
  
बाजुराको बूढीगंगा नगरपालिकास्थित टाँटे स्वास्थ्य चौकी दुर्गम क्षेत्रकै नमूना स्वास्थ्य संस्था बनेको छ।

तस्वीरहरुः प्रकाश सिंह
टाँटे स्वास्थ्य चौकीमा रहेको एक्सरे मेशीन ।
२०२० सालमा स्थापित टाँटे स्वास्थ्य चौकीमा अहिले आकस्मिक रक्तसञ्चार, एक्सरे, इमर्जेन्सी, एम्बुलेन्स, ल्याब सेवाका साथै बिरामी भर्ना गरेर उपचार गर्ने सुविधा उपलब्ध छ । बाजुरा जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, टाँटे स्वास्थ्य चौकीले दिएको सेवा हिमाली र पहाडी जिल्लाकै उत्कृष्ट हो ।

स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब दीपक शाह आफैं व्यवस्थापन गरेर कुपोषण, एचआईभी परीक्षणभन्दा अघि दिइने काउन्सिलिङका लागि भीसीटी केन्द्र, प्रसूति, एम्बुलेन्स र आँखासम्बन्धी ओसीटी सेवा पनि सञ्चालन गर्दै आएको बताउँछन् । सरकारी दरबन्दी बाहेकका सबै व्यवस्थापन आफैं गरेको उनले बताए । “अन्य स्वास्थ्य संस्थासँगको सहकार्यमा शिविर सञ्चालन गरेर विशेषज्ञ सेवा पनि दिंदै आएका छौं” शाह भन्छन्, “जस्तो, गेटा अस्पतालको सहकार्यमा हरेक वर्ष आँखा शिविर सञ्चालन हुने गरेको छ ।”

स्वास्थ्य चौकीले राम्रो सेवा दिने भएकाले जिल्लाको तल्लो भेगमा पर्ने त्रिवेणी, छेडेदहलगायत क्षेत्रका बिरामीहरू पनि टाँटे पुग्ने गरेका छन् । स्वास्थ्य चौकीमा दैनिक ५० भन्दा बढीले सेवा लिइरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्मा जिल्लाकै राम्रा गतिविधि टाँटे स्वास्थ्य चौकीमै हुने गरेको बताउँछन् । उनको मूल्यांकनमा, स्वास्थ्य चौकीको सरसफाइ व्यवस्थापन पनि धेरै राम्रो छ ।

स्वास्थ्य चौकीले गुणस्तरीय ल्याब सेवा समेत दिइरहेको छ । स्वास्थ्य चौकीको ल्याबमा प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै प्रकारको जाँच हुन्छ । एचआईभी रगत परीक्षण समेत हुने गरेको छ । ल्याब टेक्निसियन खड्ग बिष्टका अनुसार आवश्यक परेको बेला चौबीसै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । यसअघि सामान्य रगत जाँचका लागि एक दिन हिंडेर अछामको बयलपाटास्थित अस्पताल जानुपथ्र्यो । स्वास्थ्य चौकीका इन्चार्ज शाह ल्याब र एक्सरे सुविधाले रोग निदान निकै सहज भएको बताउँछन् । उनका अनुसार, स्वास्थ्य चौकीको ल्याब सेवा सरकारी मापदण्ड अनुसार छ । ल्याब टेक्निसियनहरूको तलबको व्यवस्था स्वास्थ्य चौकीले नै गरेको छ ।

टाँटे स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब दीपक शाह बिरामी जाँच गर्दै ।
बाजुरामा पहिलो पूर्ण संस्थागत सुत्केरी वडाहरूको घोषणा पनि टाँटे स्वास्थ्य चौकीले नै गरेको छ । त्यसमा बूढीगंगा नगरपालिका ४, ५, ६ वडा र झली गाउँ समेटिएका छन् । ती वडाका गर्भवतीहरू सुत्केरी हुन स्वास्थ्य चौकीमै आउने इन्चार्ज शाहले बताए । त्यसका लागि टाँटे स्वास्थ्य चौकी र झलीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । ती बर्थिङ सेन्टरमा आर्थिक वर्ष २०७३/७४ मा १६३ बच्चा जन्मिए । गएको साउनयता पनि सबै बच्चा बर्थिङ सेन्टरमै जन्मिएको स्वास्थ्य चौकीका इन्चार्ज शाहले बताए । उनका अनुसार, चौकीको कार्यक्षेत्रका गर्भवतीमध्ये ९५ प्रतिशतलाई सुरक्षित सुत्केरी गराएपछि पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने निर्देशिका अनुसार घोषणा गरिएको हो ।

सुदूरपश्चिमका कुनै पनि स्वास्थ्य चौकीमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन नभएको अवस्थामा निकै विकटमा रहेको टाँटे स्वास्थ्य चौकीमा यो सेवा छ । रगत अभावमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता भएकाले चौकीमा यो सेवा ल्याएको इन्चार्ज शाह बताउँछन् । यो सेवा संचालनमा ल्याउन स्थानीय जनता, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी र जिल्ला स्वास्थ्य कार्यालयको ठूलो सहयोग रहेको उनले बताए ।

प्रकाश सिंह, बाजुरा

comments powered by Disqus

रमझम