भवन निर्माण आचारसंहिता शून्य सतर्कता

Share:
  
महाभूकम्पपूर्व ढुक्क सुदूरपश्चिमेली अहिले 'मेरो घर कस्तो छ?' भन्दै नगरपालिका धाउन थालेका छन्।

डोटी सदरमुकामका तीनदशक पुराना घर।
महाभूकम्पले आफ्नो तीनतले घर चर्काएपछि कञ्चनपुर भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका नरबहादुर पालले 'घर हेरिपाऊँ' भन्दै नगरपालिकामा निवेदन दिए। भूकम्पयता कैलालीको श्रीपुरस्थित शारदा उच्च माध्यमिक विद्यालयको पठनपाठन खेलमैदानमै चलिरहेको छ। विद्यालयले धनगढी नगरपालिकासमक्ष 'बस्न मिल्छ कि मिल्दैन, जाँच गरिदिन' आग्रह गरेको पनि महीना दिन बित्यो। तर, नगरपालिकाबाट कुनै उत्तर आएको छैन।
१२ वैशाखको महाभूकम्पले खासै असर नगरे पनि २९ वैशाखको परकम्पले सुदूरपश्चिममा सरकारी र निजी गरी ३४ घरमा क्षति पुगेको तथ्यांक छ। भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐर भूकम्पपछि नयाँ तथा पुराना घरहरूको अवस्था अनुगमन गर्न नसकिएको बताउँछन्।

सुदूरपश्चिम र भूकम्पको नाता पुरानै हो। अमेरिकी जिओलोजिकल सर्भे (यूएसजीएस) का अनुसार २८ अगस्त १९१६ मा अपि हिमाल नजिक केन्द्रबिन्दु बनाएको भूकम्पले सुदूरपश्चिम नेपाल र भारतमा ठूलो जनधनको क्षति पुर्‍याएको देखिन्छ। यस्तै १९ जुलाई, १९८० मा दार्चुला नजिकै केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्यूडको भूकम्पमा २०० भन्दा बढीको मृत्यु भएको थियो। दुई वर्षअघि २७ जुलाई २०१३ मा दार्चुला केन्द्रबिन्दु भएर गएको ४.४ म्याग्निच्यूड तथा ४ अप्रिल २०११ मा दार्चुला र बझाङको सिमानामा केन्द्रबिन्दु भएर गएको ५.७ म्याग्निच्यूडको भूकम्पले थुप्रै घरमा क्षति पुगेको थियो।

“बाजेका पालाको घर हो। बस्न मिल्छ कि मिल्दैन हेरिदिनुस् भनेको कोही आएनन्”, बझाङ सदरमुकाम चैनपुरका जनकराज जोशी गुनासो पोख्छन्। महाभूकम्पपछि स्थानीय समूहले नगरका घरहरूको अवस्था बताइदिन आग्रह गर्दै भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र पनि बुझाए। “अहिलेसम्म नगरक्षेत्रका घरहरूको अनुगमन सकिनुपर्ने हो, तर काम थालिएकै छैन”, स्थानीय युवराज घिमिरे भन्छन्।

आचारसंहिताको उपहास

भवन निर्माण आचारसंहिता पालना नगरी ठड्याइएका डडेल्धुरा सदरमुकामका घर।
सुदूरपश्चिममा बढी जनसंख्या बसोबास गर्ने भीमदत्त र धनगढी नगरपालिकासँग भवन आचारसंहिता नभएको भने होइन, तर कार्यान्वयन लगभग शून्य छ। धनगढी नगरपालिकाका इन्जिनियर द्विजराज भट्ट नगरभित्रका २१ हजार ५९ मध्ये १२ हजार जति घर २०३० सालभन्दा अगाडि बनेकाले जोखिमको सम्भावना बढी रहेको बताउँछन्। डडेल्धुराको अमरगढी नगरपालिकाका इन्जिनियर कवीन्द्र भट्ट पनि अहिलेसम्म घर निर्माणका लागि नक्शापास गराउन कोही नआएको बताउँछन्।

भीमदत्त नगरपालिकाका इन्जिनियर ऐर नगरमा बनेका २० हजार ६८४ घरमध्ये करीब ९० प्रतिशतले भवन आचारसंहिता पालना नगरेको बताउँछन्। उनी भन्छन्, “पुराना त कुरै नगरौं, नयाँ घरहरूले पनि आचारसंहिता पूरा गरेका छैनन्।”

भवन निर्माण आचारसंहिता लागू नै नगरिएको डोटी सदरमुकाम सिलगढीको अवस्था झ्नै भद्रगोल छ। “तीन तलाभन्दा माथि भवन नबनाउनू भन्ने नगरपालिकाको निर्णय उल्लंघन भइरहेको छ, जथाभावी घर ठडिएका छन्”, दिपायल सिलगढी नगरपालिकाका सब–इन्जिनियर शिवबहादुर माझी भन्छन्।

त्यसो त सुदूरपश्चिमका सरकारी भवन नै पनि जोखिमयुक्त नै छन्। यसपटकको भूकम्पमा निजीभन्दा पनि यिनै सरकारी भवनमा बढी क्षति पुगेको छ।

“अधिकांश सार्वजनिक तथा सरकारी भवनले समेत नक्शापास गरेकै छैनन्”, ऐर वास्तविकता बताउँछन्।

भवन निर्माण आचारसंहिता कडाइ साथ लागू गराउने काम नगरपालिकाकै हो। तर, नगरपालिकाका इन्जिनियरहरू घरधनीकै दोष देख्छन्।

बच्चु विक, महेन्द्रनगर


खण्डहर भयो गोरखा दरबार

१२ वैशाखको महाभूकम्पले करीब तीन सय वर्ष पुरानो गोरखा दरबारलाई धराप बनाएको छ।

रामजी दाहाल

काठमाडौंबाट गएको पुरातत्व विभागको टोलीको सुझावमा गोरखा दरबार हेरचाह अड्डाले गोरखकाली मन्दिर प्रवेशको मूलद्वारमा सूचना टाँसेर प्रवेश निषेध गरेको छ। विभागले दरबार, मन्दिर सबै अति धराप भएकाले यहाँका सबै गतिविधि रोके पनि नियमित पूजाआजा चाहिं जारी राखेको मूलपुजारी प्रदीपनाथ योगीले बताए।

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहका गुरु गोरखनाथको गुफाले पूरै ठाउँ छोडेको छ। गोरखकाली मन्दिरसँगैको गोरखनाथको रोटपाटी, सितलपाटी, पण्डितपाटी, नगर्चीले नगरा बजाउने दमाईपाटी, पूर्णकोट पूरै क्षति भएको छ। पुरातत्व विभागले यीमध्ये गोरखनाथ गुफा तत्काल बनाउन निर्देशन दिए पनि बजेट नभएको दरबार हेरचाह अड्डाका प्रमुख गणेशप्रसाद भट्टराईले बताए।

रामजी दाहाल, गोरखा


कोपिलाको याचना

लक्ष्मी गौतम

अपांगता परिचय पत्र बाँड्न जेठको दोस्रो साता स्याब्रुम्बा गाविस पुगेकी पाँचथरकी महिला विकास अधिकृत गोमा वाग्लेले शरीरभरि घाउ बोकेर कुनामा टोलाइरहेकी एउटी बालिका देखिन्। बालिकाबारे नबुझी फर्कन उनको मन मानेन।

दुई वर्षकी हुँदा आमा गुमाएकी र अर्को विवाहलगत्तै बुबाद्वारा त्यागिएकी ९ वर्षीया कोपिला कार्की अहिले स्याबु्रम्बा–८ मा हजुरआमासँग बस्दिरहिछन्। कक्षा ३ मा पढिरहेकी उनको शरीरमा जन्मेको केही समयपछि नै यस्तो समस्या देखिएको रहेछ।

वाग्लेले उपचारका लागि कोपिलालाई सदरमुकाम ल्याउन हजुरआमालाई अनुरोध गरिन्। स्कूले पोशाक सेतो सर्ट र नीलो फ्रकमा १९ जेठमा हजुरआमासँग फिदिम आइपुगेकी कोपिलाको शरीरभरि घाउ देखिन्थ्यो। कतै कतै त घाउ पाकेर पानी बगिरहेको थियो।

वाग्लेकै पहलमा फिदिममा कोपिलाको स्वास्थ्य परीक्षण पनि गरिएको छ। तर, जिल्लामै उनको उपचार सम्भव र पर्याप्त रकम पनि नभएको उनको भनाइ छ।

“कसैले घाउ निको बनाइदिए धेरै पढेर ठूली मान्छे बन्नेथिएँ”, कोपिला भन्छिन्।

लक्ष्मी गौतम, फिदिम

comments powered by Disqus

रमझम