ढिला हुन लाग्यो

Share:
  
बाढी–पहिरोको उच्च जोखिममा रहेका लमजुङका भूकम्पपीडित जीविकोपार्जन सहितको पुनर्स्थापना पर्खिरहेका छन्।

तस्वीरहरुः युवराज श्रेष्ठ
लमजुङ, इलमपोखरीस्थित बस्तीमाथि धाँजा फाटेको जमीन।
१२ वैशाखको महाभूकम्पले उत्तरपूर्वी लमजुङको दूधपोखरी–७ गैरीगाउँलाई चिराचिरा पारिदिएको छ। धाँजाले गाउँलेको भोकनिन्द्रा हरेको र पानी पर्दा गाउँ नै जाग्राम बस्नुपरेको स्थानीय विष्णुलाल गुरुङले बताए। यस्तै, इलमपोखरी–५ ताजी गाउँ पनि पहिरोको उच्च जोखिममा छ। गाउँमाथि ठूलो धाँजा फाटेको छ। स्थानीय क्षेत्रबहादुर गुरुङका अनुसार, तत्काल बस्ती नसरे बर्खामा पूरै गाउँ बग्ने अवस्था छ। अरू ठाउँमा घरजग्गा हुनेहरू सरिसके, नहुनेहरू मात्र गाउँमा रहेको उनी बताउँछन्।

दूधपोखरी–७ गैरीगाउँकै गौमाया गुरुङले सुरक्षित ठाउँमा बस्ने व्यवस्था गरिदिन सरकारसँग आग्रह गरिन्। इलमपोखरीका पूर्णबहादुर गुरुङले पनि बर्खा नलाग्दै टहरा बनाएर बस्न मिल्ने ठाउँ खोजिदिन आग्रह गरे। जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिका अनुसार, महाभूकम्पपछि लमजुङमा ३४ गाउँका दुई हजार परिवारलाई तत्काल अन्यत्र सार्नुपर्ने भएको छ। समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना उनीहरूलाई यथाशक्य छिटो पुनर्स्थापना गर्ने प्रयास भइरहेको बताउँछन्।

बस्ने ठाउँको व्यवस्था गरिदिन अनुरोध गर्दै दूधपोखरी–७ गैरीगाउँकी गौमाया गुरुङ
भूकम्प प्रभावितहरूलाई राहत र पुनर्स्थापनाका लागि सरकारले प्रस्ताव गरेको सम्बन्धित क्षेत्रका निर्वाचित सभासद्को संयोजकत्वमा रहने समितिको कार्यादेशमा अन्य सभासद्, जिल्ला प्रशासन र जिविसका अधिकृत, भूमिसुधार, खानी तथा भूगर्भ विभाग र वन मन्त्रालयका जिल्ला कार्यालयका प्रमुख सदस्य रहने उल्लेख छ। समितिले पुनर्स्थापनाको लागि उपयुक्त स्थान छनोट गर्ने भनिएको छ, जुन अहिलेसम्म हुनसकेको छैन। तर, अन्य नीतिगत अस्पष्टताका कारण बाढी–पहिरोको उच्च जोखिममा रहेकाहरूलाई पुनर्स्थापना गर्न ढिलो भएको क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् जमिन्द्रमान घले बताउँछन्।

पुनर्स्थापनामा अनिच्छा

लमजुङको भोंजे, उपल्लो चिप्ला, दूधपोखरी, फलेनी, ढोडेनी लगायतका क्षेत्र महाभूकम्पअघि नै पहिरोको उच्च जोखिममा थिए। फलेनी र ढोडेनी गाविसको माथिल्लो क्षेत्रका ताँजे, सिमी, थुमस्वाँरा लगायतका गाउँलाई २०३२ सालमै अन्यत्र सार्ने प्रयास भएको थियो, तर गाउँलेले थातथलो छाड्न नमान्दा त्यसै छोडिएको थियो। ढोडेनी गाउँ पंचायतका तत्कालीन प्रधानपंच गजबहादुर गुरुङ भन्छन्, “त्यतिवेला अन्यत्र जाँदा आर्थिक–सामाजिक हैसियत सहितको जीविकोपार्जनमा समस्या हुने डरले गाउँले सर्न मानेका थिएनन्।”

भोंजेका दूधरास गुरुङ अहिले पनि आफ्नो सबथोक छोडेर अन्यत्र जान मुश्किलै पर्ने तर, पहिरोले अहिले नै एउटा विद्यालय र ६० वटा घर बगाइसकेको बताउँछन्। “एकातिर यस्ता धाँजा गाउँलेको मनमा गहिरोसँग गढेको छ, अर्कातिर बर्खा लागिसक्यो, कहाँ जाने? गए पनि नयाँ ठाउँमा जीविका नहोला कि भन्ने चिन्ता छ”, घेर्मुका कुमेर गुरुङ भन्छन्।

युवराज श्रेष्ठ, लमजुङ


शून्य विद्यार्थी

लक्ष्मी गौतम
विद्यालय खोल्नु, उँग्नु र लुखुरलुखुर घर फर्कनु! पाँचथर नगरपालिका–५ को सिद्धकाली र नांगिन गाविस–५ स्थित विद्याज्योति प्राविका शिक्षक र कर्मचारीको दैनिकी यसरी नै बितिरहेको छ।

चालू शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना नभएपछि शिक्षक र कर्मचारी तलब लिनकै लागि पनि विद्यालय खोल्न बाध्य छन्।

सिद्धकाली प्राविमा गत शैक्षिक सत्रमा १३ जना विद्यार्थी थिए। सदरमुकाम फिदिमदेखि सात किलोमीटर दूरीमा रहेको उक्त विद्यालय वरपर ३६ घरधुरी छन्। तर, त्यहाँका विद्यार्थी अन्यत्रै पढिरहेका छन्। “विद्यालय आयो, बाटो हेर्‍यो, उँग्यो र साँझ् घर फर्कियो, के गर्ने विद्यार्थी नै छैनन्”, प्रधानाध्यापक अम्बिका खनाल भन्छन्।

विद्याज्योति प्राविको कथा पनि उस्तै छ। गएको वर्ष आठ जना विद्यार्थी पढाएको यो विद्यालयले १३ जेठसम्म एकैजना विद्यार्थी पनि पाएको छैन। विद्यार्थी नै नभए पनि जागिर जोगाउनकै लागि विद्यालय खोल्नुपरेको प्रधानाध्यापक वेदनिधि रिमाल बताउँछन्।

शिक्षकको अनुपातमा विद्यार्थी न्यून देखिएपछि जिल्ला शिक्षा कार्यालयले दुवै विद्यालयलाई कक्षा ५ बाट ३ सम्ममा झार्ने र शिक्षक दरबन्दी पनि पाँचबाट तीन जनामा सीमित गर्ने निर्णय गरेको छ।

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल राम्रो विद्यालयमा पढ्ने विद्यार्थीको चाहना र शिक्षकको पेशाप्रतिको लगावमा आएको कमीका कारण ती विद्यालय विद्यार्थीविहीन बनेको बताउँछन्। उनी भन्छन्, “शून्य विद्यार्थीको कारण पत्ता लगाई विद्यालय गाभ्ने या शिक्षकलाई कारबाही गर्ने गरिरहेका छौं। जिशिअ नेपाल गत वर्ष न्यून विद्यार्थी भएका तीन वटा विद्यालय एउटै विद्यालयमा गाभेर यो कामको थालनी गरिसकेको बताउँछन्।।

लक्ष्मी गौतम, पाँचथर

comments powered by Disqus

रमझम