बालविवाह रोक्ने देउता!

Share:
  

तस्वीरः तीला भण्डारी
बालविवाह गराउने छैनौं भनी लिंगासैनी देउताको नाममा कसम खाँदै पाँखावासी।
छिमेकीको लहैलहै र लाडु (कसार) खाने लोभमा १४ वर्षकै उमेरमा छोरीको विवाह गरिदिएका पाँखा, कालिकोटका हरसिङे दमाई (७२) सँग अहिले पछुतो मात्र बाँकी छ। २०६१ सालमा विवाह गरेकी छोरी तीन वर्ष नपुग्दै २०६३ सालमा तल्लोपेट दुख्दादुख्दै बितिन्।

१७ वर्षमै जेठी छोरी गुमाउनुको पीडा दमाईका मनमा खिल झैं रोपिएको छ। त्यही खिल झिक्न उनी २७ जेठमा पाँखा गाविसमा आयोजित बालविवाहमुक्त घोषणा कार्यक्रममा पुगे। र, सबैसामु घोषणा गरे, “सानैमा बिहे गरिदिनु ठूलो गल्ती रहेछ, बल्ल आँखा खुलेको छ, अब अरू छोराछोरीको उमेर नपुग्दै बिहे गर्दिनँ।” यसका लागि उनले लिंगासैनी देउता भाकेर कसम खाए। उनी जस्तै सम्पूर्ण गाविसवासीले लिंगासैनीको नाममा बालविवाह नगरिदिने अठोट गरे।

अब पाँखागाउँ बालविवाह मुक्त गाविस बनेको छ। चारवर्षदेखि यो अभियानमा सक्रिय गाउँ बालसंरक्षण तथा संवर्द्धन उपसमितिका संयोजक राजपुरा चौलागाई भन्छिन्, “धेरै प्रयासपछि अहिले सफल भयौं।” बाल क्लब पाँखाकी अध्यक्ष कान्छी मल्ल (१६) ६ महीनादेखि गाउँमा एउटै पनि बालविवाह नभएको बताउँछिन्। उनका अनुसार बालविवाह गर्ने/गराउनेलाई बहिष्कार गर्ने चेतावनी दिइएको छ।

गाउँलेले लिंगासैनी देउता नै भाकेका कारण आइन्दा बालविवाह नहुनेमा सबै विश्वस्त छन्। स्थानीय हीरालाल चौलागाई पाँखावासीका मुख्य देउता लिंगासैनीसँग गरेको कबूल पूरा नगरे अनिष्ट हुने विश्वासका कारण गाउँमा बालविवाह नहुने तर्क गर्छन्।

पाँखागाउँमा ६ हेक्टर क्षेत्रफलमा फैलिएको लिंगासैनी जंगल छ। जंगलको बीचमा लिंगासैनी मन्दिर छ। जहाँ हरेक महीनाको पूर्णिमाका दिन पाठाको बलिसहित पूजाआजा गरिन्छ। पाँखा ४ दसलाकी कुसुमकला मल्ल (३०) भन्छिन्, “मन्दिरभित्र थानमा हामी महिलालाई जान दिंदैनन्, बाहिरबाटै हेर्छौं।” धार्मिक आस्थाका कारण लिंगासैनी जंगल अहिलेसम्म हराभरा छ।

स्थानीयको लिंगासैनी देउताप्रतिको भक्तिकै कारण सभासद् तुलाराज बिष्टले देउताको नाममा कसम ख्वाएर बालविवाहविरुद्ध प्रतिबद्धता जनाउने उपाय सुझ्ाएका थिए। नेकपा (एमाले) का तर्फबाट सभासद् उनी स्वयंले पनि देउताको नाम उच्चारण गर्दै बालविवाहविरुद्ध लाग्ने कसम खाए। पाँखा जिल्लाको चौथो बालविवाहमुक्त गाविस हो। यसअघि जुविथा, छाप्रे र सुकाटिया बालविवाहमुक्त घोषणा भइसकेका छन्।

तीला भण्डारी, कालिकोट


सपना साकार

दीपक ज्ञवाली
रूपन्देहीस्थित लुम्बिनी अञ्चल अस्पतालमा ३२ जेठदेखि ६ शैच्चयाको सघन उपचार कक्ष (आईसीयू) शुरू भएको छ। तर, समाजसेवी रामलाल आचार्यले १८ वर्षअघि नै यसको पहल थालेका थिए।

आईसीयू अभावमा धेरैले ज्यान गुमाइरहेको तथ्य बुझेपछि बुटवलका आचार्यले २०५४ सालमा नै श्रीमती नन्दकलाको स्मृतिमा अस्पतालमा आईसीयू भवन बनाइदिएका थिए। त्यसपछि उनी आईसीयू सेवा सञ्चालन गर्न व्यक्तिगत रुपमै लागे। तर, ७६ वर्षको उमेरमा २०५५ सालमा उनको मृत्यु भयो। “आजको दिन देख्न पाएको भए बुबा कति खुशी हुनुहुन्थ्यो होला!” आचार्यका छोरा बाबुराम भन्छन्।

अस्पतालमा आईसीयू सेवा सञ्चालन नहुनुमा सरकारी बेवास्ता नै कारक थियो। आईसीयूका लागि चाहिने उपकरण र स्वास्थ्यकर्मीको दरबन्दी स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने तर तलब भने अस्पताल विकास समितिले बेहोर्ने शर्तमा जसोतसो आईसीयू सञ्चालनमा आएको हो। आईसीयू अभावमा श्वासप्रश्वासका सामान्य बिरामी समेत बाहिर पठाउने गरेको अस्पतालको पछिल्लो सेवाबाट पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका १३ जिल्लावासीले लाभ पाउने छन्। अस्पतालमा दैनिक करीब एक हजार बिरामी आउने गरेका छन्।

अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मी अस्पतालका सटर भाडामा लगाउँदा आम्दानी बढेकाले आईसीयू सञ्चालन गर्न सकेको बताउँछन्। “अब सीसीयू (कोरोनरी केयर युनिट) सञ्चालनको तयारी गरिरहेका छौं”, उनी भन्छन्।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम