काल्पनिक विद्यार्थीको भर

Share:
  
गाभिने डरले न्यून विद्यार्थी संख्या भएका विद्यालय काल्पनिक विद्यार्थी पढाइरहेका छन्।

गोपाल गडतौला
जनता प्रावि दमक–१८ का प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी ४ र ५ कक्षाका विद्यार्थी (क्रमशः बायाँ र दायाँ) लाई एउटै कोठामा पढाउँदै ।
१३ असार, बिहान १:१५ बजे। जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी ४ र ५ कक्षाको हाजिरी खाता लिएर कक्षा कोठाभित्र पसे। कक्षामा नौ जना विद्यार्थी थिए, ४ कक्षाका दुई र ५ कक्षाका सात जना।

तर हाजिर खातामा भने ४ कक्षामा ८ जना र ५ कक्षामा ११ विद्यार्थी पढिरहेका थिए। त्यति मात्र होइन, २५ असारसम्म उनीहरूको उपस्थिति पनि भइसकेको थियो।

गत वर्ष २८ विद्यार्थी रहेको जनता प्राविमा यो वर्ष ३९ जना छन्। तर, प्रअ भण्डारीले ६० जना विद्यार्थीको विवरण स्रोत केन्द्र र जिल्ला शिक्षा कार्यालय झापामा बुझाउन ठिक्क पारेका छन्। “नराम्रो नियतले होइन, अर्को विद्यालयमा गाभिन नदिन” उनी भन्छन्।

दमक–१६ अर्नाखाडीस्थित जनचेतना प्राथमिक विद्यालयको असारको हाजिरी खातामा १ कक्षाको रोलनम्बर १ र २ मा क्रमशः सिर्जना सतार र अविनाश भट्टराई र रोल नं. ५ र ६ मा सुशान्त फुयाल र प्राश्ना ढकालको नाम छ। जेठको हाजिरी खातामा भने रोल न. ५ र ६ मा निरोज राजवंशी र राजन नेपाली लेखिएको थियो। अचम्म त के छ भने यी रोल नं. भएका विद्यार्थीलाई सहपाठी वा शिक्षक कसैले पनि देखेका छैनन्। यी विद्यार्थी प्रअका कल्पनाको उपज हुन्। काल्पनिक विद्यार्थी बारेको जिज्ञासामा प्रधानाध्यापक गोविन्द भट्टराई नाजवाफ रहे।

विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई नजिकका विद्यालयमा गाभ्ने सरकारी योजनाका कारण जिल्लाका थुप्रै विद्यालयले किर्ते गरी काल्पनिक विद्यार्थी पढाउन थालेका छन्। दमक स्रोत केन्द्रका प्रमुख कृष्ण भण्डारी गत वर्ष नै जनता प्रावि अर्को विद्यालयमा गाभ्न लाग्दा समुदायले विद्यार्थी थप्ने भनेपछि नगाभेको बताउँछन्। तर, विद्यालयले संख्या बढाउनै हुँदै नभएका विद्यार्थी पढाइरहेको बारे भने उनले अनभिज्ञता जनाए।

गोपाल गडतौला, झापा


उद्धार कहिले?

अवैध रूपमा नेपाली युवती खाडी मुलुक पठाउने शोभाकान्त भट्टराई त समातिए, तर युवतीहरूको उद्धार हुनसकेको छैन।

सिरिया पुगेकी ज्ञानु रेश्मी मगरले जीवनरक्षाका लागि फेसबुक मार्फत गरेको याचना।
शंकरनगर–३, बुटवलकी ज्ञानुरेश्मी मगर (रेनु) लाई एक वर्षअघि गैरकानूनी रूपमा सिरिया पुर्‍याउने बुटवल, देवीनगरका शोभाकान्त भट्टराई (३८) पक्राउ परेका छन्। २२ असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको चाबहिलबाट पक्राउ गर्दा उनी दुबई भाग्ने तयारीमा थिए। बुटवलकै सुक्खानगरमा ब्यूटिपार्लर सञ्चालन गरिरहेकी २७ वर्षीया रेनुलाई 'दुबईमा राम्रो काम छ' भन्दै भट्टराई र भारत बस्ने सर्लाहीका पञ्चु लामाले जेठ २०७१ को पहिलो साता भारतबाटै सिरिया उडाएका थिए।

रेनुले सिरियाबाटै झ्न्डै एक महीनाअघि फेसबूक मार्फत 'सरकार, म बाँच्न चाहन्छु, यो नर्कबाट मलाई बचाउनुस्' भन्दै याचना गरेपछि उनको वास्तविकता सार्वजनिक भएको थियो। सिरिया पुगेपछि मात्र आफू ६ हजार डलरमा बेचिएको थाहा पाएको बताउँदै उनले घरमालिककी पत्नीको शारीरिक र मानसिक यातनाले आफू कुनै पनि वेला मर्न सक्ने पीडा पोखेकी थिइन्। घरमालिकले ६ सय डलर दिए मात्र घर छाड्न अनुमति दिएको, मोबाइल फोन चलाउन नदिएको र फेसबूक चलाउन नदिने धम्की दिएको ज्ञानुले लेखेकी थिइन्। आफूसँगै आएकी अर्की साथीको अवस्था पनि दयनीय रहेको जनाउँदै रेनुले दलालहरू भट्टराई र लामाको तस्वीर सहित मोबाइल नं. र मालिककी पत्नीको फोन समेत फेसबूकमा राखेकी थिइन्।

फेसबूक मार्फत रेनुको याचना थाहा पाएसँगै भागेर काठमाडौं आएका भट्टराईको डेराबाट प्रहरीले अन्य चार युवतीका राहदानी, मेडिकल रिपोर्ट र अन्य कागजात बरामद गरेको छ। उनी युवतीसँगै दुबई भाग्ने दाउमा रहेको प्रहरीको भनाइ छ।

बुटवलमै मानव बेचबिखन विरुद्धको मुद्दा चलाइएका भट्टराईले दुबईहुँदै सिरिया पुर्‍याएको स्वीकार गरेका छन्। बुटवलस्थित इलाका प्रहरी कार्यालयको (हे. बक्स) हिरासतमा हिमाल सँग कुरा गर्दै भट्टराई भन्छन्, “कागजी सबै काम पञ्चुले गर्थे। उनकै पहलमा भारतबाट भिसा लगाई उनीहरूलाई सिरिया पठाइएको हो।” उनीसँगै मुद्दा दायर गरिएका पञ्चु अझ्ै फरार छन्।

भट्टराई पक्राउ परे पनि रेनुको उद्धारका लागि भने सरकारीस्तरबाट प्रभावकारी पहल हुनसकेको छैन। सीआईबीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली सिरियामा नेपाली दूतावास नहुँदा उद्धारमा समस्या परेको बताउँछन्। भन्छन्, “अनौपचारिक पहल गरिरहेका छौं तर अहिलेसम्म कुनै सकारात्मक प्रतिक्रिया आएको छैन।”

दीपक ज्ञवाली, बुटवल


भूकम्पपछि झाडापखाला

भूकम्पपछि विचौर–७, लमजुङमा झाडापखाला फैलिएको छ।

भूकम्पबाट क्षतिग्रस्त विचौर स्वास्थ्यचौकीको प्रांगणमा उपचार गर्दै निमित्त अहेव शंखनाथ यादव।
झाडापखालाबाट सिकिस्त लमजुङको सुदूरपूर्वी विचौर–७ की वनमाया परियार सकी–नसकी स्वास्थ्यचौकीसम्म पुगिन्। तर, न स्वास्थ्यकर्मी भेटिए, न औषधि। “जीवनजल खाएर ज्यान जोगियो”, परियार दुःख बिसाउँछिन्।

भूकम्पबाट क्षतिग्रस्त विचौरमा यतिवेला झाडापखाला फैलिएको छ। सरकारले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधिको अभाव हुन नदिने बताए पनि यहाँका दुर्गम गाउँमा भने औषधि अभाव चर्को छ। विचौरकी महिला स्वास्थ्य स्वयंसेविका तुलसी गुरुङ समयमा उपचार नपाउँदा पानीजन्य सरुवा रोगको महामारी फैलिएको बताउँछिन्। गाउँलेलाई जीवनजल, सिटामोल, जिंक चक्की लगायतका औषधि बाँड्दै दिन बित्ने गरेको बताउँदै उनी भन्छिन्, “एकै दिन ५३ वटासम्म जीवनजल बाँडेकी छु, घामपानीले गाउँलेलाई रोगी बनायो।”

औषधिको अभावमा स्वास्थ्यचौकीमा उपचार नभएपछि विचौरवासी घन्टौं हिंडेर गौंडा, सदरमुकाम बेसीशहर, गोरखाको भच्चेक पुगिरहेका छन्। केही भने काठमाडौं धाउन बाध्य छन्।

“झ्ाडापखाला र ज्वरोको औषधि समेत नपाइने स्वास्थ्यचौकी के काम?” आरुबोटे खोला लघुविद्युत् उपभोक्ता समितिकी अध्यक्ष माया गुरुङको प्रश्न छ।

विचौर स्वास्थ्यचौकीका निमित्त इन्चार्ज शंखनाथ यादव भने अनुमान गरिएभन्दा धेरै बिरामी आएकाले औषधि सकिएको बताउँछन्। लमजुङलाई गत वर्ष मात्र खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। तर भूकम्पले घरसँगै शौचालयमा पनि क्षति पुग्यो। यही वेला कतिपयले खुला ठाउँमा दिसापिसाब गरेकाले झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

युवराज श्रेष्ठ, लमजुङ


सेनाले बचायो सुत्केरी

दुई दिनसम्म सुत्केरी बेथा सहेर विचौर–९, बलेडाँडाकी युनिशा घले तामाङ (१९) ले २० असारमा छोरी जन्माइन्। तर, घर फर्कने क्रममा उनी अचानक बेहोस भइन्। सुत्केरीका वेला अत्यधिक रक्तश्राव भएका कारण बेहोस उनलाई बचाउन स्थानीयले सेना गुहारे। भूकम्पपीडितका लागि विचौरमै खटिएका सेनाको हेलिकप्टरमा युनिशालाई राजधानी ल्याइयो। अहिले आमा र बच्चाको अवस्था सामान्य छ। स्थानीय बिर्ख घले भन्छन्, “सेनाले उद्धार नगरेको भए जे पनि हुनसक्थ्यो।


'पछुतो लागेको छ'

रोजगारको क्रममा ६ वर्ष कुवेत बसेका शोभाकान्त भट्टराईले त्यहीं रहँदा नै नेपाली युवती खाडी मुलुक पठाउने 'धन्दा' थालेका थिए। उनी भन्छन्, “उताको काम म आफैं मिलाउँथें, यताबाट साथीहरूले केटीहरू पठाउँथे।” दुई वर्षअघि नेपाल फर्किएपछि त उनले सञ्जाल नै बनाए।

भट्टराईका अनुसार, अहिलेसम्म ३३ जना महिलालाई उनले खाडी मुलुक पठाएका छन्। भन्छन्, “२० जना कुवेत, १० जना दुबई र तीन जनालाई सिरिया पठाएको हुँं।” तर, भट्टराईले ४० भन्दा बढी युवतीलाई विभिन्न खाडी मुलुकमा पठाएको प्रहरीको दाबी छ।

दुई वर्षयता सर्लाहीका पञ्चु लामा उनका साझेदार बनेका थिए। भट्टराई बुटवलमा युवती जम्मा गर्थे। र, भारत बस्ने पञ्चुकहाँ पठाउँथे। पञ्चुले नै सबै कागजपत्र बनाएर खाडी मुलुक पठाउँथे।

शोभाकान्तले काठमाडौंबाट सोझै दुबई जान नमिल्ने भन्दै रेनु सहितका युवतीलाई बुटवलबाट सुनौली नाकाहुँदै १८ वैशाख २०७१ मा भारत पुर्‍याएका थिए। बाँकी काम उनकै भनाइमा पञ्चुले गरे। “भारतबाटै सिरियाको भिसा लगाएर उनीहरूलाई सिरिया पठाइएको हो”, उनी भन्छन्।

फेसबूक मार्फत सिरियामा रेनुको स्थिति थाहा पाएपछि आफूले पनि उनीसँग र आफ्नो पार्टीसँग कुरा गरेको भट्टराईको दाबी छ। त्यहाँको पार्टीले दुई–तीन महीनापछि रेनुलाई झिकाइदिने बताएको उनको भनाइ छ।

धमाधम युवती विदेश पठाउने काम गर्दै आए पनि भट्टराईसँग कुनै वैधानिक संस्था वा आधार भने छैन। हिरासतमा परेपछि भने आफूलाई नगर्ने काम गरेकोमा पछुतो लागिरहेको उनी बताउँछन्। भन्छन्, “धेरैलाई पठाएँ। गर्नै नहुने काम गरिरहेको थिएँ। पछुतो लागिरहेको छ।”

comments powered by Disqus

रमझम