विवादित भवनमा मालपोत

Share:
  

महाभूकम्पले चर्किएपछि काठमाडौंको चाबहिलस्थित सरस्वती मिनीमार्केट बन्द भयो। तर, बालकृष्ण मानन्धरको उक्त भवनमा यतिवेला धमाधम मर्मत चलिरहेको छ। (हे. तस्वीर)

मालपोत कार्यालय सर्न लागेको घर मर्मत हुँदै।

विक्रम राई
हाल मालपोत कार्यालय रहेको भवन ।

व्यापारीहरूले समेत बस्न अस्वीकार गरेको यो भवनमा स्वयं सरकारी कार्यालय बस्न लागेको हो। दोस्रो ठूलो भूकम्प आएकै दिन २९ वैशाखमा गोरखापत्र मा सूचना प्रकाशित गरी घर आह्वान गर्दा मानन्धरले निवेदन दिएका थिए। यसैको आधारमा मालपोत सर्न लागेको हो।

जोखिमयुक्त घरमा मालपोत कार्यालय सर्ने निर्णयको विरोधमा लेखापढी व्यवसायी दिवाकर रिजाल (४८) ले पुनरावेदन अदालत पाटनमा निवेदन नै हालेका छन्। '...चिरा–चिरा भएर चर्किएपछि साविक बसेका मानिसहरूले डरले छाडेको घरमा पुटिङ लगाएर टाल्न लगाई कमिसनको लोभमा कार्यालयका लागि उपयुक्त नभएको घरमा सर्न लागेकाले... उजुरी दिन आएका छौं'– निवेदनमा भनिएको छ।

तर, मालपोत कार्यालय चाबहिलका प्रमुख गोविन्द धिताल रेट्रोफिट गरेरै भए पनि सोही भवनमा कार्यालय सार्ने तयारी गरिरहेको बताउँछन्। उनी भन्छन्, “सर्ने सम्पूर्ण तयारी सकिइसकेको छ।” मालपोतकै एक अधिकारी सर्ने भनिएको भवन हाइभोल्टेज लाइन नजिकै रहेको, बाटो र पार्किङको अवस्था पनि राम्रो नभएको बताउँछन्।

तर, अहिले मालपोत बसिरहेको भीमबहादुर कार्कीको घर पनि विवादमा छ। (हे. तस्वीर) ८ तले उक्त भवनको माथिल्लो तीन तलाको नक्शापास नगरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। उनै कार्कीले फागुन, २०६८ देखि घर अगाडिको सरकारी जग्गामा टहरा बनाएर भाडा असुलिरहँदा मालपोतका अधिकारीहरूले आँखा चिम्लिदिएका छन्।

राष्ट्रिय सतर्कता केन्द्रले भने कार्कीसँग २०७० चैतसम्मको टहरा भाडाबापत रु.५ लाख ४६ हजार असुल्न काठमाडौं महानगरपालिकालाई एक वर्षअघि नै १५ दिने निर्देशन दिएको थियो। तर, त्यसको कार्यान्वयन नभएपछि केन्द्रले १७ जेठ २०७१ मा महानगरपालिकामा अर्को निर्देशन दियो। तर, कार्कीको पहुँचसामु महानगरपालिका पनि निरीह देखिन्छ।

सन्त गाहा मगर


जैनमय विराटनगर

जैन धर्मावलम्बीको कुम्भमेला मानिने चातुर्मासमा सहभागी हुन आचार्य महाश्रमण सहित २५०० जनाको टोली ६ साउनमा विराटनगर आइपुगेको छ। १४ साउनदेखि चार महीनासम्म चल्ने यो पर्व नेपालमा पहिलो पटक भइरहेको छ। चातुर्मासमा पाँच लाख जैन धर्मावलम्बी भेला हुने अनुमान छ।

२५ असारमा विराटनगरहुँदै जोगवनीतर्फ लाग्ने क्रममा अगाडि अनुयायीको हात समाएका महाश्रमण।

चातुर्मास व्यवस्थापन समितिका अध्यक्ष मालचन्द सुरानाका अनुसार जैन समुदायका धर्मगुरु आचार्य महाश्रमण र अन्य साधुहरूलाई चार महीनासम्म विराटनगर राख्न जैन समाजले रु.१२ करोडको लागतमा भवन बनाइसकेको छ। “आगन्तुकको अस्थायी आवासमा रु.२ करोड ५० लाख र खानपिनमा रु.१० करोड खर्च हुने आकलन गरिएको छ”, सुराना भन्छन्।

जैन धर्मको २५० वर्षको इतिहासमा महाश्रमणको नेपाल यात्रा पहिलो हो। नयाँदिल्लीबाट कानपुर, वाराणसी, रक्सौलहुँदै उनी नेपाल प्रवेश गरी काठमाडौं, सिन्धुली, राजविराज, दुहबी, धरान, जोगवनीहुँदै अनुयायीसाथ विराटनगर आइपुगेका हुन्। पाँचवर्षे यात्रामा निस्किएका महाश्रमणले यस अवधिमा ३० हजार किलोमीटरको पैदल यात्रा गर्ने बताइएको छ। २३ कात्तिक २०७१ मा भारतका राष्ट्रपति प्रणव मुखर्जीले महाश्रमण सहितको टोलीको पाँचवर्षे यात्राको आरम्भ गरेका थिए। चातुर्मास सकिएपछि यो टोली भारतको आसामतर्फ लाग्ने बताइएको छ।

“नेपाल नशामुक्त होस्, शान्त होस् भन्ने मेरो चाहना हो” गत वर्ष भदौमा नयाँदिल्ली पुगेको संचारकर्मीको टोलीलाई महाश्रमणले भनेका थिए, “बुद्धको भूमि जाँदैछु, नेपालबारे धेरै कुरा बुझेर फर्कन्छु।” महाश्रमण यात्राका प्रवक्ता कुमार श्रमणले युद्धबाट बुद्धको बाटोमा गएको नेपाललाई महाश्रमणको यात्राले लाभ पुग्ने बताउँछन्। उनी भन्छन्, “चातुर्मासमा हुने प्रवचनमा नशा त्याग्न प्रेरित गरिनेछ।”

आयोजक समितिका अध्यक्ष सुराना चातुर्मासले पूर्वको पर्यटनमा ठूलो सहयोग पुग्ने दाबी गर्छन्। “पाँचलाख जति आगन्तुकले थोरै मात्र किनमेल गरे पनि विराटनगरमा रु.२० करोडको व्यापार हुनेछ” सुराना भन्छन्, “विराटनगर आउने जैनहरू भेडेटार, पोखरा र काठमाडौंसम्म घुम्न जान्छन्।”

कमल रिमाल, विराटनगर


सास हुञ्जेल आश

३ साउनमा गोदावरी–५, कैलालीमा आयोजित मोहना सिंचाइ योजनाको शिलान्यासमा उपस्थित हुनेमध्ये महादेव जोशी (७१) पनि एक थिए। उनी तिनै जोशी हुन्, जसले २०३६ सालमा यही योजना निर्माणमा झ्न्डै एक वर्ष श्रमदान गरेका थिए। “बाँध बाँधेको चार वर्षपछि खेतमा पानी आयो, तर दुई वर्षमै बाँध भत्कियो”, २०४२ सालको बाढी सम्झ्ँदै उनी भन्छन्।

सिंचाइ विभागले एशियाली विकास ब्यांकको सहयोगमा २०५८ सालमा भत्किएको मोहना योजना बनाउने निर्णय गर्‍यो। रु.१० करोडको लागतमा बनेको योजना ६ महीनापछि फेरि खोलाले बगायो।

मोहना सिंचाइ योजनाको शिलान्यास गर्दै सिंचाइ मन्त्री साउद।

तस्वीरहरुः बच्चु विक
बाढीले भत्काएको यसअघिको बाँध ।

दुई दुई पटक बाँध खोलाले बगाए पनि गाउँलेमा मोहनाको पानीले खेतबारी सिंचित गर्नुको विकल्प थिएन। त्यसैले सिंचाइ मन्त्री एनपी साउदले तेस्रोपटक योजनाको शिलान्यास गरे। किनभने यसै क्षेत्रका सभासद् उनी स्थानीयको पीडाका भुक्तभोगी थिए।

वास्तविकता कस्तो छ भने, पूर्व–पश्चिम राजमार्ग उत्तरको कैलालीको गोदावरी, मालाखेती र कञ्चनपुरको कृष्णपुर गाविसको पाँच हजार हेक्टरभन्दा बढी जमीनमा बोरिङ्गबाट समेत पानी आउँदैन। २०४२ सालमा बाढीले नहर प्रणाली नै बगाएपछि किसानले आकाशे पानीको भरमा धान रोप्दै आएका छन्।

सिंचाइ विभागले दुई वर्षभित्र सक्ने यो योजनाबाट दुई जिल्लाका तीन गाविसका ३३ सय हेक्टर जमीनमा सिंचाइ पुग्ने लक्ष्य राखिएको छ, जसका लागि रु.३६ करोड ५५ लाख ८९ हजार ३६८ लाग्नेछ। अघिल्ला दुई योजना रहेकै स्थान गोदावरी–५ को मछेली खोलामा बाँध बाँधी ३०० मिटर लामो मुख्य नहर निर्माण गरिने र त्यसपछि दुई किलोमिटर लामा दुई वटा सहायक नहर मार्फत पानी वितरण गरिने योजना उपभोक्ता समितिका अध्यक्ष प्रेम गैडाल बताउँछन्।

'पञ्चायतकालको योजना दुई वर्ष टिक्यो, प्रजातन्त्रमा ६ महीनामै भत्कियो, हेरौं गणतन्त्रमा कति टिक्ने हो!' स्थानीयमाझ् यस्ता चर्चा पनि हुने गरेका छन्। तर, महादेव जोशीलाई भने आफ्नै क्षेत्रका मन्त्री नै शिलान्यासमा आएकाले बाँध फेरि नभत्किएला भन्ने आशा छ।

स्वयं सिंचाइ मन्त्री साउद बाँधको भविष्यबारे सचेत छन्। “तेस्रोपटक पनि बाढीले भत्काउने हो भने पैसा नबगाऔं, अर्को उपाय खोजौं भनेको थिएँ”, साउद भन्छन्, “तर, सम्भाव्यता अध्ययनपछि इन्जिनियरहरूले नभत्कने विश्वास दिलाएका छन्।” उनी अबको योजनाले बलियो हुने र किसानको खेत–खेतमा पानी पुग्ने दाबी गर्छन्।

comments powered by Disqus

रमझम