गाह्रो ग्राभेल बाटो

Share:
  

सानुबाबु तिमिल्सिना
गोलाभञ्ज्याङको हिलोमा फसेको बस धकेल्दै।
बस हिलोमा फसेपछि निकाल्न कम्मर कसेर लागिपरेका चालक, सहायक र यात्रुहरूको दृश्य हो, यो।

धादिङ सदरमुकाम धादिङबेंसीदेखि आरुघाटसम्मको दूरी ३५ किलोमीटर छ। तर, अरू वेला चार घन्टामा छिचोलिने यो कच्ची बाटो वर्षायाममा दिनभरि नै लाग्छ। बाटोमा पर्ने गोलाभञ्ज्याङ भकारे खण्डमा चालक स्वयंलाई डर लाग्छ। गोलाभञ्ज्याङमै हिलोमा फसेको बस (ना.२.ख ५२७८) निकाल्ने कोशिश गरिरहेका चालक राम सिलवाल वर्षामा बस गुडाउँदा धेरै सास्ती र जोखिम भोग्नुपरेको बताउँछन्।

गत वर्ष मात्र धादिङबेंसी–सल्यानटार सडकखण्ड ग्राभेल गरिएको थियो। तर, अहिले सडकको हालत यस्तो छ। प्रत्येक पटक बस चढ्दा यात्रुहरू सडक निर्माणमा व्यापक भ्रष्टाचार गरिएकोबारे कुराकानी गर्छन्। सल्यानटारकी गंगा पाठक मर्मत नगर्दा समय, पैसा बढी लागेको र असुरक्षा बढेको बताउँछिन्। हिलोमा सवारी नफसोस् भनेर अधिकांश चालक बालुवा, गिट्टीका साथै साबेल, कोदालो, हँसिया जस्ता सामग्री बोकेरै हिंड्छन्। तर, कतिपय अवस्थामा हिलाम्य सडक नसकिंदै बालुवा सकिन्छ।

सवारी हिलोमा फस्दा समयमा गन्तव्यमा नपुगिने त छँदैछ यात्रुसमेत हिलोमैलो हुन्छन्। “लुगा मैला भए होउन्, बस फसेका वेला पाखामा बसी टुलुटुलु रमिता हेर्नुभन्दा सहयोग गर्नु नै ठीक हो”, बसलाई हिलोबाट निकाल्न सहयोग गरिरहेका एक यात्रु भन्छन्।

सानुबाबु तिमिल्सिना, धादिङ

comments powered by Disqus

रमझम