अपराधको 'हाइटेक' सञ्जाल

Share:
  
विदेश पठाइदिने निहुँमा आफ्नै देशका नागरिक अपहरण गर्ने भारतीय गिरोहको पर्दाफास भएको छ।

अपहरणकारीः पहिलो पंक्तिमा अगाडि दायाँबाट क्रमशः रञ्जितकुमार सिंह, सुनिलकुमार सिंह (हाफ पाइन्टमा), ओमकुमार कहार। पछाडि दायाँबाट सन्तोषकुमार चौधरी र सुशीलकुमार चौधरी।
भारतको नयाँदिल्लीका दीपक सोलांगी र विक्रम सेठ नामको फेसबूक आईडीबाट स्किल बेस्ड वर्किङ भिसामा अष्ट्रेलिया जान भारु ९ लाख खर्च गर्नुपर्ने व्यहोरा खुलाई सूचना सार्वजनिक भयो। पैसा अष्ट्रेलिया नै पुगेपछि दिए हुन्छ भन्दै उनीहरूले सम्पर्कमा आएका तीन भारतीयलाई हिन्दूसिंह यादव र अमित सिंहमार्फत एक समूहको जिम्मा लगाए।

नेपालमा केही कागजात बनाउनु छ भन्दै त्यो समूहले १६ भदौमा ती भारतीयलाई पश्चिम बंगालको बागडोगरा विमानस्थलहुँदै झापा ल्यायो। शनि–अर्जुन नगरपालिका–७ स्थित एउटा कोठामा उनीहरूलाई राखियो। अनि मात्र ती भारतीयलाई थाहा भयो, सिड्नी सपना साँचेका उनीहरू अपहरणमा परेका रहेछन्। फेसबूकको सूचना त उनीहरूलाई फसाउने षडयन्त्र रहेछ।

२५ भदौ राति प्रहरीले अपहरित राजस्थानका कमलेश भाटी (३२), विनोदकुमार साखला (३६) र गुजरातका जिगर अशोकभाइ पमार (२६) मुक्त गरेपछि अन्तरदेशीय अपराधको यस्तो धन्दाको खुलासा भएको हो। प्रहरीले उनीहरूलाई राखेकै घरबाट अपहरणकारीहरू भारत, गोरखपुर महदीपुरका सुनिलकुमार सिंह (३६), पञ्जाब, गुरुदासपुरका रञ्जित सिंह (२९), नेपालस्थित सहयोगीहरू सिद्धार्थ नगरपालिका–८, भैरहवाका ओमकुमार कहार (२८), सप्तरी, कविलासा–२ का सन्तोषकुमार चौधरी (३२) र बनौला–१ का सुशीलकुमार चौधरी (३६) लाई पक्राउ गरेको छ।

अपहरणकारीको साथबाट प्रहरीले १९ थान गोलीसहित एक थान स्वचालित अमेरिकी पेस्तोल, को १ च ८७१७ नम्बरको महेन्द्रा जीप, बा ४३ प ९३४४ नम्बरको मोटरसाइकल बरामद गरेको छ। यसका साथै १५ वटा मोबाइल सेट, ६ वटा एटीएम कार्ड, भारतीय संघसंस्था र सञ्चारमाध्यमका परिचयपत्र, भारतको आयकर कार्ड, नेपाली र भारतीय सीमकार्डहरू, नक्कली ड्राइभिङ लाइसेन्स, नक्कली कपाल, सुनका दुई वटा र हीराको एउटा औंठी, सिक्री र बाला एक–एक थान, तीन वटा भारतीय राहदानी र चार वटा ब्यांकका चेकसमेत फेला पारेको छ।

गोपाल गडतौला
अपहरणकारीहरूबाट बरामद सामग्री।
अपहरण गरी फिरौती असुल्ने अपहरणकारीले सूचनाप्रविधिलाई प्रमुख माध्यम बनाएका थिए। अपहरणकारीले साउदी अरबको मोबाइल नम्बर देखिने गरी बन्धकलाई आफू सुरक्षित सिड्नी पुगेको र अपहरणकारीले भनेको ब्यांक खातामा पैसा पठाइदिन भन्न लगाउँथे। कञ्चटमा पेस्तोल राखी यसो भन्न बाध्य पारेका उनीहरूले बन्धकहरूलाई पिट्न फरुवाका दुई वटा बिंड समेत किनेका थिए।

अपहरणकारी गिरोहका रञ्जितले मोबाइल कल वाइपास गर्ने काम गर्थे भने सन्तोष र सुशील बन्धकलाई यातना दिन्थे। ओम भने भान्से थिए। खान र चर्पी जान बाहेक बन्धकका हात र खुट्टा बाँधिएको हुन्थ्यो।

सुनिल नेतृत्वको यो गिरोहले पाँच महीनाअघि मात्र १६ भारतीयलाई बिर्तामोड नगरपालिका–१ स्थित एक घरमा यसैगरी बन्धक बनाई जनही भारु १० लाखदेखि १५ लाखसम्म फिरौती असुलेको प्रहरीको भनाइ छ।

प्रहरीले अन्तर्राष्ट्रिय गिरोह संलग्न यसखालको अपराध अनुसन्धानमा ठूलो सफलता हात पारेको ठानेको छ। जिल्ला प्रहरी कार्यालय झ्ापाका प्रहरी नायव उपरीक्षक भीम दाहाल निकै लामो अनुसन्धानले यस्तो सफलता हात पारेको बताउँछन्। “प्रविधिमा पोख्त यो गिरोहको जालोलाई ध्वस्त बनाएका छौं”, दाहाल भन्छन्।

यी हुन् सुनिल

प्रनाउ भीम दाहाल।

प्रहरीले अपहरणका नाइके सुनिललाई १३ माघ २०५८ मा विराटनगरका ब्यापारी तुलसीराम अग्रवालको अपहरणमा समेत संलग्न भएको बताएको छ। सुनिल तुलसीराम अपहरणमा पक्राउ परेर दश वर्षको सजाय भुक्तान गरी २०७० सालमा पाल्पा कारागारबाट मुक्त बिहार, सारसाका अपराधी पप्पुदेव भुमियारका साला रहेको प्रहरीले जनाएको छ। उनी पप्पुदेवको सारसास्थित देव कन्स्ट्रक्सनका साझ्ेदार समेत रहेको खुलेको छ।

काठमाडांै, काँडाघारीमा नेपाली श्रीमती मीना कार्कीसँग बस्ने सुनिल २३ वर्षदेखि नेपालमा बसोबास गरिरहेको बताइएको छ। धरान–१६ मा पनि डेरा लिएका उनले चिनजानकासँग काठमाडौंमा प्लास्टिक उद्योग चलाइरहेको बताउने गरेका थिए।

गोपाल गडतौला, झापा


बालविवाहविरुद्ध स्वस्फूर्त

मध्यपश्चिमको दुर्गम जिल्ला कालीकोटका ३० मध्ये ६ गाविस बालविवाहमुक्त बनेका छन्।

गाविसलाई बालविवाहमुक्त घोषणासभामा बाजागाजासहित स्थानीय।
कालीकोटको कालिका गाविसका दुई परिवार आ–आफ्ना छोराछोरीको विवाहको लगन जुराउन पण्डितकहाँ पुगे। पण्डितले सबैभन्दा पहिले केटाकेटीको उमेर सोधे। केटाको उमेर १७ र केटीको १३ वर्ष मात्र रहेको थाहा भयो। “अनि त तत्कालै लगन छैन, जबर्जस्ती बिहे गरे अनिष्ट हुने भनिदियौं, विवाह रोकियो”, धामीझ्ाँक्री बालविवाह रोकथाम समिति सुकाटियाका सचिव वीरेन्द्रप्रसाद आचार्य भन्छन्।
कालिका गाविस जिल्लाका ३० मध्ये बालविवाहमुक्त छैटौं गाविस बनेको छ। यसअघि सदरमुकाम रहेको मान्म, पाँखा, छाप्रे, जुविथा र सुकाटिया बालविवाहमुक्त गाविस घोषणा भइसकेका छन्।

गाविसलाई बालविवाहमुक्त घोषणाका क्रममा २५ भदौमा आयोजित कार्यक्रममा राजनीतिक दल, शिक्षक, विद्यार्थी, समाजसेवी र स्थानीयवासीको ठूलो समूहले विभिन्न देवी–देवताको नाममा कसम खाँदै आइन्दा बालविवाह नगराउने/नगर्ने प्रतिबद्धता जनाए। गाविसमा यो परिवर्तन ल्याउन गाउँ बाल संरक्षण तथा संवर्द्धन उपसमिति, वडा बाल संरक्षण समिति, ज्योतिष तथा धामीझ्ाँक्री समिति र बालक्लब सक्रिय थिए।

“गाविसमा बालविवाहको तथ्यांक १० प्रतिशत भन्दा कम भएको छ, त्यसपछि गाविसलाई बालविवाहमुक्त घोषणा गरेका हौं”, बाल संरक्षण तथा संवर्द्धन उपसमिति संयोजक कर्णजित बिक भन्छन्। उनी गाउँमा कतै बालविवाह हुँदैछ भन्ने थाहा पाउने बित्तिकै रोक्ने र भइसकेमा पनि प्रहरीमा खबर गरी बदर गराइएको बताउँछन्।

बालविवाहमुक्त बन्ने अबको लहरमा दाँहा, भर्ता र गेला पहिलो पंक्तिमा छन्। ती गाविसका विद्यालयहरूमा बालविवाह न्यूनीकरण सम्बन्धी पाठ्यक्रम नै तयार गरिएको छ। मान्मस्थित पंचदेव माविका शिक्षक लक्षीराम बिक निमावि र मावि तहको यो पाठ्यक्रमले सकारात्मक प्रभाव पारेको बताउँछन्। बिक भन्छन्, “पढाउँदा विवाह गर्नसक्ने जोखिममा रहेका निमावि र माविका विद्यार्थीलाई केन्द्रमा राख्ने गरेका छौं।”

बालविवाह रोक्न प्रहरी पनि उत्तिकै खटिएको छ। यसका लागि जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले २०७० सालमा नै पाँचवर्षे रणनीतिक योजना तयार गरेको थियो। प्रहरी नायव उपरीक्षक लक्ष्मण गुरुङ भन्छन्, “रणनीति अनुसार नै महिला तथा बालबालिकाको अधिकारको सम्मान, पीडितको सुरक्षा र संरक्षणलगायतका काम गरिरहेका छौं।”

तीला भण्डारी, कालीकोट


बल्ल अपांगता परिचयपत्र

तस्वीरहरु तीला भण्डारी
राष्ट्रिय बाल दिवसको अवसरमा निमित्त महिला विकास अधिकृत सविना रानाको हातबाट अपाङ्गता परिचयपत्र लिंदै ६ वर्षीया बालिका ममिता शाही।
कालीकोटका १० जना सुस्तश्रवण बालबालिकाले पहिलो पटक स्वास्थ्य परीक्षण गराएका छन्। स्वास्थ्य परीक्षण प्रतिवेदनसँगै उनीहरूले अपाङ्गता परिचयपत्र समेत प्राप्त गरेका छन्। राष्ट्रिय बाल दिवसको अवसरमा २९ भदौमा सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा ती बालबालिकालाई परिचयपत्र प्रदान गरिएको थियो।

२८ भदौमा मान्ममै नन्दादेवी उमावि, कोटबाडा र कालिका उमावि, गेलाका सुस्तश्रवण विद्यार्थीले यस्तो सेवा पाएका हुन्। बालबालिकालाई जिल्ला जनस्वास्थ्य कार्यालयका डा. किशोर विष्ट, डा. माधव पौडेल र डा. उमाकान्त प्याकुरेलले स्वास्थ्य परीक्षण गरेका थिए। जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल कल्याण समितिको समन्वयमा किर्डाक नेपालले उनीहरूलाई सदरमुकाम ल्याउने व्यवस्था मिलाएको थियो। सदरमुकाम भ्रमणका वेला यी बालबालिकाले जिल्लाका सरकारी कार्यालयबाट प्रदान गरिने सेवा–सुविधाबारे जानकारी पनि लिएका थिए।

नन्दादेवी उमाविमा सुस्तश्रवण स्रोत विद्यालयका शिक्षक छत्रबहादुर विष्ट विद्यार्थीको स्वास्थ्य जाँचका लागि धेरै पटक जिल्ला शिक्षा कार्यालय र मन्त्रालयमा निवेदन दिए पनि बल्ल सुनुवाइ भएको बताउँछन्। कालिका उमावि अन्तर्गतको सुस्तश्रवण स्रोत विद्यालयका शिक्षक पंखबहादुर शाही पनि शिक्षितबाटै हेपिएका कारण अपांगता भएकाहरूले कुनै सुविधा नपाएको गुनासो गर्छन्।

comments powered by Disqus

रमझम