सुधि्रएनन् शिक्षक

Share:
  

भारपा, पाँचथरस्थित मानेडाँडा निमाविका ६ जना छात्रमा तीन महीनायतादेखि अचम्मको व्यवहार देखिइरहेको थियो। पहिले पेट छाम्ने, त्यसपछि जीउ बटार्दै काम्ने उनीहरू बेहोश हुन्थे र आफैं ब्यूँझ्न्थे।

७ असोजमा विद्यालय शुरू हुनासाथ उनीहरूमा एकैपटक यस्तो समस्या देखियो। अत्तालिएका प्रधानाध्यापक अणेन्द्र यवा (केवल) ले व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुबा नरेन्द्र यवालाई बोलाए। तत्काल विद्यालय आएका उनले ढोका थुनेर 'तिमीहरूले कामेर अरू विद्यार्थीको भविष्य बर्बाद पार्ने?' भन्दै लात्तैलात्ताले भकुरे।

कुटाइबाट रोशन गदाइली, वीरेन्द्र तामाङ, दावा छिरिङ तामाङ, वीरेन्द्र रसाइली, मनकुमार तामाङ, मनिष योङहाङ र देवेन्द्र तामाङ बेहोश भए। कक्षा ८ का १४ वर्षीय रोशनको होश दिनैभरि खुलेन। सदरमुकाम फिदिमस्थित पाथिभरा हेल्थ केयर हस्पिटलमै भर्ना गर्नुपर्‍यो।

विद्यार्थीलाई चरम यातना दिएको बारे अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरिरहेका वेला दलका नेता, अधिकारकर्मी र विद्यालयको मिलेमतोमा पीडितपक्षलाई रोकेका थिए। उनीहरूले पीडितको उपचारमा लागेको रु.८ हजार ५०० भुक्तानीपछि पीडकलाई उन्मुक्ति दिएका थिए। टाउको दुख्ने, रिंगटा लाग्ने र पेट दुख्ने समस्याबाट पार नपाएका गदाइलीलाई अस्पतालले भने सिटी स्क्यान गर्ने सल्लाह दिएको छ।

व्यवस्थापन समितिका अध्यक्षबाट कुटिएका रोशन गदाइली अस्पतालमा।

लक्ष्मी गौतम
पाठ कण्ठ नगरेको भन्दै शिक्षकबाट कुटिएका गोपाल आचार्य।

जिल्ला बाल कल्याण समितिकी बाल अधिकार अधिकृत सरस्वती सिवाकोटी मास हिस्टेरियासँग मिल्दो लक्षण देखिएका यी विद्यार्थीलाई उपचारको साटो यातना दिइनु अपराध नै भएको बताउँछिन्। “पीडितलाई उचित क्षतिपूर्ति र न्याय दिलाउनुको साटो आपसमै मिल्नु अर्को गल्ती हो”, उनी भन्छिन्। भदौ पहिलो साता आङना–३, पाँचथरकै सरस्वती निमाविका प्रअ जीतबहादुर देवानले कक्षा ७ की सरस्वती देवानलाई कुटपिट गरे। कारण थियो, आफ्नै छोरीसँगको सामान्य विवाद।

सरस्वती साथीहरूको सहयोगमा लौरो टेक्दै मौवा प्रहरी चौकी पुगिन्। शरीरभरि नीलडाम बोकेकी सरस्वतीबारे प्रहरी केही बोलेन। प्रअले माफी मागे, कुरा सकियो।

जिल्लाकै नागिनस्थित सिद्धदेवी उच्चमाध्यमिक विद्यालय पीपलबोटेका शिक्षक जीवन श्रेष्ठले कक्षा ५ का गोपाल आचार्यलाई २६ जेठमा त्यसैगरी निर्घात पिटे। पाठ कण्ठ नगर्नु र फिस नल्याउनुलाई श्रेष्ठले विद्यार्थीको 'अपराध' ठाने। शिक्षकको कुटाइपछि गोपाल अहिले पनि बर्बराउने गरेको बुबा ओमनाथ आचार्य बताउँछन्।

छोरो कुटिएको बारे विद्यालयमा बुझन गएका उनलाई प्रअले सामान्य विषय भन्दै फर्काएका थिए। प्रअ रूपनारायण चापागाईंले हिमाल सँग भने, “नियतवश कुटिएको होइन। बच्चा पहिल्यैदेखि बिरामी थियो।”

सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको छ। यसअन्तर्गत सरकारले बाल मैत्रीपूर्ण शिक्षण सिकाइका अवधारणा लागू गर्ने पहल पनि गरिरहेको छ। तर, ग्रामीण विद्यालयमा भइरहेका यस्ता घटना भने रोकिएको छैन।

जिल्लामा २०७१ साउनयता १५ वटा बाल हिंसाका घटना सार्वजनिक भएका छन्। जिल्ला बाल कल्याण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे विद्यालयमा हुने अपराधका घटनाको उजुरी नआउनु नै समस्या भएको बताउँछन्। तर, इन्सेक प्रतिनिधि मंगल वेघा यसखाले अपराधमा उजुरी पर्खने प्रवृत्ति नै गलत भएको बताउँछन्। “बाल अधिकार उल्लंघनका घटनामा उजुरी पर्खनु भन्दा सूचनाका आधारमा कारबाही थालिनुपर्छ।”

लक्ष्मी गौतम, पाँचथर


गरीबका घरमा मिर्गौला व्यापारी

२ असोजमा झापाको काँकडभिट्टाबाट भारत पस्ने क्रममा प्रहरीले कृष्णबहादुर दर्नाल (४३), साइँली तामाङ (३१) र कल्पना भण्डारी (२९) लाई पक्राउ गर्‍यो। पक्राउपछि खुल्यो, दर्नाल साइँलीको मिर्गौला बेच्न हिंडेका रहेछन्।

प्रहरीले रातमाटे–३, नुवाकोट घर भई काठमाडौं, बौद्धमा बस्ने दर्नाल मिर्गाैला कारोबारका अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको आशंका गरेको छ। मानव अंग बेचबिखन उद्योगको अभियोगमा झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएका उनीबारे प्रहरीले अनुसन्धान थालेको छ।

विडम्बनाचाहिं, साइँलीलाई आफ्नो मिर्गौला बेचिंदैछ भन्ने थाहा थियो। ६ वर्षअघि कमाउन खाडी मुलुक गएका उनका श्रीमान् राजीव तामाङ (३४) चार वर्षदेखि सम्पर्कविहीन छन्। १० वर्षे छोरीसँग काठमाडौं, बौद्धमा ज्याला मजदूरी गर्ने उनीसँग ऋणको भारी छ। आफूलाई एकल महिला बताउने भण्डारीले नै २०७१ सालमा साइँली र दर्नालको भेट गराएकी थिइन्।

साइँली तामाङ।

गोपाल गडतौला
मिर्गौला बेचेको बताउँदै अभियुक्त कृष्णबहादुर दर्नाल ।

त्यहीबीच पटकपटकको भेटमा दर्नालले तीनलाख रुपैयाँमा मिर्गाैला बेचेर सुखी जीवन बिताउने सल्लाह दिन्थे। यसका लागि उनले आफ्नो बायाँ कोखाको खत देखाउँदै एउटा मिर्गाैला नहुँदैमा अस्वस्थ नहुने बताउँथे। “जीउमा केही हुँदैन भनेर फकाएपछि ऋण पनि तिर्ने र छोरीलाई पनि पढाउने पैसा हुन्छ भनेर मानें”, साइँली भन्छिन्।

३१ भदौमा वीरअस्पतालबाट मिर्गौला स्वस्थ भएको रिपोर्ट लिएपछि १ असोजमा तीनै जनाले झापाको रात्रिबस समातेका थिए। पक्राउपछि दर्नालले दार्जीलिङका जोजो तामाङको निर्देशनमा आफूले यस्तो प्रपञ्च रचेको बताएका छन्। पक्राउ परेकी कल्पनाले भने मिर्गौला झिकेपछि साइँलीको स्याहार गर्न आफूलाई ल्याइएको र त्यसबापत दर्नालले रु.५० हजार दिने कबूल गरेको बताइन्। उद्धारपछि साइँली माइती नेपालको काँकडभिट्टास्थित संरक्षण केन्द्रमा छिन्।

साइँलीलाई १० महीनासम्म फकाएर मिर्गौला बेच्न मनाएका दर्नाल स्वयंले माघ, २०७० मा कोलकातामा मिर्गौला बेचेको बताउँछन्। बालाजुमा मजदूरी गरिरहेका उनलाई सिन्धुपाल्चोक घर बताउने राजु तामाङले दार्जीलिङकै कुमार तामाङसँग भेट गराएका थिए। कोलकाताको अस्पतालमा उनको बायाँ मिर्गौला झ्िकिएपछि दर्नालले दुईपटक गरी दुई लाख रुपैयाँ पाएका थिए। “एक लाख ऋण थियो, त्यही तिर्न मिर्गौला बेचेको हुँ”, दर्नाल भन्छन्। तर, प्रहरी भने गरीबीले आक्रान्त मजदूर र निम्नवर्गीय मानिसलाई मिर्गौला बेच्न लगाएर कमिसन खाने गिरोह नै सक्रिय रहेको बताउँछ।

गोपाल गडतौला, झापा


सल्ला मासेर खोटो

सरकारी मापदण्ड कुल्चँदै जाजरकोटका सामुदायिक वनमा खोटो संकलन फस्टाएको छ। जिल्लाको कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्मा, डाडागाउँ, लहँ, मजकोट, सुवानाउली, थालारैकर, गर्खाकोट, पुन्मा, खलंगा, भुर, ढिमे, खगेनकोटलगायतका गाविसका १०० भन्दा बढी सामुदायिक वनबाट खोटोको अवैध संकलन भइरहेको छ। पुन्मा–६ का पेमबहादुर सिंह मापदण्ड विपरीत खोटो संकलन र निकासी हुँदा पनि सरकारी निकायले ध्यान नदिएकोमा आश्चर्य प्रकट गर्छन्।

जिल्लाका खोटो कम्पनीले वार्षिक दुई हजार टन खोटो संकलन र निकासीको अनुमति पाएका छन्। तर, सामुदायिक वन उपभोक्ता समूह र वन प्राविधिकसमेतको संलग्नतामा कम्पनीहरूले तोकेको परिमाण भन्दा धेरै बढी खोटो संकलन तथा निकासी गरिरहेका छन्। यसले खोटे सल्लाका रूख सुक्न थालेका छन्। वन विनाश पनि बढेको छ। ढिमे–१ का दीर्घराज आरसी खोटो निकाल्न सल्फ्युरिक एसिडको बढ्दो प्रयोगले सल्लाका रूख सुक्दै गएको बताउँछन्।

कम्पनीहरूले मापदण्ड नाघेर खोटो संकलन गरिरहेको बारे जिल्ला वन कार्यालय भने मौन छ। वन कार्यालयका अधिकृत रामप्रसाद पण्डित यसबारे कहिलेकाहीं गुनासा आए पनि प्रमाण फेला नपरेको बताउँछन्। जिल्लामा खोटो संकलनको अनुमति पाएका आठ वटा कम्पनीबाट वार्षिक करीब रु.८ करोड राजस्व संकलन हुने गरेको छ।

बद्री पन्त, जाजरकोट

comments powered by Disqus

रमझम