सहनशील साँखु

Share:
  
महाभूकम्पले ध्वस्त साँखुका बासिन्दा यतिवेला पीडा बिर्संदै नयाँ बाली भित्र्याउन लागेका छन्।

सविता श्रेष्ठ
१२ वैशाखको महाभूकम्पको केही दिनअघि मात्र शंखरापुर नगरपालिका साँखुकी ललिता श्रेष्ठ (४६) ले बारीमा टमाटरका बेर्ना लगाएकी थिइन्। तर, जसै भूकम्प गयो, बेर्ना सबै नाश भए। “त्यतिवेला काम गर्न हात नै चलेन, दोहोर्‍याएर बेर्ना रोपें”, उनी भन्छिन्। चार रोपनी जमीन भाडामा लिएर तरकारी खेती गरिरहेकी ललिताको परिवार भूकम्पपछिको तीन महीना बारीमै बस्यो। अहिले भने टहरो बनाएर सरेको छ। उनी भन्छिन्, “भुईंचालो अघिको वातावरण बल्ल फर्केजस्तो भएको छ, दिन पहिलेजस्तै लाग्न थालेको छ।”

भूकम्पमा सबैभन्दा बढी क्षति पुगेको नगरपालिकामध्ये शंखरापुर एक हो। नगरपालिकामा भूकम्पबाट ९७ जनाको मृत्यु हुनुका साथै १७८ जना घाइते भएका थिए। ४ हजार ८०२ घरधुरी रहेको यो नगरपालिकामा ३ हजार २३८ घरमा पूर्ण र ७६९ घरमा आंशिक क्षति पुगेको छ। शंखरापुरको पनि वडा न. ८, ९, १० र ११ ओगटेको साँखुलाई विपत्ले ठूलै पीडा दिएको थियो।

अहिले पनि साँखुका भूकम्पपीडित टहरामा बसिरहेका भेटिन्छन्। तर, जस्तै दुःखमा बसे पनि साँखुवासी पुरानै दिनचर्यामा फर्केका छन्। पीडा बिर्संदै धान भित्र्याइरहेका, आलु रोपिरहेका छन्।

तिनैमध्येका हुन्; साँखु, सुन्टोलका गणदास महर्जन (३७)। बारीमै टहरो बनाई बसेका उनको परिवार पनि अहिले धान भित्र्याउन व्यस्त छ। १० वर्षदेखि व्यावसायिक तरकारी खेती गरिरहेका उनी तरकारीकै आम्दानीले सानो घर बनाउने योजना बुनिरहेका छन्।

टाइचिन धान भित्र्याएका दुगाहिटीका बालगोपाल डंगोल बर्खे बाली आलु लगाउँछन्। “टहरोमा बसे पनि खेतबारी बाँझो राख्नु त भएन नि” डंगोल भन्छन्, “घर भत्के नि खान–लाउनको जोहो त गर्नैपर्‍यो।” साँखु, उपत्यकाको नेवार समुदायको पुरानो बस्ती हो। ईंटा र माटोबाट बनाइएका पुराना घर धेरै भएकाले पनि भूकम्पमा अधिकांश घर भत्किए।

साँखु हुँदै चीनको तिब्बतबाट उपत्यकामा सामान आउँछ। तर, भूकम्पले साँखु बजारभित्रको प्रमुख तथा सहायक बाटोमा पनि क्षति पुर्‍याएको छ। स्थानीयको पहलमा साँखु बजारको मूल बाटो खुलाइएको छ। भग्नावशेष हटाइएको छ।

कृषि बाहेक साँखुवासीको अर्को पेशा व्यापार हो। बालकृष्ण श्रेष्ठ टहरोमै मिठाई पसल चलाइरहेका छन्। भूकम्पमा उनका बुबा, दुई बहिनी र दुई जना कामदारको मृत्यु भयो। परिवार गुमाए पनि बाँच्नेहरूको जीवन चलाउन पुस्तैनी व्यापारलाई निरन्तरता दिएको उनी बताउँछन्। “सधैं शोक मनाएर नहुने, जसरी भए पनि बाँच्नैपर्ने रहेछ”, उनी भन्छन्।

साँखु जात्रा, पर्वको लागि पनि प्रख्यात छ। श्रीस्वस्थानी व्रत अवधिभर शालीनदीमा मेला लाग्छ। गाउँमा रहेका चार प्रमुख ढोकाको छुट्टै मह140व रहेको छ। एउटा ढोकाबाट बुहारी भित्र्याइन्छ भने अर्कोबाट विवाह गरी छोरी पठाइन्छ। एउटाबाट हरेक वर्ष माई (ब्रजयोगिनी देवी) लाई भित्र्याउने गरिन्छ, अर्कोबाट शव निकालिन्छ।

सुन्टोलका सत्यलाल श्रेष्ठ (७५) साँखुमा हरेक वर्ष १३ वटा जात्रा तथा पर्व मनाइने गरेको र भूकम्पपछि पनि ती सबै पर्व मनाएको बताउँछन्। उनी भन्छन्, “भूकम्पले गाउँलाई क्षति गरे पनि गाउँले मन बुझाएर आ–आफ्नो काममा लागेका छन्।”

सविता श्रेष्ठ


महिलाले बनाए टहरा

आर्थिक अवस्था कमजोर भएका २० भूकम्पपीडित परिवारका लागि साँखुमा टहरा बनाइएको छ। सिर्जनशील श्रमिक महिला समूह र जापानी नागरिक यु हारा सेन्ट्रोले दुई वटा हलसहित २० वटा टहरा निर्माण गरिदिएका हुन्। दुई वर्ष जग्गा भाडामा लिई निर्माण गरिएको टहरामा पानी, बत्ती र शौचालयसहित दुई वटा सामूहिक हल पनि बनाइएको छ। “हलमा महिलाहरूले सिलाइ–बुनाइको काम गर्छन्” समूहकी अध्यक्ष राज्यलक्ष्मी श्रेष्ठ भन्छिन्। उनका अनुसार, समूहको पहल र लुमन्ति संस्थाको सहयोगमा घरहरू भत्केकै ठाउँमा थप २२ परिवारका लागि टहरा निर्माण गरिएको पनि उनले बताइन्। भूकम्पले चारतले घर भत्काएपछि स्कूल र टेन्टमा पुगेको पञ्चलक्ष्मी मानन्धर (३६) को परिवार अहिले समूहले बनाएको टहरामा बसिरहेको छ। उनी खेती र मेलापातपछिको फुर्सदमा सिलाइ–बुनाइको काम गर्छिन्। त्यसको आम्दानीले सामान्य खर्च टारेको उनी बताउँछिन्।


सुरक्षामा सहकार्य

उपमहानगरको दीर्घकालीन सुरक्षाका लागि प्रहरीले 'मिसन सुरक्षित इटहरी' अभियान थालेको छ।

ब्याट्रीबाट चल्ने रिक्सामा चढेर गस्ती गर्दै नागरिक र प्रहरी।
गाविसबाट नगरपालिका बनेको १७ वर्षमै उपमहानगर बनेको पूर्वी जिल्ला सुनसरीको इटहरीमा जनसंख्या र व्यापारिक गतिविधिको चापसँगै अपराध पनि फैलँदो छ। २०७१ मा उपमहानगरमा परिणत इटहरी चोरी, गुण्डागर्दी र अवैध यौन कारोबारले असुरक्षित बन्दो छ। यही पृष्ठभूमिमा प्रहरीले 'मिसन सुरक्षित इटहरी' को अभियान थालेको छ।

२५ असोजदेखि औपचारिक रूपमा यो अभियान उद्घाटन गरिएको हो। इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीका अनुसार मिसन थाल्नुअघि प्रहरीले आन्तरिक शुद्धीकरणमा ध्यान दिएको छ। प्रहरीभित्रै आचरण सुधार, विभिन्न तालीम र पुरस्कृत गर्न थालिएको छ। “प्रहरीको आन्तरिक सुधारले मात्रै जनतालाई सुरक्षा दिन सकिन्छ भनेर यो अभियान चलाएको हुँ” डीएसपी अधिकारी भन्छन्।

प्रहरीको मिसनको सकारात्मक प्रतिफल देखिन थालेको छ। स्थानीय फर्निचर व्यवसायी विश्व पौडेल बजारमा टोले गुण्डाको तनाव कम भएको बताउँछन्। पौडेलका अनुसार, इटहरीमा ९५ प्रतिशत गुण्डागर्दी कम भएको छ। प्रहरीले साउनदेखि असोजसम्ममा गुण्डागर्दीमा संलग्न ७० जनालाई पक्राउ गरिसकेको छ।

पछिल्लो तीन महीनामा यौन व्यापारमा १३ यौनकर्मीलाई पक्राउ गरिएको छ भने तीन जनालाई मानव बेचबिखन मुद्दामा कारबाही चलाइएको प्रहरीले जनाएको छ।

प्रहरी–नागरिक गस्ती

शान्तिका लागि इटहरी जागरण अभियानमार्फत प्रहरीले स्थानीयको सहभागितामा नियमित गस्ती सञ्चालन गर्दै आएको छ। गस्तीमा स्थानीय पनि साथै हुन्छन्।

गस्तीका लागि दुई वटा ई–रिक्साको व्यवस्था गरिएको छ। टोल–टोलमा सुरक्षा समिति स्थापना गरिएको छ, जहाँ प्रहरी युनिट पनि रहेको छ। “नागरिक–प्रहरी संयुक्त अभियान मैले जापानमा देखेको थिएँ, ठ्याक्कै त्यस्तै कार्यक्रम इटहरीमा शुरू भएको छ”, गोर्खा डिपार्टमेन्टका संचालक बलराम आचार्य भन्छन्।

सुरक्षाका विषयमा प्रहरीले विद्यालय र क्याम्पसमा कक्षा संचालन गर्छ। तीन महीनामा प्रहरीले ३८८ विद्यार्थीलाई सुरक्षाबारे जानकारी दिएको छ। विद्यार्थी पनि अनुगमनका लागि प्रहरी कार्यालयमा आउँछन्। अनुगमनमा आउने विद्यार्थीले सेवाग्राहीलाई सहयोग पनि गर्छन्।

१ लाख ४५ हजार जनसंख्या भएको शहरको सुरक्षामा प्रहरी र जनताको सहकार्य प्रशंसनीय भएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख महेशराज तिम्सिना बताउँछन्।

कमल रिमाल, इटहरी


जनसहभागिता अनिवार्य

ओम अधिकारी, प्रहरी नायव उपरीक्षक, इटहरी

सीमित स्रोत र जनशक्तिका कारण इटहरीका हरेक क्षेत्रमा प्रहरी पुर्‍याउन गाह्रो भयो। मिसन थालेदेखि गस्तीमा जनसहभागिता गराउन थालेका छौं। दीर्घकालीन सुरक्षा योजना अनुसार प्रहरीको आन्तरिक शुद्धीकरण गर्दै बाह्य शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्ने नीति लिएका छौं। प्रहरी हुँदा शान्त, नहुँदा अशान्त हुने परम्परा हटाउन स्थायी रुपमा रहने जनतालाई नै अघि सार्नुपर्छ। नागरिकसँगको सहकार्यमा मात्रै दिगो शान्ति सम्भव छ।

गुण्डालाई कि गुण्डागर्दी छोड् कि इटहरी छोड् भन्ने उर्दी जारी गरेका छौं। 'सिटी सफारी बस्तीमा प्रहरी गस्तीमा' भन्ने नारा राखेर ई–रिक्सामा २४ सै घण्टा सुरक्षा गस्ती संचालन भइरहेको छ। उद्योग वाणिज्य संघको सहयोगमा नगरका चोकहरुमा सीसी क्यामेरा जडान गरिंदैछ।

comments powered by Disqus

रमझम