शिविरको दशैं

Share:
  

साढे तीन वर्षअघि बस्तीवासीसामु हात हल्लाउँदै बिदा मागेका सनबहादुर तामाङ (२८) ९ कात्तिकमा दमक नगरपालिकास्थित बेलडाँगी–१ को शरणार्थी शिविरमा झुल्किए। “यही आँगनमा धूलो खेलेको हुँ, त्यसैले दशैं मनाउन यहीं आएको हुँ”, सेक्टर बीको २१८ नम्बर छाप्रोमा २१ वर्ष बिताएका उनी भन्छन्।

भूटानी शरणार्थी पुनर्वासका क्रममा तामाङ आफ्ना आमाबुबा, भाइ र बहिनीसँग अमेरिकाको ओहायो राज्यमा बस्छन्। तर, उनको मन भने दमकस्थित शिविरमै छ।

दाजु फुर्वा दोर्जी (३४) र दिदी छिरिङ (३१) को परिवार अझै मोरङ, बेलडाँगी–३ शरणार्थी शिविरमै छन्।

गोमामाया जेठो छोरा टीकाराम, बुहारी ओमकुमारी र नाति देवराजसँग बेलडाँगी शिविरमा।

बेलडाँगी शिविरमा आमाका साथ निमा।

सनबहादुर बेलडाँगी शिविरको पुरानो छाप्रोमा।

बेलडाँगी शिविरको छाप्रोमा आमा मनरुपाका साथ नरेश।

त्यसो त तामाङलाई भूटानको चिराङ जिल्लास्थित फलेदे गाउँको घरको आँगनमा बसेर चामल र मकै मिसाएको भात खाएको र घुर्‍यानमा खेलेको मात्रै सम्झ्ना छ। चार वर्ष लाग्दानलाग्दै उनी आमाबाबुको साथमा विरानो मुलुक नेपालमा शरण लिन आइपुगे। अमेरिका पुनर्वास भएका ८५ हजार भूटानी शरणार्थीमध्ये करीब नौ हजार ओहायोमा छन्। दशैं, तिहार, ल्होसार, माघेसंक्रान्ति, साउने संक्रान्ति जस्ता चाडबाडमा उनीहरू भेला हुन्छन्। “बाहिर गएका हामी शरणार्थी एकप्राण जस्तै छौं”, उनी भन्छन्, “आम्दानीले खुशी त छौं तर सन्तुष्ट भने छैनौं।”

नरेश बस्नेत (२७) पनि दशैंको छेक पारेर असोज अन्तिमसाता न्यूयोर्कको सेराक्युजबाट बेलडाँगी शिविर आए। आमा मनरुपा र बाबु धनबहादुरको हातबाट टीका थापे। आफू हुर्केबढेको शिविरका कुनाकाप्चा चहारे। पुराना दिन सम्झिएर भावुक बने।

बस्नेत न्यूयोर्कको ओनओनडागा कम्युनिटी कलेजमा इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन्। मार्केट स्विचेस इन्कर्पारेसनमा जागिर खान्छन्। पाँचसय कामदार रहेको कम्पनीमा डेढसय त भूटानी शरणार्थी नै छन्। उनी भन्छन्, “हाम्रो भाग्यमा पनि खुशी लेखेको रहेछ।”

पाँच वर्षअघि अमेरिकाको सिकागो पुगेका निमा तामाङ (२८) पनि भदौ अन्तिम साता नेपाल आए। शिविरको विद्यालयमा दश कक्षासम्म पढेका उनी आमा, बाबु र बहिनीलाई छोडेर अमेरिका गएका हुन्। अहिले उनी होटलमा फूड रनरको काम गर्छन्। “यहाँबाट उड्दा के गरी खाइएला भन्ने त्रास थियो” उनी भन्छन्, “तर विरानो ठाउँमा गरिखान सजिलै भयो।”

गोपाल गडतौला, झापा


कहाँको जन्म, कहाँ मरण

२२ साउनमा काठमाडौं ओर्लंदा गोमामाया काफ्ले (८०) को हातमा न्युजिल्याण्डको राहदानी थियो। गोविन्दलाल काफ्लेसँग बिहे गरेकी गोमामायाको घर भूटानको साम्ची जिल्लामा थियो, आँखाले भ्याउन्जेलसम्मको बारी र खेत थियो। ६० माउ त गाई नै थिए। तर, सन् १९९० मा नेपालीभाषीमाथि सरकारी दमन बढेपछि दुई पाथी अन्न, एकसरो कपडा बोकेर र छोराछोरी डोर्‍याउँदै काफ्ले दम्पती नेपालमा शरण लिन आइपुगे।

२०६२ सालमा बेलडाँगी शरणार्थी शिविरमै गोविन्दलालको निधन भएपछि उनले संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगलाई पुनर्वासको अपील गरिन्। अनि, माइला र कान्छा छोराका साथ लागेर न्युजिल्याण्ड पुगिन्। शिविरमै रहेका जेठो छोरा, बुहारी, नाति अमेरिका पुनर्वासको तयारीमा छन्। गोमामायाका दुई छोरीहरू भने परिवारसहित न्युजिल्याण्डमै छन्। माइली छोरीको परिवार भने भूटानमै छ। साहिंली छोरी भने क्यानाडा पुगेकी छन्। एउटै कलेजो सिरान लगाएर जन्मिएका सहोदरहरूलाई एकै भान्सामा मीठो मसिनो खुवाउने गोमामायाको इच्छा अब पूरा हुने छाँट छैन।

क्राइस्ट चर्चस्थित सुविधासम्पन्न घरमा पनि गोमामायालाई विरानोले सताउन छाडेको छैन। भूटानबाट खेदिएपछि शिविरमा बिताएको १८ वर्ष सम्झ्ँदा उनको गह भिजिरहन्छ। “५४ वर्ष बसेको त्यो गारेघर सपनामा देखिरहन्छु” गोमामाया भन्छिन्, “भुर्र उडेर पुगिजाऊँ जस्तो लाग्छ, कहाँको जन्म कहाँको मरण!”

comments powered by Disqus

रमझम