तरकारीमा आत्मनिर्भर

Share:
  
रूपन्देहीवासीको जाँगरले नाकाबन्दीको समयमा पनि तरकारी अभाव हुन दिएन।

दीपक
बुटवल कृषि उपज थोक व्यापार केन्द्र।
रूपन्देहीस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत वर्ष साउन–कात्तिकमा ३१ सय २६ टन हरियो तरकारी खपत भएको थियो। २८ सय ३३ टन स्वदेशकै उत्पादन थियो, बाँकी करीब ९ प्रतिशत भने भारतबाट आयात गरिएको थियो। तर, यो वर्षको सोही अवधिमा केन्द्रबाट खपत ३२ सय २० टन तरकारीमा ३१ सय ५२ टन हाम्रै खेतबारीका उब्जनी थिए। करीब २ प्रतिशतका लागि मात्रै भारतको भर पर्नु परेको छ।

भारतीय नाकाबन्दीको चौतर्फी असरका बीच रूपन्देहीवासीले तरकारीको अभाव भने खप्नु परेन। जारी नाकाबन्दीकै अवधिमा तरकारी उत्पादन बढेको छ। बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवस्थापक अब्दुल कैयुम नाकाबन्दीले अन्य क्षेत्र बेस्सरी प्रभावित भए पनि तरकारीमा अभाव नभएको बताउँछन्। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा संकटका वेला आफ्नै तरकारीले भान्सा धान्नु सुखद् भएको बताउँछन्। “माटोको उर्वराशक्ति व्यवस्थापन र सिंचाइ विस्तार गर्न सकिए तरकारीमा पूर्णतः आत्मनिर्भर बन्न सकिन्छ”, उनी भन्छन्।

हरियो तरकारी काउली, बन्दा, गाँजर, सिमी, ब्रोकाउलीसँगै खुर्सानी, टमाटर, लसुनलगायतका बस्तुहरूको उत्पादनमा पनि यो वर्ष प्रगति भएको छ। आलु र टमाटरका लागि भारतीय उत्पादनको निर्भरतामा कमी आएको छ। कृषि उपज थोक व्यापार केन्द्रका अनुसार गत वर्षको चार महीनामा भएको खपतमध्ये ९६ प्रतिशत आलु र ७० प्रतिशत टमाटर भारतीय थिए। तर, यसपटक स्वदेशी आलुमा ४ प्रतिशत र टमाटरमा २ प्रतिशतले उत्पादन बढेको छ। लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष वजिर शाह भन्छन्, “नाकाबन्दीमा तरकारी संकट नहुनु ठूलो कुरा हो, तर फलफूलमा भने समस्या छ।” प्याज र लसुन पनि भारतसँगै चीनबाट पनि आयात भइरहेको उनको भनाइ छ।

तरकारीको अभाव हुन नदिन उपभोक्ता र किसान आफैं तातेका छन्। “धेरैले कौसी, छतमा पनि खुर्सानी, सिमी, साग जस्ता छिट्टै फल्ने तरकारी रोपेका छन्”, बुटवल–११ का रामलाल आचार्य भन्छन्। स्थानीय भाञ्जाबाबु तरकारी पसलका सञ्चालक मेघनाथ पौडेल यस्तो वेला सरकारले किसान प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउँछन्।

बुटवलको थोक बजारमा सल्यान, रोल्पा, जनकपुर, सुनसरी, पाल्पालगायतका जिल्लाबाट तरकारी आउँछन्। र, यी तरकारी रूपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ आदि जिल्लामा पुग्छन्। केन्द्रबाट हरेक वर्ष ३० हजार ६३० टन तरकारी खपत हुन्छ।

दीपक ज्ञवाली, बुटवल


चले दलितका होटल

होटल, रेस्टुरेन्ट खोल्ने दलितको होस्टेमा गैरदलित ग्राहकले हैंसे थपेका छन्।

तस्वीरहरुः गोपाल गडतौला
राधिका ठटाल र उनकी छोरी अनु।

कमाउन खाडी गएका श्रीमान् नरबहादुर ठटाल घाइते भएर फर्किएका थिए। नौ जनाको परिवारमा कुनै कमाउ मेलो थिएन। १५ वर्षअघिको त्यो बाध्यात्मक अवस्थामा राधिका ठटाल (५०) ले होटल खोलेकी थिइन्। रु.५ हजार जोरजाम गरेर खोलेको होटलमा कथित उच्च जातिका ग्राहक नआएर डुबिने जोखिम पनि छँदैथियो। त्यसो त, उनले नेपाली समाजको परिवर्तनको मन्द वेग ठम्याएरै त्यो आँट गरेकी थिइन्। राधिकाकी छोरी अनु (२६) भन्छिन्, “एक जना थापा अंकलले नियमित खाना खान्छु भनेपछि आमाको आँट बढेको थियो।”

नभन्दै, सफासुग्घर होटलमा ग्राहकको खाँचो भएन। झ्ापाको लखनपुर–१ मंगलबारेमा खुलेको ठटालको होटलमा बिहान चिया खाजा, दिउँसो चाउमिन―थुक्पा, साँझ् खाना खाने र पिउनेहरूको बिल्कुलै कमी भएन। दैनिक कम्तीमा १५ जना खाना खाने ग्राहक टुटेका छैनन्। अनुसहित तीन जना छोराछोरीको उच्च शिक्षा यही होटलले मजाले अगाडि बढाएको छ। होटलको हिसाब हेर्ने अनु सबै खर्च कटाएर दैनिक कम्तीमा रु.१५ सय नाफा बस्ने बताउँछिन्।

आफ्नो होटलमा गीता रम्तेल ।
दक्षिणी इलामको चुलाचुली गाविस कार्यालय हातामा चार वर्षअघि चमेना गृह खोल्ने आँट गरेकी सविना बिक (२६) अहिले मजाले गुजारा चलाइरहेकी छन्। गाविस सचिव रमेश कोइराला खानाका नियमित ग्राहक हुन् भने प्रशासनिक काम लिएर दैनिक गाविस आउने गाउँले चिया, चना–चिउरादेखि चाउमिन–थुक्पासम्मको खान्कीका। गाविसमा गोष्ठी–कार्यक्रम हुने दिन सविना विशेष आम्दानीको तयारी गर्छिन्। “शनिबार खासै नचले पनि त्यस्ता दिनमा धेरै ग्राहक हुन्छन्”, आठ कक्षासम्म पढेकी सविना भन्छिन्, “कार्यालय चलेको सामान्य दिनमा दुई हजारभन्दा बढी आम्दानी भएर त्यसको २५ प्रतिशत नाफा बस्छ।”

नेपालमा सर्वप्रथम २०२० सालको मुलुकी ऐनले दलितका नाममा हुने कुनै पनि प्रकारका छुवाछूतलाई गैरकानूनी घोषित गरेको थियो। तर, त्यसको ५० वर्षपछि पनि कानूनमा लगाइएको प्रतिबन्ध व्यवहारमा लागू भइसकेको छैन। तर, दलितले छोएको पानी बार्ने कथित उपल्लो जातिको कुसंस्कारकै बीच दलितको भान्साका परिकार खाने पुस्ता पनि निर्माण भइरहेको छ। झापामा मजाले चलिरहेका दलितका होटलले छोइछिटो नबारिनुको संकेत गरेको छ।
रु.३ लाखको लगानीमा २०६७ सालमा दमक–१० स्थित आम्दा अस्पताल गेटमा इलामेली होटल खोलेकी गीता रम्तेल (३१) अहिले दैनिक सरदर रु.१० हजारको कारोबार गर्छिन्। दिनहुँ १०० जनाले खाना खाने यो होटल चिया, खाजाका लागि पनि उत्तिकै चलेको छ। मासिक रु.२० हजार त होटल भाडा बुझाइरहेकी छिन्। सफा खान्की र राम्रो व्यवहार नै होटल चलाउने सूत्र हो भन्ने बुझेकी उनको होटलमा वरिपरिका कथित उच्चजातका होटलमा पाइने जाँडरक्सी भने पाइँदैन।

सविना बिक ।

कतिपय ग्राहक भने खाना खाइसकेपछि 'बाहुनी जस्तै देखिनुहुन्छ, के थरीको होटल हो?' भनी सोध्छन्। हँसिली गीता थर भन्न धक मान्दिनन्। छुवाछूतका विषयमा समाज बदलिंदै गएको बताउने गीता यतिवेला ८५१ वटा होटल सदस्य रहेको जिल्लाको होटल व्यवसायी संघमा होटल दर्ता गर्ने प्रक्रियामा छिन्। “जिल्लामै पहिलो दलित होटल दर्ता गर्ने प्रक्रियामा छु”, व्यवस्थापनमा स्नातक गीता भन्छिन्।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम