अनाथको पढाइ एसएलसी!

Share:
  
एसएलसीसम्म मात्रै हेरचाह गर्ने सरकारी नीतिका कारण अधिकांश अनाथको पढाइ त्यहीं टुंगिने गरेको छ।

बच्चु विक
सहयोगदातासँगै बालबालिका।
महेन्द्रनगरस्थित महाकाली अञ्चल बाल अनाथालयबाट २०५५ यता ३५ बालबालिकाले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्। एसएलसीसँगै अनाथालय छाडेका उनीहरूमध्ये पाँच जनाले कक्षा १२ सम्म र एक जनाले मात्र स्नातक अध्ययन गरिरहेका छन्। स्नातकसम्म पुगेका हिमाल डगौरा चिनेजानेकाहरूले सहयोग गरेकै कारण बीएस्सी पढाइ सम्भव भएको बताउँछन्।

कैलालीका सबै ७ अनाथालयका बालबालिकाले पनि एसएलसीपछि पढाइ छाड्ने गरेका छन्। कञ्चनपुरको अमर बाल गृह र कृष्ण प्रणामी सेवाधाम अनाथालय होस् या साँफेबगर, अछामस्थित माया सदनका अनाथ; एसएलसीपछि सबैको हालत उस्तै छ। यो देशभरिको समस्या हो।

अनाथालय व्यवस्थापन निर्देशिका २०५३ को उद्देश्य ७ (घ) मा 'एसएलसीसम्म हेरविचार र पढाइ' गर्ने उल्लेख गरिएकोले पनि अनाथलाई एसएलसीपछिको शिक्षा 'अनावश्यक' झैं ठानिएको हो। अनाथालयमा रहँदासम्म सरकारी वा निजी दुवै विद्यालयमा निःशुल्क अध्ययनको सुविधा पाउने अनाथले त्यसपछि भने त्यो सुविधा पाउँदैनन्। बस्ने–खाने नै समस्या पर्ने उनीहरूलाई उच्च शिक्षा शुल्कले पीडा थप्ने गरेको छ।

महाकाली अञ्चल बाल अनाथालयबाटै २०५५ सालमै एसएलसी उत्तीर्ण डडेल्धुराका हरिलाल भट्ट हातमुख जोर्न भारततिर लागे। अहिले पनि यताउता गरिराख्छन्। उनीसँगै एसएलसी दिएका दार्चुलाका देवराम टमटाले पनि एसएलसीसँगै अनाथालय छोड्नु पर्‍यो। अहिले उनी ठेलामा तरकारी बिक्री गरेर गुजारा चलाइरहेका छन्। सोही वर्ष अनाथालयबाटै एसएलसी दिएका दार्चुलाका करन सिंह तिङ्करी अहिले मलेसियामा छन्।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले गत वर्ष गरेको 'सरकारद्वारा सञ्चालित बालकल्याण गृहहरूको व्यवस्थापन सुधार सम्बन्धी प्रतिवेदन' मा पनि 'एसएलसी उत्तीर्णपछिको अवस्थाका बारेमा स्पष्ट नभएको' उल्लेख छ। '१६ वर्ष पूरा भएपछि (एसएलसी पास वा पास हुन नसकेका) बालबालिका कुन अवस्थामा छन् भन्ने विषयमा सम्बन्धित बालकल्याण गृह र मन्त्रालय बेखबर' रहेको भनिएको प्रतिवेदनमा 'एसएलसीपछिको उच्च शिक्षा वा व्यावसायिक तालीम एवं स्वरोजगार/रोजगार सम्बन्धी व्यवस्था' गर्नुपर्ने सुझाव दिइएको छ।

केन्द्रीय बालकल्याण समितिले यसै वर्ष गरेको 'नेपालमा बालकल्याण गृहको अवस्था' प्रतिवेदनमा देशभर ४५ जिल्लाका ५८५ बालकल्याण गृह (अनाथालय) मा १५ हजार ८११ अनाथ बालबालिका आश्रय लिइरहेका छन्। तीमध्ये ७ हजार ८३८ बालिका र ७ हजार ९७३ बालक छन्।

सरकार नै अभिभावक

“एसएलसी दिनुअघि नै पछि कसरी पढ्ने भन्ने चिन्ता शुरू हुन्छ”, काठमाडौंस्थित हाम्रो शक्ति होममै बसेर एसएलसी उत्तीर्ण कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाकी देवकी जोशी भन्छिन्। कक्षा १२ उत्तीर्ण नगरुञ्जेलसम्म अटेर गरी होममै बसेकी उनी अहिले महेन्द्रनगरकी शिक्षिका जानकी बोहराकै घरमा बसेर स्नातक पढिरहेकी छन्। देवकी जस्तै तीन अनाथ बालिकालाई एसएलसीपछि घरमै राखेर पढाइरहेकी बोहरा अनाथलाई सरकारले पनि अनाथ बनाएको गुनासो गर्छिन्।

एसएलसीको तयारी गरिरहेका सुरेन्द्र चन्द एसएलसीपछि पनि बालकल्याण गृहमै बसेर पढ्न पाउने र जहाँ बसेर पढे पनि निःशुल्क पढ्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्छन्। अर्का विद्यार्थी करन सिंह भन्छन्, “सरकारले आफ्नो खुट्टामा नउभिउञ्जेल सघाइदिए हुन्थ्यो।” महाकाली अञ्चल बाल अनाथालयका व्यवस्थापक शंकर चन्द अनाथ बालबालिकालाई सरकारले नै पढाउने जिम्मा लिनुपर्ने बताउँछन्।

बच्चु विक, महेन्द्रनगर


अशान्त लुम्बिनी

मधेश आन्दोलन, नाकाबन्दी र लुम्बिनी विकास कोषका कर्मचारीको आन्दोलनले लुम्बिनी क्षेत्र बेहाल बन्दो छ।

सीमामा पर्यटकलाई सोधपुछ गर्दै भारतीय सुरक्षाकर्मी एसएसबीका जवान।
शान्तिदूत बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक ओइरिने समय भनेकै असोज–चैत हो। गत वर्षहरूमा यहीवेला दैनिक करीब पाँच हजार पर्यटक लुम्बिनी आउँथे। होटल खचाखच भरिन्थ्यो। उत्साहजनक व्यापार हुन्थ्यो। पूजाले वेग्लै सुगन्ध छर्थ्यो। शान्ति धुन परपरसम्म गुञ्जिन्थ्यो।

तर, महाभूकम्पपछि तंग्रिंदै गरेको लुम्बिनी मधेश आन्दोलन र भारतीय नाकाबन्दीले पर्यटकविहीन बनेको छ। ३ भदौमा लुम्बिनी प्रवेशद्वार भैरहवामा मधेशी मोर्चा र प्रहरीबीच झ्डप भएदेखि भैरहवा–लुम्बिनी सडक खण्डमा सार्वजनिक यातायातका साधन चलेका छैनन्। होटल सुनसान छन्। स्थानीय व्यवसायी पेशाबाटै पलायन भइरहेका छन्।

लुम्बिनीमा २३५ वटा साना–ठूला होटल छन्। “होटल व्यवसायीहरू विस्थापित हुने क्रममा छन्”, लुम्बिनी होटल संघका महासचिव लीलामणि पौडेल भन्छन्, “बिडम्बना, विश्वभरका बुद्ध अनुयायीको मुख्य तीर्थस्थलमै यस्तो अवस्था आउँदा पनि सरकारको ध्यान गएकै छैन।”

स्थानीय होटल व्यवसायी वीरेन्द्र मिश्र पर्यटक नआएकै कारण थुप्रै होटल र उपहार पसल बन्द भइसकेका बताउँछन्। उनी आफैंले मुख्य बसपार्कमा सञ्चालन गर्दै आएको मायादेवी कोल्ड स्टोर बन्द गर्नुपर्‍यो। लुम्बिनीमा पर्यटक कमी हुँदा पोखरा, चितवनलगायतका पर्यटन क्षेत्र पनि प्रभावित भइरहेका छन्।

पर्यटक अभावमा लुम्बिनी शिथिल बनिरहेको यही वेला लुम्बिनी विकास कोषका कर्मचारी स्थायी बनाउन माग गर्दै आन्दोलनमा छन्। २४ असोजदेखि जारी आन्दोलनका क्रममा कर्मचारीले कार्यालयमै तालाबन्दी गरेका छन्। तालाबन्दीका कारण कोषको सम्पूर्ण प्रशासकीय कार्य बन्द छ। त्यसो त लुम्बिनी विकास कोषको कार्यालयमै आन्दोलनरत मधेशी मोर्चाले पनि ताला लगाएको छ।

कर्मचारी संघर्ष समितिका संयोजक रवीन्द्रनाथ शुक्ला माग पूरा नहुञ्जेल ताला नखोलिने बताउँछन्। कोषका सूचना अधिकृत हरिध्वज राई दुईथरी आन्दोलनका कारण लुम्बिनी पूरै ठप्प भएको बताउँछन्। उनी भन्छन्, “बुझन संसदीय टोली आएको थियो। तर, निष्कर्ष निस्किएको छैन।”

दीपक ज्ञवाली, लुम्बिनी

comments powered by Disqus

रमझम