थन्किए नाउ, बल्छी

Share:
  
बाढीले नदीको माछा बगाउँदा उत्तरी ताप्लेजुङका १५० माझी परिवारको रोजीरोटी संकटमा परेको छ।

लक्ष्मी गौतम
तमोर नदीमा माछा पार्न थापेको खुँगी। पहिरोअघि यस्ता खुँगीमा दैनिक १० किलो माछा पर्ने गरेकोमा अहिले प्रायः शून्य हात लाग्ने गरेको छ।
२७ जेठमा ताप्लेजुङका उत्तरी गाविसहरूमा गएको पहिरोले तमोर नदीमा ठूलो बाढी आयो। अचानक आएको बाढीले नदीका अधिकांश माछा बगायो। “बाढीले माछासँगै हाम्रो रोजीरोटी पनि बगायो”, भारपा–९, माझीटार, पाँचथरका वीरबहादुर माझी भन्छन्।

वीरबहादुर जस्तै बाढीले नदी किनारमा बस्ने अमरपुर–९ का पिनासीघाट, नक्कलेघाट माझीटारसँगै तेह्रथुमका सिम्राघाट र लुमुघाटका करीब १५० माझी परिवारको जीविकामा समस्या आइपरेको छ। “पहिले यतिवेला एक जनाले दैनिक पाँचदेखि १० किलो माछा मार्थ्यौं, तर हिजोआज बेलुकाको तरकारी पनि पुग्दैन”, सिम्ले–३ सिम्राघाट, तेह्रथुमका प्रकाश माझ्ी भन्छन्। जालमा माछा पर्न छाडेपछि माझ्ीहरू जाल, थकौली र बल्छी थन्क्याउन थालेका छन्।

माझीहरूका अनुसार, २०३५ सालमा तमोरमा आएको यस्तै बाढीले सबै माछा बगाउँदा तीन वर्षसम्म माछा भेटिएनन्। त्यसैले यसपटक पनि माछाका लागि तीन वर्ष जति कुनुपर्ने उनीहरूलाई थाहा छ।

त्यसो त यी माझीलाई बाढीले मात्र होइन, बाटोले पनि बेरोजगार बनाएको छ। तमोरमा डुंगा चलाई गुजारा गर्ने माझीका लागि नक्कले, सिम्रा, पिनासी, माझीटार र लुमुसहित अधिकांश घाटमा पुल बनेपछि चिन्ता थपिएको माझीटारका जसबहादुर माझी बताउँछन्।

पुल र नदी किनारासम्मै मोटरबाटो पुग्न थालेपछि गढतीरमा माछा मार्न जो–कोही पुग्ने गरेका छन्। यसले पनि माझीको पुर्ख्यौली पेशा जोखिममा परेको छ। “आफ्नै जमीन छैन”, जसबहादुर भन्छन्, “पुल बनेपछि नाउ थन्क्यायौं, नदीमा आएको बाढीले माछा पनि लगेपछि खै कसरी बाँच्ने हो?”

माघ २०७१ मा तमोर नदीमा देखिएका माछा।

पहिरो गएको भोलिपल्ट आएको बाढीले बगाउँदा २८ जेठमा पाँचथर तेह्रथुमको सीमा सिम्राघाटका बासिन्दाले डोकोमा टिपेको माछा।

तमोरमा समातेका माछा सुकाउने तयारी गर्दै तेह्रथुम सिम्लेका माझी (फाइल तस्वीर)।

ताप्लेजुङका सान्थाक्रा, थिङलावु, लिङतेप, लिंखिम र लिवाङ गाविसमा गएको पहिरोमा ३८ जनाको ज्यान गएको थियो। १९ जना अझ्ै हराइरहेका छन्। पहिरोले थुनिएको तमोर नदी खुल्दा नदीमा ठूलो बाढी आएको थियो।

लक्ष्मी गौतम, पाँचथर


जडीबुटी हिमालपारि तस्करी

वन कार्यालयले जडीबुटी संकलन–पुर्जी र छूटपुर्जी दिन ढिलाइ गर्दा कर्णालीबाट तिब्बततर्फ जडीबुटी तस्करी हुन थालेको छ।

कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पाबाट चीनको तिब्बततर्फ जडीबुटी तस्करी भइरहेको छ। हुम्लाको हिल्सा, चुवाखोला, टाँके, मुगुको नाक्चेलाग्ना र डोल्पाको मरिउला, ल्हाम्हे छङरा नाका प्रयोग गरी जडीबुटी तस्करी बढ्न थालेको छ।

मुगुस्थित जिल्ला वन कार्यालयले अवैध रूपमा नाक्चेलाग्ना हुँदै तिब्बत लैजाँदै गरेको अवस्थामा ७२९ किलो कुट्कीसहित स्थानीय टासी तामाङ, टासी कामी, सोनाम लामा, पासाङ लामा र जुम्लाका उर्गेन कामीलाई २९ कात्तिकमा पक्राउ गर्‍यो। जिल्ला वन अधिकृत प्रेमशंकर चौधरी कार्यालयसँग जनशक्ति अपुग भएकाले तस्करी रोक्न गाह्रो भएको बताउँदै नाकामा अध्यागमन कार्यालय स्थापना गरिनुपर्नेमा जोड दिन्छन्। तस्करी बढ्नुमा तीन वटै जिल्लाका वन कार्यालयको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना वन विभागले समयमै स्वीकृत नगर्नु पनि जिम्मेवार भएको चौधरीको भनाइ छ। “साउनदेखि नै कार्यान्वयन गरिनुपर्ने कार्ययोजना विभागले अझ्ै स्वीकृत गरेको छैन”, उनी भन्छन्, “विभागकै कारण कार्यालयले जडीबुटी संकलनपुर्जी र छूटपुर्जी वितरणमा ढिलाइ भएकाले तस्करी बढेको हो।”

हुम्लाको समस्या पनि उस्तै छ। हिल्सा, लिमी नाकाहुँदै तिब्बततर्फ जडीबुटीको चोरी निकासी बढेको छ। संकलनपुर्जी अनुसारको छूटपुर्जी जारी गर्नमा भएको ढिलाइले जडीबुटीको अवैध निकासी भएको सुनिएको रेञ्जर वीरबहादुर बम्जन बताउँछन्। उनका अनुसार, विभागको ढिलाइले यस वर्ष ५०० क्वीन्टल जडीबुटी निकासी गर्ने योजना पनि तुहिएको छ।

अत्यधिक चिसो बढेको भन्दै हिल्साको प्रहरी चौकी सदरमुकाम सिमकोट झ्रेपछि निर्धक्क तस्करी भइरहेको मुचु–७ तुमकोटका मिग्यूर लामा बताउँछन्। मुचु पुलका होटल व्यवसायी ग्याम्जु लामा पनि संकलन पुर्जी विना नै सामुदायिक तथा सरकारी वनबाट संकलित सयौं बोरा जडीबुटी मंसीर अन्तिम साता हिल्साहुँदै चीन निकासी भएको देखेको बताउँछन्।

तस्करीबारे जिल्ला वन कार्यालय भने बेखबर छ। जिल्ला वन अधिकृत श्यामकुमार चौधरी छूटपुर्जी जारी नगरेकाले निकासीबारे कुनै तथ्यांक नभएको बताउँछन्। तर, रेञ्जर वीरबहादुर बम्जन भने मंसीर अन्तिम सातातिर खगालगाउँ गाविसमा संकलित सयौं बोरा प्रतिबन्धित पाँचऔंले, जटामसी, कटुकी, वन लसुनलगायतका जडीबुटी घोडा, खच्चर र झोपामा ढुवानी गरेको देखेको बताउँछन्। खच्चडका ग्वालाले आफूसँग पुर्जी नभएको तर माथिको (वन विभाग) आदेश भएको बताउने गरेको पनि बम्जनको अनुभव छ। बम्जन भन्छन्, “जिल्लाकै जडीबुटी व्यापारीले माथि (काठमाडौं) बाट ल्याएको भन्छन् तर के संकलन गर्छन् थाहा छैन।” जडीबुटी तस्करीबारे अझैसम्म थाहा नभएको जिल्ला प्रहरी कार्यालयका डीएसपी त्रिलोकबहादुर चन्द बताउँछन्।

चीनसँग दुई ठाउँमा नाका जोडिएको डोल्पाबाट पनि करोडौंको जडीबुटी अवैध निकासी भएको स्थानीयको भनाइ छ। तर, जिल्ला वन कार्यालयका अधिकृत रामविचारी ठाकुर छूटपुर्जीमा निकासी गर्नेबाहेक तस्करीको समाचार नसुनेको बताउँछन्।

नवराज महतारा, हुम्ला

comments powered by Disqus

रमझम