१५०० आमा साक्षर

Share:
  

तस्वीरहरूः तीला भण्डारी
बारीको पाटामा बसेर पढ्दै साक्षरता कक्षाका महिला।
छोराछोरीले 'मम्मी, मलाई होमवर्क सिकाइदिनुस् न' भन्दा गोगनपानी–८, दैलेखकी लक्ष्मी बुढा (४०) को मुटु भक्कानिन्थ्यो। तीन सन्तानकी आमा लक्ष्मीलाई लाग्थ्यो, कसैले पनि अशिक्षित आमाका छोराछोरी हुनु नपरोस्। तर, अहिले भने लक्ष्मी खुशी छिन्। एक वर्षसम्म व्यावसायिक साक्षरता कक्षा पढेपछि उनी बाह्रखरी, सामान्य हिसाबकिताब गर्न सक्ने भएकी छन्। “कक्षा १ मा पढ्ने कान्छो छोरोको होमवर्क सिकाउन सक्ने भएकी छु”, लक्ष्मी भन्छिन्, “यति खुशी त कहिल्यै भएकी थिइनँ।”

साक्षरता कक्षाबाट लक्ष्मीले अक्षर र अंक मात्र होइन, स्वास्थ्य तथा पोषण, जीवनोपयोगी सीप र उद्यमशीलताबारे पनि थुप्रै जानकारी पाएकी छिन्। गोगनपानीकै दुर्गा गहतराजलाई श्रीमान्ले विदेशबाट पठाएको रकम झ्िक्न जाँदा सधैं अरूको सहारा लिनुपर्थ्यो। साक्षरता कक्षा पढेपछि उनी आत्मनिर्भर पनि बनेकी छन्। “तरकारी बेच्दा मण्डीले जे हिसाब दिन्थ्यो त्यही पत्याउँथें, लिएर आउँथें तर अहिले क्याल्कुलेटरबाट आफैं निकाल्छु”, उनी भन्छिन्।

दैलेखका १४ गाविसमा गत पुसमा सकिएको एकवर्षे कक्षाबाट झ्न्डै १५०० महिला साक्षर भएका छन्। जिल्ला शिक्षा कार्यालयको समन्वयमा सम्झ्ौता नेपालले सञ्चालन गरेको साक्षरता कक्षामा सहभागी १६७१ मध्ये १५०० जनाले पढ्न, लेख्नका साथै क्याल्कुलेटर, मोबाइलमा मेसेज पठाउन समेत जानेका छन्। “व्यावहारिक साक्षरता कक्षा भएकाले ५०० भन्दा बढीले विभिन्नखाले आय आर्जनका व्यवसाय थालेका छन्”, साक्षरता कार्यक्रम अधिकृत मधुसूदन राउत भन्छन्।

साक्षरता कक्षाबाटै अक्षर चिनेकी बराह–५, दैलेखकी नन्द चन्द (३६) कम्प्युटरको जमानामा बल्ल अक्षर, अंक चिनेको बताउँछिन्। “तर, ढिलै भए पनि मोबाइल चलाउन र साँवा ब्याजको हिसाब निकाल्न सक्नेभयौं”, उनी भन्छिन्।

क्याल्कुलेटर चलाउन सिक्दै सहभागी।

सहायक जिल्ला शिक्षा अधिकारी झ्लक कोइराला व्यावहारिक साक्षरता कक्षाले गाउँलेलाई माछा खाने मात्र होइन, मार्ने तरीका नै सिकाएको बताउँछन्। भन्छन्, “अन्य साक्षरताका कार्यक्रमभन्दा व्यावहारिक साक्षरता प्रभावकारी रह्यो।”

तीला भण्डारी, दैलेख


७६ करोडको सुन्तला

बद्री पन्त
ढिमे–१, दमदालामा लटरम्म फलेको सुन्तला।
मध्यपश्चिमको पहाडी जिल्ला जाजरकोटमा यस वर्ष रु.७६ करोड ७२ लाख मूल्य बराबरको एक हजार ३९५ टन सुन्तला उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश राम्जालीका अनुसार गत वर्षभन्दा उत्पादन घटे पनि बजारमूल्य अनुसार किसानको आम्दानी बढेको छ। गत वर्ष १५० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट एक हजार ५०० टन उत्पादन हुँदा किसानले रु.७५ करोड आम्दानी गरेका थिए।

जाजरकोटका ढिमे, डाँडागाउँ, लह, खलंगा, खगेनकोट, पंैक, झ्ाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायतका गाविसलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ। सिंचाइ र मलखादको अभावमा अपेक्षित उत्पादन नभए पनि अन्य खेतीको तुलनामा राम्रो आम्दानी हुन थालेपछि सुन्तला खेती गर्ने किसानको संख्या बढ्दै गएको कृषि प्रसार अधिकृत राम्जाली बताउँछन्। थोरै लगानीबाट धेरै आम्दानी हुने भएकाले किसानले मकै, गहुँ, जौ, कोदो, फापर लगाउने बारीमा सुन्तला खेती गर्न थालेका छन्। ढिमेका किसान शक्तिबहादुर ओली भन्छन्, “अरू बालीभन्दा सुन्तला खेतीबाट हुने आम्दानी कता हो कता फरक छ।”

बद्री पन्त, जाजरकोट


वारि घर पारि विद्यालय

गोपाल भण्डारी
कपिलवस्तुको तितिर्खी गाविस–५ पकडी गाउँकी जनकनन्दनी चौधरी १० कक्षामा पढ्छिन्। तर उनलाई नेपालको राष्ट्रिय गान, झ्ण्डा र राष्ट्रिय जनावर के हो भन्ने थाहा छैन। बरु हरेक दिन 'जन गण मन...' भन्दै भारतको राष्ट्रिय गान स्मरण गर्छिन्। गाउँमा विद्यालय नभएकाले १ कक्षादेखि नै सीमावर्ती भारतको सिद्धार्थनगर जिल्लास्थित बजाहा बजारको शहिदे आजम भगतसिंह उच्च माविमा पढेकी जनकनन्दनी हरेक दिन सीमा वारपार गर्छिन्। उनी भन्छिन्, “नेपाली बोल्न र बुझन पनि गाह्रो हुन्छ, मातृभाषा अवधी र हिन्दी भएकाले उता पढ्न पनि सजिलो छ।”

जनकनन्दनी जस्तै पकडी गाउँका दुई दर्जनभन्दा बढी विद्यार्थी दिनहुँ हूल बाँधेर सीमापारिका विद्यालय पुग्छन्। निम्न माध्यमिक तहसम्मको पढाइ गाउँमै भए पनि पकडी गाउँका बालबालिका माध्यमिक तहको पढाइका लागि पाँच किलोमीटर टाढा रंगपुर पुग्नुपर्छ। त्यहाँसम्म पुग्ने बाटो पनि खराब भएकाले भारतीय विद्यालयमा पढाउनु सजिलो हुने पकडीका सरोज चौधरी बताउँछन्।

बाल्यकालदेखि नै सीमापारिका विद्यालयमा पढ्ने विद्यार्थीको रुचि र चासो पनि भारतकै विषयमा ज्यादा हुने गर्छ। स्थानीय नागरिक अगुवा जयप्रकाश पाण्डे बालबालिकालाई नेपालका आफ्नै विषयवस्तुमा रुचि राख्ने बनाउन सीमावर्ती क्षेत्रहरूमा पनि पठनपाठनको सजिलो व्यवस्था मिलाउनका लागि ध्यान दिइनुपर्ने बताउँछन्। जिल्ला शिक्षा अधिकारी हरि गौतम भने सीमावर्ती क्षेत्रका विद्यालयमा कक्षा थपका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको दाबी गर्छन्। गौतम भन्छन्, “सीमा क्षेत्रका विद्यालयले पूर्वाधार विकास गरी स्तरोन्नतिका लागि अग्रसरता देखाए जिल्ला शिक्षा कार्यालय हातेमालो गर्न तयार छ।”

गोपाल भण्डारी, कपिलवस्तु


फन्दामा प्रहरी

कमल रिमाल
१३ माघ राति मोरङको बुधनगरस्थित भारतीय सीमावर्ती क्षेत्रबाट प्रहरीले बरामद गरेको १६ किलो गाँजा।
धनकुटामा मौलाएको गाँजाखेतीमा जोडिएका प्रहरीमाथि कारबाही प्रक्रिया शुरू गरिएको छ। गाँजाको खेती र कारोबारमा प्रहरीकै संरक्षण देखिएपछि कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवन खरेलको संयोजकत्वको छानबीन समितिको सिफारिशका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको हो। समितिको सिफारिश अनुसार धनकुटाका प्रहरी प्रमुख एसपी विभूतिराज पाण्डेसहित १८ जना प्रहरी कारबाहीमा परेका छन्।

एसपी पाण्डेसहित १४ प्रहरीलाई नसिहत दिइएको छ। इलाका प्रहरी कार्यालय छिन्ताङका पूर्व प्रमुख प्रहरी निरीक्षक नारायण भट्टराई, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाका प्रहरी सहायक निरीक्षक (असई) द्वय नरेश विक र लोकबहादुर धिमाल तथा जिल्ला प्रहरी कार्यालयका असई शिव शर्मालाई निलम्बन गरिएको छ। भट्टराईलाई गृहमन्त्रालय र असईत्रयलाई पूर्व क्षेत्र प्रहरी कार्यालयले निलम्बन गरेको हो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्देशनमा पूर्वक्षेत्र प्रहरी प्रमुख डीआईजी माधव जोशीले गठन गरेको छानबीन समितिका संयोजक एसएसपी खरेल भन्छन्, “थप अनुसन्धानका लागि निलम्बन गरिएको हो, उनीहरूलाई जागिरबाटै हटाउनेसम्मको कारबाही हुन सक्छ।”

साप्ताहिक खबरपत्रिका हिमाल मा प्रहरीकै संरक्षणमा गाँजाखेती मौलाएको समाचार प्रकाशित भएको थियो। (हे., हिमाल, १२–१८ पुस २०७२) छानबीन समितिसँगको बयानमा आरोपित प्रहरीहरूले गाँजाखेतीबारे एसपी पाण्डेलाई जानकारी गराउँदा पनि नष्ट गर्ने आदेश नदिएको बताएका छन्। समितिको प्रतिवेदनमा जताततै गाँजाखेती गरिएको, प्रहरीको अभिलेखमा त्यस क्षेत्रमा नियमित गस्ती गरेको देखिएको र गाँजा उत्पादकसँग उठाइने रकम स्थानीय प्रहरीमार्फत जिल्ला प्रहरी प्रमुखलाई पठाउने गरिएको उल्लेख छ। समितिले यसमा धनकुटास्थित जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी बलको समेत संलग्नता औंल्याउँदै उनीहरूमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ। छिन्ताङ निवासी योगेन्द्र राई र कुमार मगरातीले गाँजा उत्पादकसँग प्रहरीलाई दिने भन्दै करीब रु.१ करोड संकलन गरेको र अहिले फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम