शिविरले सजिलो

Share:
  

सविता श्रेष्ठ
थाङ्गपालकोट–७, सिन्धुपाल्चोककी दावाबुटी लामा (८६) ले गाविसमा आएको घुम्ती शिविरमा प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीबाट नागरिकता लिइन्। उनलाई जेठो छोरा बाबु लामाले नागरिकता बनाउन शिविरमा ल्याएका थिए। भोताङका बजिर तामाङले छोरा वाङदी (१०) को अपाङ्गताको परिचयपत्र पनि शिविरमै बनाए।

थाङ्गपालकोट–४ को रैथाने माविमा ३–४ चैतमा आयोजित एकीकृत घुम्ती सेवा शिविरमा प्रशासनिक मात्र होइन; पशु, कृषि, शहरी विकास, स्वास्थ्य, मालपोत, प्रहरी, महिला तथा बालबालिकालगायतका १५ वटा कार्यालयका सेवा एकैठाउँमा उपलब्ध गराइएको थियो। जिल्लाको क्षेत्र नम्बर ३ का थाङ्गपालकोट, थाङ्गपालधाम, गुन्सा, बरुवा र भोताङ गाविसलाई केन्द्रित गरी शिविर सञ्चालन गरिएको थियो।

कोक्रोमा काखे बच्चा लिएरै शिविर आइपुगेकी बरुवा–५ बोल गाउँकी साङ्गे डोल्मा बोम्जन (२२) ले नागरिकता र मतदाता परिचयपत्र बनाइन्। “सदरमुकाम पुगेर नागरिकता बनाउन कति दिन लाग्थ्यो; भैंसी, बाख्रा र बालबच्चा छाडेर हिंड्न पाउँदिनथें”, उनले भनिन्।
भूकम्पले घर भत्काएपछि थाङ्गपालकोट–५ मानेखर्कका रामबहादुर लामा टहरामा बसेका छन्। शिविरमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले राखेको स्टलबाट उनले भूकम्प प्रतिरोधी घरबारे जानकारी लिए। डिभिजन कार्यालयका निमित्त प्रमुख टंकप्रसाद खनालका अनुसार शिविरमा रु.८ लाखदेखि रु.२१ लाखसम्म लागत पर्ने घरका नक्शाबारे जानकारी गराइएको थियो।

शिविरमा छोराछोरीको नागरिकता बनाएका गुन्सा–४ मसालदोङ्गका गोरेबहादुर तामाङ गाउँ नजिकै शिविर आउँदा सजिलो भएको बताउँछन्। “घरको नक्शा पनि हेरें, सदरमुकाममा त यति हेर्न पनि जुर्नुपर्थ्यो”, उनी भन्छन्।

प्रमुख जिल्ला अधिकारी दवाडी भूकम्प अति प्रभावित जिल्लावासीले गाउँमा नै सदरमुकामको सेवा पाउँदा राहत महसूस गरेको बताउँछन्। यसअघि मंसीरमा अत्तरपुर र माघमा पाङताङ गाविसमा यस्तै शिविर चलाएको बताउँदै उनी भन्छन्, “स्थानीयको माग बमोजिम अन्य गाविसमा पनि शिविर सञ्चालनको योजना छ।”

सविता श्रेष्ठ, सिन्धुपाल्चोक


३० प्रतिशत ल्याए पास!

एसएलसीमा एकतिहाइभन्दा बढी 'अनुत्तीर्ण' हुने निश्चितप्रायः भएपछि अक्षरांकन पद्धतिको ग्रेडिङ प्रणाली परिवर्तन गरिएको छ। परिवर्तित व्यवस्थाअनुसार, ३० भन्दा माथि र ४० भन्दा कम अंक पाएका विद्यार्थीका लागि 'डी प्लस' श्रेणी थप गरिएको छ। हिमाल ले (३० फागुन–६ चैत अंकमा) 'अक्षरांकन पद्धति मर्म विपरीत' लागू गर्न लागिएको रिपोर्ट प्रकाशित गरेको थियो।

राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्का सदस्यसचिव बाबुराम पौडेलले, विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ मा उल्लिखित २० देखि ४० प्रतिशत पाउने विद्यार्थीलाई 'डी' श्रेणीमा राख्ने निर्णय परिषद्ले परिवर्तन गरेको बताए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र उच्च माध्यमिक शिक्षा परिषद् (उमाशिप) ले 'डी' श्रेणीलाई भर्ना नलिने भएपछि यसअघिकै पास अंक (३२ प्रतिशत) सँग मिल्ने गरी नयाँ श्रेणी निर्धारण गरिएको परिषद्ले बताएको छ। 'डी प्लस' ले माथिल्लो तहमा भर्ना पाउने भएपछि भने ३० प्रतिशतभन्दा माथि अंक ल्याउने विद्यार्थी लाभान्वित हुनेछन्।

परिषद्ले सैद्धान्तिक र प्रयोगात्मक खण्डमा भएका अलग अलग उपलब्धिस्तर खुल्ने गरी ग्रेडिङ गर्ने कार्यविधिको व्यवस्था पनि परिवर्तन गरेको छ। अब सैद्धान्तिक र प्रयोगात्मक खण्डमा ल्याएको अंक जोडेर ग्रेडिङ गरिनेछ। यस्तै परिषद्ले परीक्षामा अनुपस्थित हुने वा शून्य प्रतिशत अंक ल्याउनेका लागि यसअघि राखेको 'एन' श्रेणी हटाएको छ।

सन्त गाहा मगर


मोटरबाटोले गाउँमै रोजगारी

बद्री पन्त
जा जरकोटको पश्चिमी भेगका बासिन्दाले गाउँमै रोजगारका अवसर पाउन थालेका छन्। बालुवा र थलह जोड्ने १२.५ किलोमीटर लामो मोटरबाटो निर्माणले यहाँका विपन्न परिवारलाई घरपायक रोजगारीको अवसर दिएको छ।

नेपाल सरकार र एशियाली विकास ब्यांकको आर्थिक सहयोगमा विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमद्वारा सञ्चालित सडक निर्माणले यहाँका बासिन्दालाई केही समयका लागि रोजगारी दिएको छ। सडक निर्माणमा जुटेका तीन गाविस (साल्मा, दशेरा र जुँगाथापाचौर) का ५०० भन्दा बढी पुरुष र महिलाले दैनिक रु.६०० देखि रु.८०० सम्म कमाइ गर्छन्। २० वटा समूह बनाएर सडक निर्माण गरिरहेका स्थानीयले ६ किमी सडक निर्माण गर्ने जिम्मा लिएका छन्। सडक आयोजनाका इन्जिनियर लोकबहादुर खड्का भन्छन्, “कामदार महिला र पुरुषले समान ज्याला पाएका छन्।”

स्थानीयले आफ्नो भागको ६ मध्ये ४ किमी सडक निर्माण गरिसकेका छन्। आउँदो वैशाख महीनाभित्र निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने योजना छ। स्थानीयको जिम्मा परेको सडक निर्माणका लागि रु.२ करोड ५० लाख छुट्याइएको छ। सडक निर्माणका लागि कुल रु.७ करोड विनियोजन गरिएको छ। इन्जिनियर खड्काका अनुसार गाउँमा विकास पनि हुने र काम पनि मिल्ने भएकाले स्थानीय दंग छन्।

आयोजनाले यसअघि जिल्ला सदरमुकाम खलंगाको शान्ति चौतारादेखि रिम्नासम्मको १८ र पश्चिम थलहदेखि औंलतरीसम्मको १४ किमी सडक निर्माण गरिसकेको छ। ती सडक निर्माणमा पनि स्थानीयको सहभागिता थियो।

बद्री पन्त, जाजरकोट

comments powered by Disqus

रमझम