गुरुदक्षिणामा चामल

Share:
  

गोकुल घोरसाइने
मन्दिर प्राङ्गणमा बालबालिकालाई पढाउँदै रामशरण वैरागी।
मनहर्वा–५, बारा; बेलबाडी टोलका निराजन ठाकुर (८) हरेक बिहान ७ नबज्दै रामजानकी मन्दिर पुग्छन्। उनीसँगै गाउँको श्रीनेरा प्राविका अधिकांश विद्यार्थी सबेरै मन्दिर धाउँछन्। मन्दिरका पुजारी रामशरण वैरागी (७२) उनीहरूलाई कुरिरहेका हुन्छन्।

विद्यार्थी र पुजारीबीचको यो नित्य सम्बन्ध पूजाका लागि नभई पढाइका लागि हो। ४० वर्षदेखि वैरागीले यसरी नै विद्यार्थीलाई ट्यूसन पढाउँदै आएका छन्।

गाउँमा विद्यालय अभावमा सन्तानले पढ्न नपाएपछि स्थानीयले २०३१ सालमा मन्दिर स्थापना गरी वैरागीलाई पूजापाठ र पठनपाठन दुवैको जिम्मेवारी सुम्पेका थिए। तर, अहिले गाउँमै सरकारी र निजी विद्यालय खुलिसक्दा पनि वैरागीको कक्षा जारी छ।
गुरुदक्षिणाको शैली पनि वेग्लै छ। स्थानीय अवधेशप्रसाद साह एक जना विद्यार्थीलाई महीनाभरि पढाएबापत एक किलो चामल र रु.२० पाउने गरेको बताउँछन्। “पहिलेपहिले धान र चामल मात्र उठाउँथें”, उनी भन्छन्।

वैरागीले आफैंले भने कक्षा ६ सम्म मात्र पढेका छन्। त्यसैले उनी कक्षा ५ सम्मका विद्यार्थीलाई मात्र पढाउँछन्। तर पनि उनमा अंग्रेजी, गणित र नेपाली तीनवटै विषय पढाउने क्षमता छ।

उमेर घर्कीर्दै गए पनि वैरागीको पढाउने जोशमा कमी नआएको स्थानीय चन्द्रेश्वर यादव बताउँछन। उनी भन्छन्, “पहिलेको जस्तै जोश, जाँगर र माया गरेर सिकाउनुहुन्छ।” वैरागीका लागि भने, बालबालिका र भगवान उस्तै हुन्। “त्यसैले पनि उनीहरूलाई पढाउँदा खुशी लाग्छ”, उनी भन्छन्, “अब धेरै बाँच्दिन होला, पढाएरै मर्ने मन छ।”

गोकुल घोरसाइने, बारा


काजका भरमा अध्यागमन

भूकम्पले तातोपानी नाका बन्द भएयता व्यस्त बनेको रसुवागढी नाकाको अध्यागमन कार्यालय काजमा खटिएका प्रमुखसहित दुई कर्मचारीको भरमा चलिरहेको छ।

२५ चैत बिहान केरुङ–रसुवागढी नाकाको अध्यागमन कार्यालय पुग्दा एक कर्मचारीले सीमा वारपार गर्दा यात्रुले भर्नुपर्ने आगमन र प्रस्थान फारम बाँड्दै थिए। दैनिक औसत ५०–६० चिनियाँ यात्रु नेपाल प्रवेश गर्ने यो नाकामा सामान्य कर्मचारीले गर्ने ठानिएको फारम वितरणको काम गर्ने ती कर्मचारी थिए, अध्यागमन कार्यालयका प्रमुख, ओमप्रसाद पाण्डे।

१२ वैशाखको महाभूकम्पका कारण चल्तीको तातोपानी नाका बन्द भएपछि यो नाकामा चहलपहल बढेको छ। तर नाकास्थित अध्यागमन कार्यालयमा कर्मचारी अभावमा कार्यालय प्रमुख नै फारम बाँड्ने काममा खटिनु परेको छ। एकजना अध्यागमन अधिकृत, दुई जना नासु र एक–एक जना खरिदार, कम्प्युटर अधिकृत र सह–लेखापाल तथा दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको कार्यालय अहिले प्रमुखसहित दुई कर्मचारीको भरमा चलिरहेको छ। “मन्त्रालय र अध्यागमन विभागलाई कर्मचारी पठाइदिन बारम्बार अनुरोध गरेको छु”, कार्यालय प्रमुख पाण्डे भन्छन्, “तर, सधैं समन्वय हुँदैछ भन्ने जवाफ आउँछ, कर्मचारी आउँदैनन्।”

भूकम्पपछि नाका नियमित सञ्चालन आएसँगै चार हजार ४०० चिनियाँ नेपाल भित्रिएका र तीमध्ये तीन हजार यही नाका हुँदै फिर्ता भएका छन्। अहिलेसम्म दुई हजार ४७२ जना रसुवावासीले चिनियाँ भूमि प्रवेशका लागि यो कार्यालयबाट 'पर्मानेन्ट भिसा' पाएका छन्।
परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणका क्रममा भएको 'चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने' समझ्दारी अन्तर्गत २३ चिनियाँलाई शुल्क नलिई भिसा दिइएको कार्यालयले जनाएको छ। भारतीय नाकाबन्दीपछि यही नाका भएर आएको चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ भित्र्याउन ७५० जना चालक/सह–चालकलाई प्रवेश पास दिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए।

सन्त गाहा मगर, रसुवागढीमा

comments powered by Disqus

रमझम