५ - ११ भदौ २०७३ | 21-27 August 2016

छुट्यो स्कूल

Share:
  
- मुकेश पोखरेल
कपिलवस्तुका २७ गाउँ विकास समितिमा माध्यमिक विद्यालय नहुँदा ८ कक्षा उत्तीर्ण करीब १० हजार छात्राको पढाइ छुटेको छ।

मुकेश पोखरेल
कपिलवस्तुको सिंहखोरस्थित राष्ट्रिय निमाविबाट ८ कक्षा उत्तीर्ण गरेपछि अभिभावकले विद्यालय नपठाएका आश्मा खातुन (बीचमा)। बायाँ ताहिरा खातुन र अमिरुन निसा दायाँ।
कपिलवस्तु जिल्लाको दक्षिणमा पर्ने सिंहखोर गाविस–७ की आश्मा खातुन (१४) ले गाउँकै राष्ट्रिय निमाविबाट यो वर्ष कक्षा ८ उत्तीर्ण गरिन्। पढाइ रामै्र थियो, धेरै पढ्ने रहर पनि थियो, तर उनको पढाइमा यही साल पूर्णविराम लाग्यो। आश्माकी आमा सजरुन निसा भन्छिन्, “छोरीले पढोस् भन्ने सबै आमाबाबुको इच्छा हुन्छ, तर उसको जीउज्यान सबभन्दा ठूलो कुरा हो।”

आश्मासँगै ८ कक्षा उत्तीर्ण गरेका ताहिरा खातुन र अमिरुन निसाको पढाइ रोकिएको छ। यी छात्राहरूलाई विद्यार्थी जीवनको अन्त्य आएको ८ कक्षाको परीक्षा दिंदा नै थाहा थियो। गाउँमा आफूभन्दा अघि ८ कक्षा सिध्याएकाहरूको अवस्था हेरेर उनीहरूले बुबाआमालाई सम्झ्ाइदिन गैर–सरकारी संस्थाका प्रतिनिधिलाई गुहारेका पनि थिए। “घरघरै गएर सम्झ्ायौं पनि”, एउटा गैससको लागि सिंहखोरमा शैक्षिक सहजकर्ताको काम गरिरहेकी चन्द्रमा पौडेल भन्छिन्, “तर, ती बहिनीहरूका आमाबुबाले असुरक्षा हुन्छ भनेर छोरी पढाउन मानेनन्।”

'नजिक भए पढाउँथें'

सिंहखोर, सोमडीलगायत दक्षिणी कपिलवस्तुका २७ गाविसमा माध्यमिक विद्यालय छैनन्। ती गाविसका विद्यार्थीलाई नजिकको माविमा पुग्न साइकलमा पौने घण्टा लाग्छ। त्यसैले, गाउँमा निमावि तहको पढाइ पूरा गरेपछि आमाबुबाले अधिकांश विद्यार्थीको पढाइ छुटाइदिन्छन्। त्यसमा पनि छोरीहरूको त ८ कक्षापछि पढाइ रोकिने शतप्रतिशत निश्चित हुन्छ।

आर्थिक हैसियतसँगै चेतना पनि भएका बाबुआमाले छोरीहरूलाई सदरमुकाम तौलिहवामा राखेर पढाउँछन्। आर्थिक अवस्था र चेतनाको स्तर कम भएका मुस्लिम र दलित समुदायका अभिभावकहरू भने छोरीलाई टाढाको स्कूल पठाउनै नचाहने सिंहखोरको राष्ट्रिय निमाविकी शिक्षिका गुनेश्वरी श्रीवास्तव बताउँछिन्। “हुर्कन लागेका छोरीहरूलाई टाढाको स्कूल पठाउँदा चरित्रमा प्रश्न उठ्यो भने बिहेवारी नै नहुने डर अभिभावकमा देखिन्छ”, श्रीवास्तव भन्छिन्।

अभिभावकहरूको यो चिन्तामा चेतनाको कमी नभई सुरक्षाको ठोस कारण देखिन्छ। गाउँघरमा बढेका बलात्कार र यौनहिंसाका घटनाले अभिभावकलाई बेचैन बनाएको छ। सोमडीको इटहवास्थित सिद्धार्थ प्राविकी शिक्षिका मीनाकुमारी थारू छोरीहरूलाई गाउँभन्दा टाढाको विद्यालय पठाउँदा असुरक्षित हुने अभिभावकको चिन्ता जायज भएको बताउँछिन्। उनका अनुसार, समाजमा बढेको यौन अपराधलाई हेर्दा कोही अभिभावक ढुक्क भएर बस्न सक्ने अवस्था छैन। “यसले गर्दा ८ कक्षाभन्दा माथि चाहेर पनि पढ्न नपाउने किशोरीहरूको संख्या बढेको छ”, शिक्षिका थारू भन्छिन्, “यो चिन्ताको अर्को पक्ष हो।”

घरमै बसिरहेका सिंहखोरकी संगीता धोबी (तल) र हथिहवाकी उर्मिला राजभर। उनीहरुले आठ कक्षा उत्तीर्ण गरेपछि नजिकै माध्यमिक विद्यालय नहुँदा पढाइ छाड्नुपर्‍यो ।

अपराधको अवरोध

मंसीर २०७२ मा इटहवा गाउँ पश्चिमतर्फको बगैंचामा दाउरा खोज्न गएकी एक किशोरी सामूहिक बलात्कारमा परिन्। त्यसअघि असारमा इटहवामा दिदी भेट्न आएकी एक युवती बलात्कृत भइन्। कपिलवस्तुमा भएका बलात्कार अपराधका पीडितमध्ये दलित र मुस्लिम समुदायका बढी छन्। यस्ता घटनाले ती समुदायका अभिभावकमा छोरीको पढाइभन्दा जीउज्यान ठूलो भन्ने पारेको छ। ८ कक्षापछि पढाइ छुट्ने छोरीचेली पनि यिनै समुदायका ज्यादा छन्।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०७१/७२ मा भएका ३७ वटा बलात्कारका घटनामा थारू समुदायका ११, दलित ७ र मुस्लिम समुदायका ६ जना चेली शिकार भए। त्यस्तै, २०७२/७३ मा भएका १९ वटा बलात्कारका घटनाबाट पीडितमध्ये थारू समुदायका ३, दलित समुदायका ६ र मुस्लिम ५ जना छन्।

बलात्कारको शिकार हुनेमा विद्यालय जाने उमेरकै किशोरी ज्यादा छन्। २०७१/७२ मा १०–१४ वर्ष उमेर समूहका नौ जना बालिका बलात्कृत भए भने १४–१६ वर्षका ७ र १६–१८ वर्ष उमेर समूहका तीन जना। त्यस्तै, २०७२/७३ मा जिल्लामा १०–१४ वर्ष उमेर समूहका चार जना, १४–१६ वर्षका ३ र १६–१८ वर्ष उमेर समूहका पाँच जना बलात्कृत भएको प्रहरीको आँकडाले देखाउँछ।

सँगै हिंडेको देखेकै आधारमा कुरा काट्ने समाजमा बलात्कार जस्तो घटनाले किशोरीको भविष्य समाप्त पारिदिन्छ। “स्कूल नजिक भए पढाउँथें”, चाहेर पनि छोरीलाई ९ कक्षामा भर्ना गर्न नसकेकी सिंहखोरकी प्रभावती धोवी भन्छिन्, “उसकै जीउ जोगाउन पढाइ छुटाउनुपर्‍यो।”

माविको अभाव

अनुसन्धानकर्ता, विज्ञ र सरकारी कर्मचारीहरू गरीबी, अन्धविश्वास, बालविवाह आदि कारणले कपिलवस्तुका दलित तथा मुस्लिम समुदाय शिक्षामा पछि परेको बताउँछन्, तर माध्यमिक तहको विद्यालयसम्म पहुँच नहुनुमा समस्याको चुरो देखिन्छ। यस क्षेत्रका छात्राहरूले माध्यमिक विद्यालयमा टेक्नै नपाउनुले यही देखाउँछ।

सोमडीको अल्ले सुन्नत फयजुल उल्लुम चिस्तिया प्राविका मौलाना मन्नान अली मुसलमान अरू कारणले भन्दा पनि घर नजिक मावि नहुँदा पढाइ छुटिरहेको बताउँछन्। हुन पनि, भारतसँग सीमा जोडिएका दक्षिणी कपिलवस्तुका मुस्लिम र दलित समुदायबहुल २७ गाविसमा माध्यमिक विद्यालय नै छैन। (हे. इन्फोग्राफ) मौलाना मुसलमान भन्छन्, “त्यही कारण १० हजारभन्दा बढी निमावि तह सकेका किशोरीले पढाइ छाड्नु परिरहेको छ।”

यो समस्या तत्कालै समाधान हुने सम्भावना पनि छैन। जिल्ला शिक्षा अधिकारी हरि गौतम स्थानीय समुदायले आफैं स्रोतसाधन जुटाएर मावि सञ्चालन गरे मात्र सहयोग गर्न सक्ने बताउँछन्। तर, यस भेगका बासिन्दाहरू आफैं मावि सञ्चालनको तयारी गर्न सक्ने अवस्थामा रहेको देखिन्न। जिशिअ गौतमका अनुसार कपिलवस्तुभरि ५ देखि १४ वर्षसम्मका १७ हजार बालबालिका विद्यालय बाहिर छन्। यसमा बालिकाको संख्या ८० प्रतिशतभन्दा बढी छ।

चेतनाको कमी

हरिहरपुर–८ झुसियास्थित सरस्वती निमाविमा कक्षा ६ मा अध्ययनरत गुडिया मुसलमानले कापीमा 'आई लभ यू' लेखेपछि पढाइ छाड्नु पर्‍यो। उनलाई कक्षाकोठामा त्यो वाक्य सिकाउने साथी रहिमुन निसाले पनि अर्को दिनबाट स्कूल त्याग्नु पर्‍यो। ती दुवैलाई अभिभावकले पिटेर पढाइ रोकिदिएका थिए। विद्यालयकी प्रधानाध्यापक रमा खनाल त्यस घटनालगत्तै अरू चार छात्रा विद्यालय आउन छाडेको बताउँछिन्।

मौलाना मन्नान अली मुसलमान मुस्लिम समुदायका छोरी किशोरावस्थामा पुगेपछि कसैको आँखा नलागोस् भनेर अभिभावकहरू विद्यालय पठाउन हच्किने गरेको बताउँछन्। कतिसम्म भने, गाउँका मुस्लिम अभिभावकहरू पुरुष शिक्षक भएको विद्यालयमा समेत आफ्ना नानीहरू पठाउन मन गर्दैनन्। “त्यसमाथि, यौनहिंसाका घटना सुनेपछि त अभिभावकको सातो उड्छ”, मौलाना मुसलमान भन्छन्, “त्यही कारण हो, गत वर्ष जिल्ला परिषद् बैठकमा दक्षिणी भेगका लागि कन्या स्कूलको माग भएको।”

महिला शिक्षिका मात्र भएको विद्यालयमा छात्रा संख्या पनि बढी देखिन्छ। एउटा गैरसरकारी संस्थाले सोमडीको इटहवामा विद्यालय नटेकेका र विभिन्न कारणले बीचमै पढाइ छाडेका किशोरीहरूका लागि संचालन गरेको कक्षामा १० देखि १६ वर्षसम्मका ६० छात्रा पढ्छन्। तीमध्ये मुस्लिम १६ र दलित समुदायका ३६ छन्।

दक्षिणी कपिलवस्तुको मुटफुटुवा माध्यमिक विद्यालय (हथिहवा गाविस) बाट गत वर्ष एसएलसी परीक्षामा सहभागी ६० विद्यार्थीमध्ये छात्रा १५ जना थिए। तीमध्ये दलित समुदायका तीन जना। नौ कक्षा उत्तीर्ण गरेर १० मा भर्ना भएका ५० विद्यार्थीमध्ये छात्रा १४ जना छन्। त्यसमा पनि दलित समुदायका त जम्मा चार जना छन्। छोरीचेली घरबाहिर जानुहुँदैन भन्ने संकीर्ण सोचका कारण छात्रा संख्या बढाउन नसकिएको प्रधानाध्यापक लालचन्द्र पाण्डे बताउँछन्।

यसको उदाहरण हुन्, हथिहवा–७ का रामसवार भर। गाउँकै राजु यादव निमाविबाट ८ कक्षा उत्तीर्ण गरेकी छोरी उर्मिलालाई उनले ९ कक्षा भर्ना गरिदिएनन्। उर्मिलाको पढाइ नराम्रो थिएन, मुटफुटुवा मावि पनि टाढा थिएन। तर, रामसवार भन्छन्, “अचेल मानिस खराब छन्, केटी मान्छेको बाटो छेक्छन्, केही नराम्रो घटना गराइदिए भने?”

(खोज पत्रकारिता केन्द्रका लागि)

comments powered by Disqus

रमझम