५ - ११ भदौ २०७३ | 21-27 August 2016

'स्मार्ट' जिन्दगी

Share:
  
- मुकेश पोखरेल
करीब ६ वर्षअघिदेखि मात्र सर्वसाधारण नेपालीको पहुँचमा पुगेको स्मार्टफोनको आगमनले जीवनशैलीमा अभूतपूर्व परिवर्तन ल्याएको छ।

बिक्रम राई
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह अध्ययनरत रत्नकुमारी घिमिरे नबुझिने शब्द खोज्न शब्दकोश पल्टाउने झ्न्झ्टबाट मुक्त भएकी छन्। कारण, उनले आफ्नो स्मार्टफोनमा शब्दकोश 'डाउनलोड' गरेकी छन्। घिमिरे भन्छिन्, “शब्दकोशको पाना पाना पल्टाउने झ्न्झ्ट अब गरिरहनु परेन, मोबाइलबाट चाहिनेबित्तिकै शब्दको अर्थ खोज्न सकिने भयो।”

भण्डारा, चितवनकी दिया सापकोटा पनि अध्ययनका लागि आवश्यक कतिपय सामग्री स्मार्टफोनबाटै खोज्छिन्। साथीहरूसँग नियमित कुराकानी गर्न उनी फेसबूक, भाइबर, स्काइप, इमो चलाउँछिन्। “सबै काम मोबाइलबाट हुने भएपछि ल्यापटपको आवश्यकता नै पर्दैन”, उनी भन्छिन्।

फोन, मेसेज र च्याट मात्र होइन, दैनिक जीवनका थुप्रै समस्या समाधान हुने भएपछि मोबाइल फोन यन्त्रबाट मित्र बन्न थालेको छ। यस्तो मित्र जसविना जीवन नै अपूरो महसूस गर्न थालिएको छ।

स्मार्टफोनको बहुउपयोगसँगै यसका प्रयोगकर्ता पनि बढेका छन्। शहर, सीमित तह र तप्कामा मात्र होइन, स्मार्टफोन आम नेपालीको आवश्यकता बनेको छ। एउटै घरमा सबैका हातमा हुने एउटै प्रविधि भनेको स्मार्टफोन नै हो।

स्मार्टफोनको प्रयोगबाट टाढा टाढाका आफन्त, मित्र नजिक भएका छन्। बिर्सिइएकाहरू सम्झ्िएका छन्। अपरिचित घनिष्ट बनेका छन्। कहिल्यै थाहा नपाएका कुराबारे साक्षात्कार हुने मौका पाएका छन्। मित्रमण्डली ह्वात्तै बढेका छन्।

इन्टरनेटको पहुँच गाउँघरमा समेत पुगेपछि स्मार्टफोनको प्रयोग विश्वका खबर सुन्न मात्र होइन, उन्नत प्रविधिको कृषिकर्ममा पनि उपयोगी हुन थालेको छ। नूनदेखि सुनसम्मको भाउ बुझन फोनकै सहारा लिन थालिएको छ।

स्मार्टफोनमा डाउनलोड गर्न सकिने विभिन्न 'एप' का सहायताले तिथिमितिदेखि लोडसेडिङको तालिकासमेत थाहा पाइन्छ। एक अध्ययन अनुसार नेपालमा फेसबूक एपपछि सबैभन्दा बढी डाउनलोड हुनेमा भाइवर र स्काइप छन्।

सन् १०१५ डिसेम्बरसम्म एक करोड ६९ लाख नेपाली इन्टरनेटको पहुँचमा पुगेको एक अध्ययनले देखाएको छ। जनसंख्याको अनुपातका हिसाबमा नेपालमा भारतभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन्। भारतमा कुल जनसंख्याको ३३.२२ प्रतिशत इन्टरनेटको पहुँचमा छन् भने नेपालमा यो संख्या ४०.६९ प्रतिशत रहेको छ।

२०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ३.३३ प्रतिशत नागरिक मात्र इन्टरनेटको पहुँचमा थिए। पाँच वर्षकै अवधिमा यो संख्या गुणात्मक रूपले वृद्धि भएको छ।

एक अध्ययन अनुसार नेपालमा ५० लाखभन्दा बढी मानिसले फेसबूक प्रयोग गर्छन्। 'एन्ड्रोइड' मोबाइलबाट फेसबूक चलाउनेको संख्या अधिक छ। नेपा हिमा ट्रेड लिंकका बजार प्रबन्धक सन्नी श्रेष्ठ भन्छन्, “फेसबूक, ट्वीटर जस्ता सामाजिक सञ्जालको प्रयोगले मोबाइलको बजार बढाएको छ।”

सेल्फी पुस्ता

स्मार्टफोनले कुराकानी मात्र होइन, तस्वीर पनि खिच्न थालेपछि क्यामेराको बजार ह्वात्तै घटेको छ। एनालगपछि डिजिटल क्यामेराले लिएको बजार एकदशक पनि टिकेन। अहिले डिजिटल क्यामेराको बजार स्मार्टफोनले लिएको छ। नेपा हिमा ट्रेड लिंकका श्रेष्ठ पहिले क्यामेरा खोज्दै पसल–पसल चहार्नेहरू अहिले राम्रो फोटो खिच्ने मोबाइल खोज्छन्। “व्यावसायिक फोटोग्राफर बाहेककालाई तस्वीर खिच्न क्यामेरा नचाहिने भइसक्यो”, उनी भन्छन्।

स्मार्टफोनकै कारण प्रयोगकर्ता 'नागरिक पत्रकार' भएका छन्। कुनै घटना–दुर्घटनाका जानकारी, भिडियो, तस्वीर फेसबूक, ट्वीटर, यूट्यूब जस्ता सामाजिक सञ्जालमा राख्ने क्रम बढ्दो छ। यसले एक ठाउँमा भएको घटना अर्को ठाउँमा बसेकालाई तत्काल थाहा हुने मात्र होइन, घटनाप्रति तुरुन्त प्रतिक्रिया जनाउन पनि सजिलो बनाएको छ। यो सबै स्मार्टफोनकै कमाल हो।

युवा पुस्तामा लोकप्रिय 'सेल्फी' ले पनि स्मार्टफोनको माग बढाएको छ। “मोबाइलमा इन्टरनेट भएन भने साहै्र छटपटी हुन्छ”, इमाडोल, ललितपुरका पवन बञ्जाडे भन्छन्। कुनै नयाँ ठाउँमा पुग्दा, तस्वीर खिचेर फेसबूकमा राख्न नपाए घुमेको अर्थै नहुने उनको अनुभव छ।

६ वर्षअघि आइफोन भित्रिएपछि मात्र नेपालमा स्मार्टफोनको बजार बढेको हो। तर, यो ६ वर्षले नेपालीको जीवनशैलीमा नसोचेको परिवर्तन ल्याइदिएको छ।

रु.१२ अर्बको कारोबार

स्मार्टफोनका प्रयोगकर्तासँगै व्यापार पनि फस्टाएको छ। नेपालमा वार्षिक रु.१२ अर्बभन्दा बढीको मोबाइल फोनको व्यापार हुने गरेको अनुमान छ।

बजार प्रतिस्पर्धाले उपभोक्ताले कम मूल्यमा रोजाइ अनुसारका स्मार्टफोन प्रयोग गर्ने सुविधा पाएका छन्। बजारमा अहिले देशभित्र र बाहिरका गरी डेढ दर्जनभन्दा बढी ब्रान्डका स्मार्टफोन बिक्री भइरहेका छन्, जसको मूल्य रु.१ हजारदेखि रु.१ लाखको हाराहारीमा छन्। ग्राहकको माग अनुसारका नयाँ मोडेलका स्मार्टफोन बजारमा भित्रिइरहेका छन्।

सोनी कम्पनीले 'एक्सपेरिया एक्स', 'एक्सपरिया एक्स ए अल्ट्रा' र 'एक्सपेरिया एक्स ए' स्मार्टफोन बजारमा ल्याएको छ। सेल्फी पुस्ताका लागि 'एक्सपेरिया एक्स ए अल्ट्रा' प्रिय बनेको छ। सोनी का यी फोनहरूको मूल्य रु.३४ हजार ५०० देखि रु.६५ हजारसम्म छ। ती स्मार्टफोन उच्च र मध्यम वर्गलाई लक्षित गरी ल्याइएको बिक्रेता नेपा हिमाले जनाएको छ।

युवा र कम आय भएकालाई लक्षित गरेर स्मार्टफोन ल्याएका छौं।

रमेश श्रेष्ठ

वरिष्ठ महाप्रबन्धक, सीजी इलेक्ट्रोनिक्स

ग्राहकहरुको इच्छा र रोजाइ अनुसार नयाँ मोडल ल्याउँदैछौं।

संगीता सिलवाल

प्रिज्म टेक्नोलोजी

स्मार्टफोनले क्यामेराको बजार कब्जा गरेको छ।

सन्नी श्रेष्ठ

बजार प्रबन्धक, नेपा हिमा ट्रेड लिंक

चौधरी ग्रुपको सीजी मोबाइल्सले हालै स्मार्टफोनको 'इओन ब्लेज गोल्ड' मोडल सार्वजनिक गरेको छ। यसको मूल्य रु.८ हजार ८८८ छ। सीजी का वरिष्ठ महाप्रबन्धक रमेश श्रेष्ठ कम आय भएका तर स्मार्टफोन चलाउन इच्छुक १४ देखि २० वर्ष उमेर समूहमा यो मोडल उपयुक्त भएको दाबी गर्छन्। भूकम्प र नाकाबन्दीका समयमा समेत सीजी ब्रान्डका स्मार्टफोनको बिक्री नघटेकाले आफूहरू उत्साही भएको श्रेष्ठको भनाइ छ।

तुलनात्मक रूपमा सस्ता स्मार्टफोनले कम आम्दानी भएकाहरू पनि आकर्षित भइरहेका छन्, जसले स्मार्टफोन सबै वर्गमा पुगेको छ। सामान्य मोबाइल सेटका प्रयोगकर्ता दिनहुँ घटिरहेका छन्।

ग्राहकको आय अनुसार नै जियोनी ले विभिन्न चार सिरिजका स्मार्टफोन बजारमा ल्याएको छ। आम्दानीको स्तरले स्मार्टफोनको आकर्षणमा कमी नआओस् भनेरै फरक–फरक मोडेलका स्मार्टफोन ल्याइएको जियोनी का बजार प्रबन्धक समिर ढुंगाना बताउँछन्। उनका अनुसार, जियोनी का 'पी, एफ, एम' र 'एस' सिरिजका स्मार्टफोन रु.६ हजारदेखि रु.८ हजारमै पाइन्छन्।

अर्को चिनियाँ ब्रान्ड हुवावे पनि बजार विस्तारमा आक्रामक देखिन्छ। नेपालमा साढे तीन वर्षअघि भित्रिएको यो ब्रान्डका चार सिरिज बजारमा उपलब्ध छन्, जसको मूल्य रु.७ हजारदेखि रु.८० हजारसम्म पर्छ। “मूल्य अनुसारका सुविधा भएका स्मार्टफोन ल्याएका छौं”, हुवावे का बजार प्रबन्धक सुमित प्रधानाङ्ग भन्छन्, “हुवावे मा सबै वर्गका उपभोक्ताको पहुँच पुगोस् भन्ने हाम्रो चाहना हो।”

त्यसो त नेपाली मोबाइल ब्रान्ड कलर्स ले पनि बजारमा राम्रो उपस्थिति जनाएको छ। अहिले कलर्स ले 'इ फिप्टिन', 'इ ट्वान्टी' र 'के थ्री' गरी तीन वटा स्मार्टफोन बजारमा ल्याएको छ। यतिबेला ग्राहकको मागका आधारमा कलर्स ले आफ्ना उत्पादनको मूल्य घटाएको टेलिटक्स का बजार प्रबन्धक निरु धौगडा बताउँछिन्। रु.१५ हजार ९९५ पर्ने कलर्स को 'के थ्री' मोडेलमा रु.३ हजार बराबरको पावर ब्यांक निःशुल्क रहेको उनी बताउँछिन्।

सबै वर्गका उपभोक्तामा स्मार्टफोनको पहुँच पुगोस् भन्ने हाम्रो चाहना हो।

सुमित प्रधानाङ्ग

बजार प्रबन्धक, हुवावे नेपाल

सामान्य फोन प्रयोगकर्ता पनि स्मार्टफोनमा आकर्षित भएकाले बजार बढेको छ।

सञ्जीव कर्माचार्य

स्टारटेक

ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीहरूले छूट र उपहारका अनेक 'स्कीम' सार्वजनिक गरिरहेका छन्। कलर्स की बजार प्रबन्धक धौगडा पनि बढी फोन चलाउनेलाई उपयोगी हुने गरी पावर ब्यांक निःशुल्क गरिएको तर्क गर्छिन्।

बर्ड मोवाइलको बिक्रेता 'ग्याजेट्स नेपाल' ले आठ मोडेलका फोन बिक्री गरिरहेको छ। त्यसमध्ये ब्याट्री बढी खपत गर्ने 'पावर ब्यांक' को मोबाइललाई मल्टीमिडियाको रूपमा प्रयोग गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक दीपक भुजेल बताउँछन्। बर्ड का फोनको मूल्य रु.६ देखि रु.१८ हजारसम्म रहेको छ।

इनफोकस ब्रान्डका स्मार्टफोनको बिक्रेता प्रिज्म टेक्नोलोजीकी संगीता सिलवालका अनुसार, इनफोकस ले 'एम एटआई' र 'एम थ्री सेभेन फाइव आई' नामक दुई प्रकारका स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको छ। “ग्राहकहरूको इच्छा र रोजाइ अनुसार नयाँ मोडेल ल्याउँदैछौं”, उनी भन्छिन्।

एकै ब्रान्डका फरक फरक मोडल बजारमा ल्याइने प्रतिस्पर्धाकै बीच वनप्लस भने अपवाद झ्ैं बनेको छ। वनप्लस को बिक्रेता 'ओलिज् स्टोर' ले वर्षमा एउटै मोडेल मात्र बिक्री गर्छ। 'ओलिज् स्टोर'का प्रबन्ध निर्देशक लोकेश ओली वनप्लस को छुट्टै बजार भएको बताउँछन्। “हाम्रो छुट्टै बजार छ, वनप्लस प्रयोग गर्नेले अरू फोन बोक्दैनन्”, उनी भन्छन्। ओलिज् स्टोरले एक महीनाअघि मात्रै 'वनप्लस थ्री' बजारमा ल्याएको छ, जसको मूल्य रु.४९ हजार ९०० रहेको छ।

सीजी इओन ब्लेज गोल्ड ।

इनफोकस।

चार वर्षदेखि माइक्रोम्याक्स का मोबाइलले पनि नेपाली बजारमा प्रभाव विस्तार गरिरहेका छन्। आधिकारिक बिक्रेता 'पशुपति ट्रेड लिंक' का बजार प्रबन्धक सुमित शर्मा रु.६ हजारदेखि रु.२२ हजारसम्मका माइक्रोम्याक्स का स्मार्टफोन बजारमा पाइने बताउँछन्। दुई–तीन महीनामै नयाँ नयाँ प्रविधिको विकास हुने भएकाले पनि स्मार्टफोनको बजार बढ्ने गरेको छ। शर्मा भन्छन्, “स्मार्टफोनको बिक्री र प्रतिस्पर्धासँगै अवैध व्यापारले पनि बढावा पाइरहेको छ।”

बजार विश्लेषण गर्ने हो भने नेपाली मोबाइल बजारमा चिनियाँ ब्रान्डले प्रभुत्व जमाइरहेको छ। पहिले चिनियाँ ब्रान्डका मोबाइल किन्न नाक खुम्च्याउने ग्राहक यसैको खोजीमा लागेको 'जेट इ' मोबाइलको बिक्रेता होराइजन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल आचार्य बताउँछन्। “चाइनिज ब्रान्ड पनि बहुराष्ट्रिय उत्पादन हो भन्ने उपभोक्ताले बुझ्िसके, त्यसैले बजारमा चाइनिज मोबाइलको दबदबा छ”, आचार्य भन्छन्। होराइजन इन्टरप्राइजेजले हालै मात्र 'जेट इ' को ब्लेड सिरिजका तीन वटा मोबाइल बजारमा ल्याएको छ।

बजारमा नयाँ ब्रान्ड आउने क्रम पनि जारी छ। आईफोनको बिक्रेता ज्योति ग्रुप अन्तर्गतको स्टारटेक ले हालै मात्र अमेरिकी ब्रान्डका तीन वटा स्मार्टफोन बजारमा ल्याएको छ। स्टारटेक का सञ्जीव कर्माचार्य स्मार्टफोनको बजार अझै वृद्धि हुने अनुमान गर्छन्। सामान्य फोन प्रयोगकर्ता पनि स्मार्टफोनमा आकर्षित भएकाले बजार बढेको उनको अनुमान छ।

comments powered by Disqus

रमझम