५ - ११ भदौ २०७३ | 21-27 August 2016

दर्शकलाई न्याय

Share:
  
प्रसिद्ध भारतीय नाटककार भीष्म साहनीको चर्चित कृति हो– माधवी। राजधानीस्थित शिल्पी थिएटरमा चलेको 'माधवी' साहनीकै नाटकको नेपाली अनुवाद हो।

पौराणिक पात्र माधवीको चरित्र पछ्याइएको नाटकको पटकथा सोझो छ। चक्रवर्ती सम्राट यायातिकी रुपवती छोरी माधवी पिताले साधुरुप धारण गरेपछि आश्रमकै जीवन बिताइरहेकी हुन्छिन्। तर, राजाबाट साधु बने पनि दानवीर यायातिको स्वभावमा कुनै फरक आउँदैन।

विश्वामित्रलाई गुरुदक्षिणाका लागि आठ सय अश्वमेध घोडा खोज्दै थकित गालव एकदिन यायातिको आश्रममा पुग्छन्। गालवलाई आठसय अश्वमेध घोडा दिन नसकेपछि यायाति छोरी माधवी नै दान दिन्छन्। चार जना चक्रवर्ती सम्राटलाई जन्म दिएपछि पनि कुमारी नै रहने बर पाएकी माधवीलाई घोडाका लागि राजा–महाराजालाई सुम्पन सक्ने उपाय पनि उनै यायातिले गालवलाई दिन्छन्।

गालव अश्वमेध घोडा खोज्दै माधवीलाई लिएर अयोध्याका राजासमक्ष पुग्छन्। चक्रवर्ती छोरा जन्मिएपछि दुई सय अश्वमेध घोडा दिने र माधवी पनि फिर्ता गर्ने शर्तमा गालव र राजा राजी हुन्छन्। एक वर्षपछि माधवीले चक्रवर्ती छोरा जम्माउँछिन् र अयोध्याबाट मुक्ति पाउँछिन्। घोडाकै लागि उनी थप दुई राजाकी पत्नी बन्छिन्। तर, अझै दुई सय घोडा बाँकी नै रहन्छन्। त्यतिञ्जेलसम्म संसारभरका राजाहरूसँग बचेका अश्वमेध घोडा केही बाढीमा बगिसकेका हुन्छन् त केही गुरु विश्वामित्र आफैंले लिएका हुन्छन्। यो थाहा पाएपछि माधवी एक वर्ष विश्वामित्रसँगै बस्न पुग्छिन्।

गालवको गुरुदक्षिणाको संकल्प पूरा भएपछि यायाति आश्रममा छोरीको स्वयंवरको तयारी गर्छन्। माधवीका पति हुन संसारभरका राजा, महाराजा, युवराज आश्रम आइपुग्छन्। तर, माधवी पिताले भने अनुसार फेरि कुमारी हुन चाहन्नन्। गालवलाई मनमा राखिसकेकी माधवी सोच्छिन्, 'अब जस्तो छु, त्यस्तै रहन्छु।' तर, गालव माधवीलाई पुनः कुमारीकै भेषमा हेर्न चाहन्छन्। माधवी आश्रम छोडेर हिंड्छिन्।

पुरातन समाजको आख्यान भए पनि आधुनिक समाजमा थुप्रै माधवीहरू पिता र पतिका लागि रुप र यौवन साट्न बाध्य छन्– नाटकको सार यही हो। निर्देशक एवं पटकथा लेखक टंक चौलागाईंको परिश्रमले नाटकलाई स्तरीय तुल्याएको छ। डेढ घण्टा लामो नाटक दर्शकलाई लामो लाग्दैन।

माधवीको भूमिकामा रहेकी अर्चना पन्थीले पहिलो नाटकबाटै आफूलाई अब्बल सावित गरेकी छन्। यायाति बनेका जीवन बराल, गालवको भूमिकामा देखिएका घिमिरे युवराजसँगै राम केसी, प्रदीप रेग्मी र सरोज अर्यालको अभिनय प्रशंसनीय छ। यसो भन्न सकिन्छ, उपन्यास 'माधवी' उपन्यासमार्फत मदनमणि दीक्षितले नेपाली साहित्यमा स्थापना गरेको मानकलाई रंगकर्मी चौलागाईंले नियाल्ने सफल प्रयत्न गरेका छन्।

प्रदीप चौधरी


हाम्रो मंगलमान

२००७ सालमा प्रजातन्त्र स्थापनाताका समाज सुधारमा लागेका काठमाडौंका युवा मंगलमान प्रधान राज्यको निशानामा परे। पोडे समुदायसँगै बसेर खाना खाएको निहुँमा उनी परिवारबाट पनि बहिष्कृत भइसकेका थिए। कारागारमै मृत्यु भए अवगाल आइलाग्ने भएपछि अन्ततः सरकारले उनलाई मुक्त गर्‍यो। तर, चरम यातनाकै कारण २०१८ सालमा ३६ वर्षकै उमेरमा मंगलमानको मृत्यु भयो।

तिनै समाज सुधारकबारे युगकवि सिद्धिचरण श्रेष्ठले खण्डकाव्य नै लेखे, 'मंगलमान'। खण्डकाव्य पढेपछि उकुसमुकुस जनगायक रामेशले साउन अन्तिम साता गीति अल्बम सार्वजनिक गरेका छन्– 'हाम्रो मंगलमान'। “मंगलमान नाम त सुनेको थिएँ तर खण्डकाव्य नै पढेपछि साह्रै मन छोयो। त्यही भएर खण्डकाव्यबाटै गीत गाएको हुँ” अल्बमका गायक, संगीतकार र प्रस्तुतकर्ता रामेश भन्छन्।

आठ वटा गीत समाविष्ट 'हाम्रो मंगलमान' रामेशको १४औं अल्बम हो। अल्बममा रामेशले ५० वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको 'नेपाली भाइ' कवितालाई पनि गीतमा उतारेका छन्। यसबाहेक बम देवान, प्रमोद हमाल, केपी पाठक र आफ्ना दुई गीत पनि अल्बममा छन्।

अल्बमलाई सार्थक जनसंगीत प्रतिष्ठानले बजारमा ल्याएको हो। ''रामेशका यी गीत सधैं झै जनता जगाउने गीत हुन्, उस्तै जोश र जाँगरले भरिएका'' प्रतिष्ठान सञ्चालक समितिका सदस्य श्याम तमोट भन्छन्।

comments powered by Disqus

रमझम