५ - ११ भदौ २०७३ | 21-27 August 2016

कुशल कथावाचक

Share:
  

अविनाशविक्रम शाह (३६) यतिबेला गद्गद् छन्। नहुन पनि किन, निर्माण थाल्नुपूर्व नै उनको फिल्म झ्यालिन्चा (सिजन अफ ड्रागनफ्लाइज्) ले लोकार्नो फिल्म फेस्टिभलबाट आठ हजार यूरो (करीब रु.९ लाख ६७ हजार) को सीएनसी पुरस्कार हात पारेको छ। फेस्टिभलमा आफ्नो फिल्मको कथासार प्रस्तुत गरेकै आधारमा उनी पुरस्कृत भएका हुन्।

''मेरो कथाको अवधारणालाई उनीहरुले स्वीकारेका छन्”, उत्साहित अविनाश भन्छन्, ''हामी सहयोग गर्छौं, यता निवेदन देऊ भनेर इमेल आइरहेको छ।'' झ्यालिन्चा मा उनले अल्पायुमै स्तन क्यान्सरबाट मृत्यु भएकी आफ्नी ठूलीआमाकी छोरीको कथा बुनेका छन्। घामकिरीलाई नेवारीमा झ्यालिन्चा भनिन्छ।

दीपक रौनियार, मीनबहादुर भाम, सुवास थापा जस्ता थोरै मात्र निर्देशकले पाएको यो सफलताबाट अविनाश हौसिएका छन्। त्यसो त वृत्तचित्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेका अविनाशका सर्ट फिल्महरुले थुप्रै देशी, विदेशी पुरस्कार पाइसकेका छन्। तर, पटकथा लेखनमा उनको खूबी विशेष मानिन्छ। कालो पोथी', हाइवे जस्ता चर्चित चलचित्र लेखकका रुपमा स्थापित अविनाशकै निर्देशनमा 'एकादेश फिल्म फेस्टिभल' पनि हुँदै आएको छ। “तर, चलचित्र निर्देशन र कथाकारका रुपमा यो स्तरको अन्तर्राष्ट्रिय सफलता पाएको पहिलो हो”, उनी भन्छन्।

ललितपुरको आदर्श विद्या निकेतनबाट एसएलसीको तयारी गरिरहेकै बेला बुबाको मृत्यु भएपछि जेठो सन्तान अविनाशमा अचानक अनेकौं जिम्मेवारी थपियो। पढाइ सँगसँगै उनी काम पनि गर्थे। स्नातकोत्तर सिध्याएपछि केही समय नेपाल पर्यटन बोर्डमा जागीरे रहँदा उनको ध्यान फिल्मतिर मोडियो। “पर्यटन बोर्डमा विदेशी फिल्मकर्मीसँग संगत हुन थालेपछि यतातिर लागें” अविनाश भन्छन्।

पछिल्लो समयका कुशल कथावाचक अविनाशको अनुभवमा मनोरञ्जन र मौलिक कथावस्तुलाई नेपाली दर्शकले रुचाउने गरेका छन्। “झ्यालिन्चा मा मैले नेपाली महिलाको सामाजिक र सांस्कृतिक स्थान नियाल्ने प्रयास गरेको छु”, उनी भन्छन्।

बच्चु विक


प्रसून प्रेक्षा

उमेर र पढाइको हिसाब गर्ने हो भने सूचनाप्रविधिमा भर्खरै बीएस्सी सिध्याएकी उनको 'करिअर' बल्ल शुरु हुनुपर्ने हो। तर, पाटन, ललितपुरकी २२ वर्षीय प्रेक्षा बज्राचार्य (परी) समयभन्दा अघि छिन्।

को हुन् त प्रेक्षा? उनी गायिका हुन्, अभिनेत्री हुन्, र्‍यापर हुन् अनि मोडल पनि। तर, यत्तिमै प्रेक्षा अटाउँदिनन्। उनी भिडियो ब्लगर हुन्, फुर्सदमा थांका चित्रकला पनि गर्छिन्।

पाटनका थांका व्यवसायी प्रकाश रत्न–मीनु शाक्य बज्राचार्यकी छोरी प्रेक्षा सानैदेखि केही फरक स्वभावकी थिइन्। स्वतन्त्र र हक्की। त्यसैले पाँच वर्षअघि यूट्यूबमा छोरीलाई पहिलोपटक देख्दा साथीहरुसँगै परिवार पनि अचम्ममा परेनन्।

प्रेक्षाका झण्डै करीब एकदर्जन अंग्रेजी 'कभर सङ' 'परी' उपनामबाट यूट्यूबमार्फत हजारौंले गुन्गुनाएका छन्। दुईवटा गीत आफ्नै पनि छन्। र्‍याप ब्याटल संस्था 'र बार्ज' ले आयोजना गरेको आफ्नै उमेरकी युवतीसँगै उनको 'लाइभ ब्याटल' पनि रोचक छ। “यम बुद्धले र्‍याप गर्दा राम्रो हुन्छ भनेपछि मैले दोस्रोचोटि सोच्दै सोचिनँ”, उनी भन्छिन्, “कविताप्रतिको रुचिले उनलाई ब्याटलमा ठूलो सहयोग पुर्‍यायो।”

प्रेक्षा यतिबेला निर्माणाधीन चलचित्र 'जात्रा' को सूटिङमा व्यस्त छिन्। र, सँगै यूट्यूबमा आफ्ना रहर बाँडिरहेकी हुन्छिन्। जस्तो कि, १ भदौमा उनले आफ्नो दैनिक मेकअपको भिडियो पोष्ट गरेकी छन्।

धेरै कुरा एकैसाथ गर्न सक्ने सानैदेखिको बानीकै कारण नै आफू सफल भइरहेको प्रेक्षाको विश्वास छ। “जे जे गरिरहेकी छु, सचेत भएर गरिरहेको छु, उनी भन्छिन्, “लाग्छ, सन्तुलन नै सफलताको सूत्र हो।”

comments powered by Disqus

रमझम