पोलिथिनको बढ्दो प्रयोगले अन्ततः मानव स्वास्थ्यमै असर पुर्याउने भएकाले सरकारले नियन्त्रणमा कडाइ गर्दै आएको छ। यसविरुद्ध विभिन्न अभियान पनि चलाइएका छन्। आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणमार्फत त १ साउन २०७३ देखि देशभर पोलिथिनका झोला प्रयोग नै निषेध गरिएको छ।
कलंकीकी प्रमिता उप्रेती पोलिथिनका झोला धेरै प्रयोग गर्थिन्। तर, यस्तो झोलाले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे जानकार भएपछि पोलिथिन प्रयोग विस्तारै घटाउन थालिन्। “किनमेलमा जाँदा सधैं बेग्लै झोला लिएर जान्छु” उनी भन्छिन्, “अरुलाई पनि पोलिथिन प्रयोग नगर्न भन्छु।” घरमा आइपुगेका पोलिथिनका झोलालाई पनि उनी पटकपटक प्रयोग गर्छिन्।
काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठ स्वास्थ्य र वातावरणका दृष्टिले घातक पोलिथिनको प्रयोग नगर्न सबैलाई आग्रह गर्नुपरेको बताउँछन्।
विकल्प विधि
पोलिथिनको प्रयोग तत्काल पूर्ण रुपमा बन्द गर्न नसकिए पनि किनमेलमा जाँदा घरैबाट झोला बोकेर जानुपर्ने दिगो विकास अभियानकर्ता सिलसिला आचार्यको सुझाव छ। “हरेकले बानी नसुधारेसम्म पोलिथिन निषेध सम्भव छैन”, आचार्य भन्छिन्।
पोलिथिन झोलाको अर्को प्रयोग भनेको भान्सामा सामान पोको पारेर राख्ने पनि हो। तर, पोलिथिनका पोकामा सामान राख्दा कीरा, साङ्ला पर्ने सम्भावना बढी हुन्छ। यसले घर सफा र सुन्दर राख्न बाधा पुगिरहेको हुन्छ।
पुराना पोलिथिन फोहोर फाल्न पनि प्रयोग गरिन्छ। तर, यस्ता फोहोरलाई कुहिने र नकुहिने छुट्याएमा पोलिथिनमा फाल्ने समस्याबाट पनि समाधान गर्न सकिन्छ। घरबाट निस्कने ७० प्रतिशत फोहोर कुहिने प्रकृतिका हुन्छन्। बाँकी ३० मध्ये २५ प्रतिशतलाई पुनः प्रयोग गर्न सकिन्छ। फाल्नै पर्ने फोहोर करीब ५ प्रतिशत मात्र हुने अभियानकर्ता आचार्य बताउँछिन्। “पोलिथिनको झोलाले फाइदा गर्दैन भनेर नबुझी सुखै छैन”, उनी भन्छिन्।
एकपटक प्रयोग गरिसकेको पोलिथिन फोहोरसँगै फाल्ने तथा जलाउने गरिन्छ। तर, त्यसरी नष्ट गर्नुको साटो पुनःप्रयोग गर्ने, पसलमै फर्काउने गर्नुपर्ने जानकारहरूको सुझाव छ।
वातावरण विभागका सूचना अधिकृत शंकरप्रसाद पौडेल पोलिथिन झोलामाथिको प्रतिबन्धका कारणबारे जनचेतना फैलाउने काम भइरहेको बताउँछन्। “प्रतिबन्ध उल्लंघन गर्नेलाई कारबाहीका लागि कानूनी कार्यविधि बनाउने तयारी पनि भइरहेको छ”, उनी भन्छन्।