९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

यस्तो पनि मुद्दा फिर्ता!

Share:
  
संघीय गठबन्धन, धनुषाले 'मधेश आन्दोलनमा सहभागी' भन्दै सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका अभियुक्तहरूको मुद्दा फिर्ता गर्न सिफारिश गरेको छ।

सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डका अभियुक्त रामविनोद यादव
२२ भदौ २०७३ मा संघीय गठबन्धन, धनुषाको बैठकले आठ जना व्यक्तिको मुद्दा फिर्ताको पहल गरिदिन संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको केन्द्रीय सचिवालयलाई आग्रह गर्ने निर्णय गर्‍यो। सबैजसो मधेशकेन्द्रित दल सहभागी गठबन्धनले 'मधेश आन्दोलन' का क्रममा झूटा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता लिइदिन निर्णय गरेका आठै जना जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया लगायतको हत्या अभियोगमा पक्राउ परेका अभियुक्त थिए।

यी आठै जना पछिल्लो मधेश आन्दोलनमा कहीं कतै देखिएका अनुहार थिएनन्। बरु, उनीहरू सञ्चार उद्यमी सिंघानिया र नेपाली कांग्रेसको बालाबाखर गाउँ विकास समितिका पूर्व अध्यक्ष राजेन्द्र यादवको हत्यामा संलग्नताको अभियोगमा पक्राउ परेका व्यक्ति हुन्। संघीय गठबन्धन, धनुषाको यस्तो निर्णयमा तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साह बाहेक आठ वटै मधेशकेन्द्रित दलका जिल्ला अध्यक्षले हस्ताक्षर गरेका छन्।

मुद्दा फिर्ताको सिफारिश गरिएकामा अहिले पुर्पक्षका लागि थुनामा रहेका रामविनोद यादव, चनरदीप यादव, जोगेन्द्र महतो कोइरी, शुभनारायण यादव, रामसुन्दर यादव, नागेश्वर साह, प्रमोदकुमार पूर्वे र कल्याणी देवी यादव छन्। अर्को संयोग के छ भने आठै जना जनकपुर बमकाण्ड गराएको अभियोगमा पक्राउ परेका निलम्बित सांसद् संजय साहका निकटस्थहरू हुन्। साहका सहयोगी समेत रहेका रामविनोद गत साउनमा जिल्ला अदालत धनुषामा उपस्थित भएका थिए।

प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका रामविनोद नाटकीय रूपमा अदालतमा उपस्थित हुँदा नै धेरैले आशंका गरेका थिए। राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का धनुषा अध्यक्ष देवकृष्ण मण्डलका अनुसार 'मधेश आन्दोलनका सहभागी' भनेर उनीहरूको मुद्दा फिर्ता गराउने निर्णय लिन साहका सहयोगी नवीन यादव सक्रिय थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर भ्रमणका क्रममा भएको जानकी मन्दिर तोडफोडमा संलग्न रहेको अभियोगमा पक्राउ परेका यादव जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए।

उम्कने प्रयास

बैठकको माइन्यूट।
मधेशी मोर्चाको केन्द्रीय सचिवालयको ३० भदौको बैठकले संघीय गठबन्धन, धनुषाले मुद्दा फिर्ताका लागि सिफारिश गरेका व्यक्तिहरू सिंघानिया हत्याका अभियुक्त रहेको भन्दै त्यस्तो पहल गर्न अस्वीकार गरेको छ। मोर्चाको यस्तो जवाफपछि बैठकको माइन्यूटमा हस्ताक्षर गरेका संघीय समाजवादी फोरम धनुषाका अध्यक्ष शेषनारायण यादव, सद्भावना पार्टीका संजय सिंह, मुश्लिम गठबन्धनका मोहम्मद इजराइल रिजवीलगायत आठ पार्टीका प्रमुखहरूले 'किर्ते हस्ताक्षर गरिएको' दाबी गरेका छन्। “मैले निर्णयमा सहमति जनाएकै हुँ, जघन्य अपराधमा संलग्न भएकाहरूलाई मुद्दा फिर्ताको लागि सिफारिश गरेर गल्ती गरेको महसूस गरेको छु”, संघीय गठबन्धन धनुषाका संयोजकसमेत रहेका रामसपा अध्यक्ष मण्डल भन्छन्, “माइन्यूटमा हस्ताक्षर गरेका अन्य दलका अध्यक्षहरू पनि त्यत्तिकै दोषी छन्। तर, दोष उजागर भएपछि आफ्नो हस्ताक्षर किर्ते गरिएको भन्दै ढाकछोप गर्न नाटक रच्नु राम्रो होइन।”

संघीय गठबन्धन, धनुषाले आन्दोलनकारीमाथि लगाइएका मुद्दाबारे भने हालसम्म कुनै निर्णय गरेको छैन। मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र भन्छन्, “आन्दोलनका क्रममा लगाइएका मुद्दाबारे कुनै निर्णय नगर्नु, जघन्य अपराधमा संलग्न अभियुक्तको मुद्दा फिर्ता गर्न सिफारिश गर्नु दुर्भाग्यपूर्ण हो।”

रामविनोद यादव, चनरदीप यादवसहित आठ जना अभियुक्तहरूमाथि लागेको मुद्दा फिर्ता लिन गरिएको गठबन्धन धनुषाको सिफारिश दुर्भाग्यपूर्ण रहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्य बताउँछन्। आचार्य भन्छन्, “आपराधिक मुद्दामा राजनीतिक रूपले केरकार हुनु भएन।”

ईश्वरचन्द्र झा, जनकपुर

comments powered by Disqus

रमझम