९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

कहिले सिक्ने कसले सिकाउने?

Share:
  
- विष्णु रिजाल
प्रधानमन्त्री पत्नीले भारत भ्रमणमा देखाएको अशोभनीय व्यवहार आलोचित बनिरहँदा हामी कूटनीतिक आचरण सिक्ने र सिकाउने अपरिहार्यतालाई बेवास्ता गरिरहेछौं।

प्रम दाहाललाई स्वागत गर्दै भारतीय समकक्षी नरेन्द्र मोदी। साथमा प्रम दाहाल पत्नी सीता ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण (३० भदौ–२ असोज) ताका एक फरक विषयमा चर्चा चुलियो। भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गर्दा प्रधानमन्त्री पत्नी सीता दाहालले देखाएको भाव–भंगिमालाई लिएर सामाजिक सञ्जालमा कटु टिप्पणी समेत भए। मोदीको पछिल्तिर हात बाँधेर उभिएकी सीताको तस्वीर सार्वजनिक भएपछि उनको यस्तो शैली–व्यवहारलाई कूटनीतिक आचरण विपरीत भन्दै चर्को आलोचना गरियो। एक ठाउँमा त उनले पतिसँगै एउटै सोफामा बस्दा चप्पल भुईंमा राखेर एउटा खुट्टा सोफामै राखेको दृश्य समेत देखियो।

मुलुकको कार्यकारी प्रमुखको राजकीय भ्रमणमा प्रथम महिलाबाट प्रदर्शित व्यवहार पक्कै पनि शोभनीय थिएन। तर, सँगै प्रश्न उठ्छ– ग्रामीण परिवेशबाट आएकी प्रधानमन्त्री पत्नीलाई मात्र दोष दिएर हाम्रा संयन्त्रहरू उम्कन पाउँछन्? राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग जोडिएका परिवारका सदस्यहरूलाई कूटनीतिक आचरण र व्यवहार सिकाउनुपर्दैन?

प्रधानमन्त्रीको टीममा काम गरेको अनुभवका आधारमा अहिलेसम्म नेपालमा त्यस्तो चलन भएको सम्झ्ना छैन। प्रधानमन्त्री सरकारी निवासमा सरिसकेपछि एक पटक नेपाली सेनाले परिवारका सदस्यहरूले सुरक्षाको दृष्टिबाट के कस्ता सावधानी अपनाउने भन्नेबारे सामान्य 'ब्रिफिङ' गर्छ। यसबाहेक प्रधानमन्त्रीका परिवारका सदस्यहरूसँग राज्यसंयन्त्रको कुनै संवाद हुने गरेको पाइँदैन। औपचारिक तथा राजकीय भ्रमणहरूमा सहभागी हुने परिवारका सदस्यहरूलाई कस्तो व्यवहार गर्ने र कसरी प्रस्तुत हुने भन्नेबारेमा जानकारी दिने संयन्त्र, अभ्यास नै छैन। सीता दाहाल त्यसकै शिकार बन्नुपर्‍यो।

कूटनीतिको हुर्मत

कूटनीतिमा कुन बेला कस्तो कपडा लगाउने, कहाँ उभिने र कसरी प्रस्तुत हुनेलगायतका विषयमा स्थापित मानकहरू छन्। पुष्पकमल दाहाल निजी भ्रमणमा गएको भए पत्नीले के गरिन् भन्ने धेरैलाई चासो हुँदैनथ्यो। उनी सार्वभौम मुलुकको प्रमुख कार्यकारीको हैसियतमा राजकीय भ्रमणमा भारत गएका थिए। संसारभरका मिडियाको ध्यान त्यहाँ केन्द्रित थियो र त्यसलाई आम नेपालीले नियालिरहेका थिए। यस्तो बेला हुने स–साना घटनालाई समेत आम मानिसले गम्भीरतापूर्वक लिन्छन् भन्ने हेक्का भेटघाटमा सरिक हुने र त्यसको चाँजोपाँजो मिलाउने दुवैले राख्न सकेनन्। परिणाम, प्रधानमन्त्री पत्नी आलोचनाको तारो बन्नुपर्‍यो।

चिनियाँ प्रधानमन्त्री वेन जियावाओ नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिष्टाचार महापाल मुक्ति भट्टले प्रधानमन्त्री बाबुराम भट्टराईलाई हात समातेरै तानेको घटना चर्चित बनेको थियो। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनका बेला 'सवारीमन्त्री' का रूपमा मिनेन्द्र रिजालले विमानस्थलमा देखाएको अशोभनीय व्यवहार पनि सर्वत्र आलोचित बन्यो।

कूटनीतिलाई देशको अनुहार संसारसामु देखाउने आधिकारिक ऐना मानिन्छ। यसको प्रभावकारिता त्यो देशको आर्थिक र सामरिक सामर्थ्यमा पनि निर्भर रहन्छ। तर, कूटनीतिक व्यवहार मुलुकलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूमा निर्भर हुन्छ। त्यही भएरै कूटनीतिक क्षेत्रलाई विशेष रूपमा हेरिन्छ र तदनुरूपको व्यवहार हुने अपेक्षा गरिन्छ। हामीकहाँ कूटनीतिमा गरिने सामान्य व्यवहारमा समेत यो हदको खेलाँची पटकपटक दोहोरिइरहेको छ।

२०६७ सालमा अमेरिकाको वासिङटन जाँदा त्यहाँस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग यस्तै सन्दर्भमा कुरा भएको थियो। विकासका क्षेत्रमा काम गरिरहेको व्यक्ति कूटनीतिमा आइपुग्दा उनलाई सामान्य कूटनीतिक आचरण र व्यवहारमा अभ्यस्त हुन समय लागेको रहेछ। राजदूत नियुक्त भएपछि उनलाई कूटनीतिमा गरिने व्यवहारबारे 'ब्रिफिङ' होला, केही दिनको सेमिनार नै होला भन्ने अपेक्षा रहेछ। नेपाल छाड्ने दिन नजिकिएपछि एक दिन उनले आफैं त्यसबारे बुझन खोज्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरूबाट जवाफ पाए– 'डाक्टरसाबलाई हामीले के सिकाउनुपर्ला र!'

देश–विदेशमा उच्च पदमा रहेर काम गरेका डा. शर्माले जसरी यसलाई 'म्यानेज' गरे, राजनीतिक नियुक्तिमा सीधै राजदूत बन्नेहरूलाई त्यो सहजता हुँदैन। कृषि विकास ब्यांकको कर्मचारी वा पार्टीको कार्यकर्तालाई राजदूत भएर जाँदा एकाएक कूटनीतिक आचरण र व्यवहारको दिव्यज्ञान मिल्दैन। देशको राजदूत भएर जाने व्यक्तिलाई के कुरा आवश्यक हुन्छ भन्नेबारे कम्तीमा साताव्यापी प्रशिक्षण दिने व्यवस्था भइदिए परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काम पाउँथ्यो, थोरै सही, मुलुकको कूटनीतिक क्षमतामा योगदान पुग्थ्यो।

कूटनीतिलाई संसारभर विशिष्टीकृत क्षेत्र मानिन्छ र त्यही अनुसार यो क्षेत्रमा काम गर्ने जनशक्ति तयार गरिन्छ। नेपालमा भने अरू क्षेत्र झैं कूटनीतिलाई पनि गञ्जागोल र राजनीतिक दाउपेचको मैदान बनाइएको छ। सुशील कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अमेरिकाका निम्ति राजदूत माग्न आएका एक 'विद्वान' लाई 'नेपालमा राजदूत पदलाई के ठानिन्छ?

अमेरिका गएर के के गर्न सक्नुहुन्छ?' भनेर सोधेका रहेछन्। गोलमटोल कुरा गरेका ती 'विद्वान' अन्तिममा 'अमेरिका नभए बंगलादेशमा भए हुन्छ' भन्दै विदा भएछन्। नेपाली राजदूतले अमेरिका र बंगलादेशमा गर्ने काममा आकाश–जमीन फरक छ। तर, राजदूत बन्न दौडिनेहरूलाई त्यसको हेक्का हुँदैन। त्यस्तै व्यक्ति राजदूत बनिरहँदा उनीहरूबाट प्रदर्शित व्यवहारले मुलुकको कूटनीतिक अभ्यासमा कस्तो योगदान पुर्‍याउला?

नेपाल इतिहासदेखि नै स्वतन्त्र र सार्वभौम मुलुक रहेकोमा हामी गर्व गर्छौं। तर, संसारसामु चिनाउन हामीले गर्नुपर्ने थुप्रै काम बाँकी छन्। हाम्रा संयन्त्रहरूलाई बदलिंदो परिस्थिति अनुरूप अद्यावधिक गर्ने र युग सुहाउँदो बनाउँदै लैजाने काममा हामी चुकिरहेका छौं। कूटनीति त्यसबाट अछुतो छैन।

comments powered by Disqus

रमझम