९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

अलैंचीको अस्थिर मूल्य

Share:
  
न्यूनतम मूल्य निर्धारण नहुँदा विभिन्न बहानामा अलैंचीको मूल्यमा आउने गिरावटले किसान मर्कामा परेका छन्।

गत वर्ष प्रतिकेजी रु.३ हजारमा बिक्री गरेका किसान यो वर्ष अलैंचीको मूल्य आधा घटेपछि निराश छन्। हरेक वर्षझैं यो वर्ष पनि बजारमा आउने बेला मूल्यमा ५० प्रतिशत गिरावट आएपछि मार परेको पाँचथर, प्राङ्बुङका अलैंची व्यवसायी देवीप्रसाद नेपाल बताउँछन्। प्रायः कात्तिक पहिलो साताभित्र बिक्री गरिसक्नुपर्ने भएकोले पनि किसानलाई घटेको मूल्यमै बेच्नुपर्ने दबाब हुने गर्छ।

अलैंचीको अस्थिर मूल्यले किसानसँगै व्यवसायीलाई पनि पिरोलेको छ। भारतले नेपाली अलैंचीमा मिसावट भएको र गुणस्तरमा ह्रास आएको आरोप लगाएपछि यो वर्ष मूल्य खस्केको व्यवसायीहरू बताउँछन्। “भारतले नेपाली अलैंचीलाई दोष लगाएपछि मूल्यमा गिरावट आएको हो” नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक नेपाल बताउँछन्।

मूल्य नतोक्दा समस्या

नेपाली अलैंचीले टे्रड मार्क (सामूहिक व्यापार चिह्न) पाएपछि तेस्रो मुलुक निर्यातको प्रक्रिया शुरू गरेको छ। पूर्वाञ्चल व्यापार प्रवर्द्धन तथा विकास केन्द्रका अनुसार देशका विभिन्न स्थानमा उत्पादन हुने अलैंची झापा र मोरङबाट भारतको सिलिगुडी, अमृतसर र दिल्लीहुँदै तेस्रो मुलुकसम्म निर्यात हुने गर्दछ। नेपालको अलैंची सीधै तेस्रो मुलुक निर्यात हुन नदिन भारतले खोट देखाएको व्यवसायी बताउँछन्।

अर्कातिर उत्पादनमा ध्यान नदिंदा गुणस्तरमा पनि ह्रास आएको व्यवसायीहरूको गुनासो छ। जस्तोसुकै अलैंची उत्पादन गरे पनि बिक्छ भन्ने भ्रमले गुणस्तरीय उत्पादनमा कमि आएको उनीहरू बताउँछन्। वरिष्ठ उपाध्यक्ष नेपाल भन्छन्, “अलैंचीमा मिसावट गर्ने, तौल बढाउन राम्ररी नसुकाउने र पानीमा भिजाउनाले पनि अलैंचीको गुणस्तर खस्किएको हो।”

किसानहरू भने ठूला व्यवसायीले इमानदारिता नदेखाउँदा अलैंचीको मूल्यमा गिरावट आएको गुनासो गर्छन्। अधिकांश जिल्लामा उत्पादन हुने अलैंची विर्तामोडमा संकलन भएर निकासी हुन्छ। ठूला व्यवसायी विर्तामोडमै बस्छन् भने अलैंची व्यवसायी महासंघको केन्द्रीय कार्यालय त्यहीं हँुदा साना व्यवसायी पनि प्रायः उतै बस्छन्। सबैको मिलेमतोका कारण अलैंची बजार नपुग्दै मूल्यमा अस्थिरता ल्याउने गरेको नेपाल किसान महासंघ, पाँचथरका अध्यक्ष गणेश पोखरेल बताउँछन्।

यो वर्ष उत्पादित अलैंची विर्तामोड नपुग्दै गुणस्तरमा दोष देखाएर मूल्य घटाएको किसानहरूको आरोप छ। किसान महासंघका अध्यक्ष पोखरेल भन्छन्, “सरकारले न्यूनतम मूल्य नतोक्दा यो समस्या आएको हो।” व्यवसायीहरू पनि सरकारले अलैंचीको न्यूनतम मूल्य तोक्नुपर्ने बताउँछन्। अलैंची व्यवसायी महासंघले पनि इन्टरनेशनल ट्रेड सेन्टरको सहयोगमा न्यूनतम मूल्य निर्धारणका लागि पहल शुरू गरेको छ।

उर्वर पूर्वी पहाड

कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार नेपालमा १३ हजार हेक्टरमा वार्षिक सात हजार टन अलैंची उत्पादन हुन्छ। ग्वाटेमाला, भारत, इन्डोनेसियापछि धेरै अलैंची उत्पादन गर्ने नेपाल चौथो मुलुक हो। पश्चिम र मध्यपश्चिमसहित देशका ३८ जिल्लामा अलैंची खेती हुने भए पनि पूर्वी पहाड यसका लागि उर्वर मानिन्छ। ताप्लेजुङमा ३ हजार ७००, संखुवासभामा ३ हजार ३००, इलाममा २ हजार ८०० र पाँचथरमा २ हजार हेक्टरमा अलैंची खेती हुन्छ।

अलैंचीबाट वार्षिक रु.६ अर्ब नेपाल भित्रिने गरेको नेपाल अलैंची व्यवसायी महासंघको तथ्यांक छ। नेपालमा उत्पादन हुने अलैंचीको मुख्य बजार भारत नै हो। महासंघका अनुसार नेपालबाट ९९ प्रतिशत अलैंची भारत निकासी हुन्छ। नेपालमा सिंहदरबार वैद्यखाना र आयुर्वेदिक औषधि बनाउने जडीबुटी कम्पनीहरूले उपभोग गर्दै आएका छन्।

झ्न्डै दुई सय वर्षअघि भारतको सिक्किमबाट इलाम र पाँचथरमा भित्रिएको मानिने अलैंचीको व्यावसायिक खेती भएसँगै यसको बजार भारतसम्म विस्तार हुनपुग्यो। यसकै लागि भारतको पटना र मिर्जापुरमा खोलेको 'अलैंची कोठी' मा नेपालबाट भरियाले बोकेरै पुर्‍याउने गरेका थिए।

पछि वि.सं.१९९० तिर मारवाडी व्यापारीहरू इलाम बजार पुगेर अलैंची संकलन केन्द्र खोले। त्यसपछि अलैंची खेतीले पूर्वी पहाडमा व्यापकता पाएको हो। अहिले रामशाही, डम्बरशाही, गोलशाही, लसुने र साउनेलगायत आठ प्रजातिका अलैंची खेती हुँदै आएको छ। समुद्री सतहबाट ७०० देखि २ हजार मिटरसम्मको उँचाइमा ७ देखि २० डिग्री सेल्सियस तापक्रम र वार्षिक १ हजार ५०० देखि ५ हजार मिलिमिटर वर्षा आवश्यक हुने अलैंचीका लागि पूर्वी र उत्तरी मोहडा भएको सेपिलो जग्गा उर्वर मानिन्छ।

अलैंची विभिन्न प्रकारका मसला, बिस्कुट, बेकरी, सुगन्धित तेल, टिञ्चर र रक्सीमा प्रयोग हुन्छ। अलैंची खेतीतर्फ किसान आकर्षित भए पनि यसमा लाग्ने रोगका कारण बगानहरू नासिंदै पनि गएका छन्। अलैंचीमा लागेको रोगका कारण बगान बेचेर बसाइँ सर्नु परेको पाँचथरको प्राङ्वुङ–४ का किसान सोमनाथ रिजाल बताउँछन्। उनले १० रोपनी जग्गामा अलैंची लगाउँदै आएका थिए।

लक्ष्मी गौतम, पाँचथर

comments powered by Disqus

रमझम