भिब्रिओ कोलेरा नामक कीटाणु शरीरमा पुग्दा हैजा लाग्ने कुरामा प्रायः सबै जानकार छौं। यो कीटाणुको संक्रमणले मानिसको शरीरबाट चौलानी पानी जस्तो पातलो दिसासँगै अत्यधिक मात्रामा लवण पदार्थ नोक्सान गराउँछ। भिब्रिओ कोलेरा शरीरमा पसेको पाँच दिनपछि यस्ता लक्षणहरू देखा पर्छ। कसैमा लक्षण देखा नपर्न पनि सक्छ। त्यस्ता बिरामीबाट निरोगी व्यक्तिहरूमा संक्रमण फैलिने सम्भावना बढी हुन्छ।
लक्षण र उपचार
भिब्रिओ कोलेराले उब्जाउने विषाक्त पदार्थले सानो आन्द्राबाट शरीरमा पानी सोसिन दिंदैन। शरीरमा पानी सोसिन नपाएपछि दिसा पातलो हुन्छ र दिसासँगै सोडियम, पोटासियम, बाइकार्बाेनेट जस्ता लवण पदार्थहरू बाहिर फ्याँकिन थाल्छ।
हैजा लागेको व्यक्तिलाई अत्यधिक पखाला लाग्ने, उल्टी हुने हुन्छ। यसै कारण बालबालिकामा छिट्टै जलवियोजन हुन्छ। झ्ाडापखालामा भन्दा हैजामा छिटो जलवियोजन हुने हुनाले समयमै उपचार नपाए संक्रमित बच्चाको मृत्यु हुनसक्छ। ओठ–मुख सुक्नु, तालु–आँखा गड्नु, रुँदा आँसु नआउनु, छाला चाउरिनु, मांसपेशी बाउँडिनु, नाडीको गति छिटो हुनु, रक्तचाप घट्नु, पिसाब कम हुँदै जानु जलवियोजनका लक्षण हुन्।
शरीरबाट अत्यधिक पानी र लवणहरू खेर जाने हुनाले जलवियोजनले वयस्कहरूको दाँजोमा बालबालिकामा चाँडो असर गर्छ। तारन्तार पातलो दिसा वा बान्ता भइरहेको बेला पानी खुवाउँदा झ्न् बढी पखाला लाग्छ भन्ने गलत धारणा व्याप्त छ। न ग्लुकोज पानी खुवाउने चलन छ न त पुनर्जलीय उपचार विधिकै ज्ञान छ। त्यसमाथि, पखालासँगै आउने ज्वरोले बालबच्चामा चाँडै जलवियोजन गराउँछ। जलवियोजनको विभिन्न अवस्था हुन्छ। आँखा रसिलो वा सुक्खा तथा गाडिएको, बच्चा रुँदा आँसु आउँछ वा आउँदैन, मुख/जिब्रो रसिलो वा सुक्खा के छ, बच्चालाई प्यास छ वा छैन, पेटको छाला तन्काएर छाड्दा चाँडै फर्कन्छ वा फर्कंदैन आदि हेरेर जलवियोजन नभएको, केही मात्रामा भएको वा चर्को जलवियोजन भएको भनेर छुट्याइन्छ।
जुनसुकै कारणले झ्ाडापखाला लागेको भए पनि शरीरबाट खेर गएको पानी र लवण परिपूर्ति गर्नु यसको प्राथमिक उपचार हो। चार महीनाभन्दा कमको बच्चालाई अन्य बेलाभन्दा बढी आमाको दूध खुवाए थप झ्ोलिलो पदार्थ नचाहिन सक्छ। आमाको दूध धेरै नभएको अवस्थामा पहिलो चार घण्टामा एक–दुई गिलास थप पानी चाहिनसक्छ। चार महीनादेखि एक वर्षसम्मको बच्चालाई झ्ाडापखाला लागेको पहिलो चार घण्टामा दुई–तीन गिलास र पाँच वर्ष मुनिको बच्चालाई ६ गिलास (एक लीटर) पुनर्जलीय उपचार चाहिन्छ।
दूषित खाना, दूषित पानी, फोहोर वातावरण, हात नधुने बानी, चर्पी प्रयोग नगर्ने चलन, बासी खानेकुरा हैजाका कारक हुन्। यसबाट जोगिन विशेषतः व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्छ। बालबालिकालाई खाना खुवाउनु अगाडि तथा दिसा गरेपछि साबुनपानीले राम्रोसँग हात धुन लगाएको खण्डमा हैजा लाग्ने सम्भावना रहँदैन। यस्तो सावधानी गर्दागर्दै पनि हैजाको शंका लागे तुरुन्त दिसा जँचाउनुपर्छ र निर्क्योल नभएसम्म शरीरबाट खेर गएको पानी तथा लवण पदार्थ परिपूर्तिका लागि पुनर्जलीय उपचार शुरू गरिहाल्नुपर्छ। यसको लागि जीवनजल र नवजीवन जल पनि सर्वसुलभ नै छ। हैजाको खास उपचारको लागि भने एन्टिबायोटिक औषधि चलाउनुपर्छ।
जिङ्कको महत्व
जिङ्कले बालबालिकाको शारीरिक वृद्धिमा सहयोग पुर्याउनुका साथै प्रोटिन पच्न र इन्सुलिन उत्पादन गर्न सघाएर रोग विरुद्ध लड्ने क्षमता विकास गराउँछ। बालबालिका र गर्भवती तथा दूध खुवाउँदै गरेका महिलालाई जिङ्क बढी आवश्यक हुन्छ। माछा–मासु र दूधका परिकार जिङ्कका स्रोत हुन्। लामो समयसम्म जिङ्कको अभाव भए शारीरिक वृद्धि नहुने, खानाको स्वाद नआउने, घाउचोट निको हुन ढिलो हुने जस्ता समस्या देखा पर्छ। जिङ्कको अभावले कलेजोको रोग, रक्तअल्पता, मुुटुमा असर पनि निम्त्याउन सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १० देखि १४ दिनसम्मका शिशुमा पखाला रोकथाम गर्न र जलवियोजनबाट हुने मृत्युको जोखिम घटाउन पुनर्जलीय उपचारसँगै जिङ्क सेवन गराउने सल्लाह दिएको छ। १० मिलिग्रामको जिङ्क चक्की १० देखि १४ दिनसम्म खुवाए शिशुको पखाला घट्ने र पुनः पखाला लाग्ने सम्भावना पनि कम हुन्छ। ६ महीनादेखि पाँच वर्षसम्मका नानीहरूमा पखालाका जटिलता कम गर्न जिङ्क चक्की निकै उपयोगी सावित भइसकेको छ।