९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

ढकमक्क घर

Share:
  
घरलाई सधैं सुन्दर देखाउने हो भने मौसम र माटो सुहाउँदो फूल रोप्नुपर्छ।

रासस
फूलको महत्व कुनै विशेष समारोह, बधाई, शुभकामना र प्रेम प्रकट गर्नमा मात्र सीमित छैन। अर्थात् फूलको सुन्दरताले कुनै अवसर वा समय माग गर्दैन। त्यसैले पनि घरमै फूल रोप्ने गरिन्छ। सके, सानो बगैंचा समेत तयार गरिन्छ। यसले घरको सुन्दरता पनि बढाउँछ। तर, घरमा कुन मौसममा कस्तो फूल लगाउने? धेरैलाई थाहा नहुन सक्छ।

वनस्पतिविद् कमल मादेन सानो ठाउँमा धेरै प्रजातिका फूल लगाउने सोच गलत भएको बताउँछन्। “जग्गाको क्षेत्रफल र मौसमको अनुकूलता अनुरुप फूलका प्रजातिको छनोट गर्नुपर्छ”, उनी भन्छन्।

एसआर नर्सरी प्रबन्धक सुनिल लामा पनि जग्गा अनुसार नै बगैंचाको डिजाइन गर्नुपर्ने बताउँछन्। फुल्ने तथा नफुल्ने धेरै प्रकारको फूल उपलब्ध भए पनि गार्डेनमा सबै फूल रोप्न संभव नहुने बताउँदै उनी भन्छन्, “छोटो आयुका मौसमी फूल वा एक पटक फुल्ने तर वर्षभरि रहने फूल पनि रोप्न सकिन्छ।

कस्ता फूल रोप्ने?

फूलबारी बनाउँदा धेरै हेरचाह गर्नु नपर्ने प्रकारका फूल छनोटमा विचार पुर्‍याउनुपर्छ। कतातिर फूलबारी बनाउने भन्ने कुराले पनि धेरै अर्थ राख्छ। घाम लाग्ने ठाउँमा रोपेका फूल राम्ररी फस्टाउँछन्। माटो मलिलो हुनुपर्छ। कहाँ कस्तो फूल रोप्ने, कहाँ गमला राख्ने, कति ठाउँ खुला छाड्ने भन्नेबारे होश पुर्‍याउनुपर्छ।

राजधानीको बाँसबारीस्थित द स्ट्यान्डर्ड नर्सरीका सुरेशभक्त श्रेष्ठ सुन्दर र मन रम्ने फूलबारी बनाउन ठाउँ र हावापानी पनि ख्याल नराखी नहुने बताउँछन्। बजारमा मौसम अनुसारका फूलका बिरुवा पाइन्छन्। फूल नफुल्ने आकर्षक बिरुवा पनि छान्न सकिन्छ। धेरैजसोको रोजाइमा मौसमी फूल पर्ने भए पनि केहीको चाहना बहुवर्षे फूलमा पनि देखिन्छ।

वनस्पतिविद् मादेन भने नेपालमा लगाइने अधिकांश मौसमी फूल विदेशबाट आयात गरिएको बताउँछन्। उनका अनुसार, राजधानीका अधिकांश ठाउँका बगैंचा आयातीत उन्नत जातका फूलहरूले भरिएका छन्।

गर्मीमा सयपत्री, एस्टर, मेटामपोडियम, साल्भिया, सिलोसिया, प्रोटुलाका, रुडबेकिया लगायतका फूल लगाउन सकिन्छ भने जाडोमा बेल्लिज, एक्युलेजिया, डेल्टीनियम, गजानिया, प्रिमुला, भाओला, निकोटियानिया, ट्यान्सीलगायत। बहुवर्षे बिरुवामा काइयो, असारे, रुख कमल लगायत रोज्न सकिन्छ। लहरा हुने, साना बिरुवा, गमलामा रोप्न मिल्ने फूल पनि छान्न सकिन्छ।

त्यसो त जिरानियम, गुलाब, डेलिया, लालुपाते, ग्लाडुअस लगायतका फूलमा पनि चाख घटेको छैन। नीलो, हल्का पिङ्क, वैजनी जस्ता शान्त रङ तथा रातो, सुन्तला, पहेंलो लगायतका रङ फूल फुल्ने बिरुवामा धेरैको चासो हुने गरेको छ। मादेन बगैंचामा रोजमेरी, पुदिना, सल्लेरी, जंगली धनियाँ जस्ता बहुउपयोगी हुने बिरुवा पनि रोप्न सकिने सुझाउँछन्।

फूल रोप्दा दुई फूलबीच दूरी ख्याल राख्नुपर्छ। यो दूरीको निर्धारण फूलको उँचाइबाट लगाउन सकिन्छ। मौसमी फूलका लागि हेरचाह गरिरहनुपर्छ। फूलसँग उम्रने झार हटाइराख्नुपर्छ। झारका कारण फूलमा रोग लाग्ने सम्भावना हुन्छ। समय–समयमा गोडमेल, मलजल गरिराख्नुपर्छ। दिनहुँ नभई बिरुवाको आवश्यकता अनुसार मात्र पानी राख्नुपर्ने सुरेशभक्त श्रेष्ठ बताउँछन्।

सविता

comments powered by Disqus

रमझम