९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

चर्चाको भोक

Share:
  
- शिव मुखिया
आत्मसन्तुष्टिकै लागि म्यूजिक भिडियोमा लाखौं लगानी गर्ने प्रवृत्ति बढेको छ।

सञ्जय तुम्रोक।
लगानी अनुसार प्रतिफल, अर्थशास्त्रको सामान्य नियम हो। तर, नेपालमा बनिरहेका म्यूजिक भिडियोको हकमा यो लागू हुँदैन। नाफा त परै जाओस्, लगानी समेत उठ्दैन।

डेढ सय जति म्यूजिक भिडियो निर्देशन गरिसकेका शैलेन्द्र खोकालीका भनाइमा, “एउटा म्यूजिक भिडियो निर्माणमा रु.१५ हजारदेखि रु.३ लाखसम्म लाग्छ।” प्रति म्यूजिक भिडियोको औसत बजेट चाहिं रु.६० हजार हो। यसमा प्रि–प्रोडक्सनदेखि सम्पादनसम्मको मूल्य समावेश छ।

अनौठो त के भने, यतिका लगानी गरेर बनाइने म्यूजिक भिडियोबाट स्वयं लगानीकर्ता नै मुनाफाको आश गर्दैनन्। किन त?

“म्यूजिक भिडियोमा लगानी गर्नु भनेको सोख पूरा गर्नु हो”, गायक खेम रिसाल भन्छन्, “त्यसैले नाफा–नोक्सानको हिसाब नै हुँदैन।” टेलिभिजनकर्मी हुँदै ज्वेलरी व्यवसायमा छिरेका रिसालले एक वर्षमा रु.२ लाख खर्च गरी दुई वटा म्यूजिक भिडियो बनाएका छन्।

गायक सञ्जय तुम्रोकका लागि पनि म्यूजिक भिडियो रहरकै लगानी हो। आफ्नो 'सेवारो' अल्बमको म्यूजिक भिडियो बनाउन उनले रु.३ लाख ५० हजार खर्चिए। महेन्द्र पुलिस क्लब अन्तर्गत संगीत विभागमा कार्यरत तुम्रोक दरबारमार्गको मालिङ्गो रेस्टुरेन्टमा पनि गाउँछन्। “म्यूजिक भिडियोले आत्मसन्तुष्टिबाहेक केही दिंदैन भन्ने थाहा छ, तैपनि लगानी गर्न छाडेको छैन”, उनी भन्छन्।

थरीथरीका लगानीकर्ता

सामान्यतः म्यूजिक भिडियोका लगानीकर्ता सम्बन्धित गीतका गायक/गायिका वा अल्बम उत्पादक कम्पनी हुने गर्छन्। तर, नेपालमा म्यूजिक भिडियोमा अनुहार देखाउनकै लागि गायक बन्ने प्रवृत्ति पनि बढेको छ। कथित मोडल आफैंले अरुको गीतमा लगानी गर्ने चलन पनि झाङ्गिएको छ। शहरमा थुप्रै तन्नेरी छन्, जो पैसाकै भरमा मोडल बन्न चाहन्छन्।

आफूलाई चिनाउनका लागि आफैं लगानी गर्नुमा केही खराबी छैन।

जीवन, मोडल

अभिनयका सोखिन जीवन आधा दर्जन भिडियोमा आफैंले लगानी गरी अभिनय गरेको हाकाहाकी बताउँछन्। “आफूलाई चिनाउनका लागि आफैं लगानी गर्नुमा केही खराबी छैन”, उनी भन्छन्। त्यसो त अहिले आफ्नै लगानीबाट स्थापित हुने र पछि अरुले आफूमाथि लगानी गर्ने उनको विश्वास छ।

कतिपय चाहिं महिला मोडलसँग 'स्त्रि्कन सेयर' गर्ने मनोकांक्षामा लगानी गर्न तम्सन्छन्। प्रियंका कार्की, वर्षा शिवाकोटी, सम्पदा बानियाँ जस्ता अहिलेका चर्चित मोडल, अभिनेत्रीसँग अभिनय गर्ने मोह उनीहरूमा देखिन्छ। ती लगानीकर्ता म्यूजिक भिडियोमा लगानी मात्र गर्दैनन्, मोडल र निर्देशकसमेत आफैं छनोट गर्छन्। यस्ता मोडल वैदेशिक रोजगारीबाट आएकाहरू बढी हुने गरेका छन्।

म्यूजिक भिडियोमै सही, मोडलसँग रोमान्स गर्नेहरूमा स्वदेशमै पैसा कमाएका तर नाम नसुनिएका पनि प्रशस्त छन्। “कति त घरजग्गा वा बस्तुभाउ बेचेर समेत म्यूजिक भिडियो खेल्न आएका छन्”, निर्देशक शैलेन्द्र खोकाली भन्छन्।

यसबाहेक यस्ता लगानीकर्ता पनि हुन्छन्, जो आफूलाई भिडियोमा देखाउन चाहँदैनन्। आफ्नो प्रेमी/प्रेमिकाको रहर पूरा गरिदिन उनीहरू चूपचाप पैसा खर्चन्छन्। 'डेब्यु' निर्देशक आफ्नै लगानीमा आफैं मोडल बनेका म्यूजिक भिडियो पनि थुप्रै छन्।

मालामाल अभिनेत्री

'नाम र दाम'का लागि आफूखुशी म्यूजिक भिडियो निर्माण गर्नेहरूले उनीहरूकै शब्दमा 'सन्तुष्टि' पाएका छन्। तर, कतिपयका लागि यो लगानी 'सुनको फूल पार्ने अन्डा' बनेको छ।

जस्तो कि, मोडल सम्पदा बानियाँ दिनहुँ बन्ने यस्ता म्यूजिक भिडियोबाटै मालामाल छिन्। उनी जस्तै केही मोडल छन्, जसको आम्दानी चलचित्रकी नायिकाभन्दा बढी छ।

रोचक कुरा चाहिं के छ भने, चलचित्रमा अभिनेताको तलब बढी हुन्छ, तर त्यसको ठीक उल्टो, म्यूजिक भिडियोमा महिला मोडलमा बढी लगानी गर्नुपर्छ। यसका पछि तिनै रहरका लगानीकर्ताको भूमिका महत्वपूर्ण छ। सामान्यतः एउटी महिला मोडलले एउटा म्यूजिक भिडियो वापत रु.८ हजारदेखि रु.५० हजारसम्म लिने गर्छन्। चल्तीका अभिनेत्रीलाई म्यूजिक भिडियोमा अभिनय गराउन समय मात्र कुर्नुपर्दैन, पैसा पनि उत्तिकै खर्चनुपर्छ।

म्यूजिक भिडियोमा लगानी भनेको सोख पूरा गर्नु हो। त्यसैले नाफा–नोक्सानको हिसाब नै हुँदैन।

खेम रिसाल, गायक

म्यूजिक भिडियोमा गरिएको लगानीले महिला मोडल मात्र होइन, निर्देशक र प्राविधिकको पनि खल्ती भरिन्छ। यसरी खल्ती भर्नेमा सञ्चारकर्मी भूषण दाहाल, सुरजसिंह ठकुरी, सुरज श्रेष्ठ, क्यामरापर्सन विदुर पाण्डेलगायतका छन्।

प्रदर्शनमै 'सिन्डिकेट'

चर्चा कमाउन म्यूजिक भिडियोमा लगानी गर्नेहरूलाई पनि सहज भने छैन। अर्थात् म्यूजिक भिडियोमा आफ्नो अनुहार देखाउँदैमा चर्चाले पछ्याउँदैन। यसका लागि चल्तीका टेलिभिजनले प्रोमो र भिडियो देखाउनुपर्छ। यसका लागि त्यहाँ कार्यरत सञ्चारकर्मी र प्राविधिकलाई 'रिझाउनु' पर्छ।

यसो हुनुमा अधिकांश सञ्चारमाध्यमका मनोरञ्जन 'बिट' हेर्ने सञ्चारकर्मी स्वयं म्यूजिक भिडियोका निर्देशक हुनु पनि हो। उनीहरूले आफू काम गर्ने सञ्चारमाध्यममा भिडियो र यससम्बन्धी सामग्री प्रसारण/प्रकाशनसँगै आफ्नो सञ्जालबाट व्यापक 'पब्लिसिटी' को प्रलोभन पनि देखाउँछन्। गायक तथा मोडल शान्तिम कोइराला भन्छन्, “उनीहरूले आफू संलग्न म्यूजिक भिडियो मात्र प्रसारण वा प्रकाशित गर्छन्, अरुलाई वास्तै गर्दैनन्।”

“म्यूजिक भिडियो बनाउनुभन्दा गाह्रो त्यसको प्रचार गर्नु छ”, गायक सावनदेव श्रेष्ठको अनुभव छ। उनले झन्डै रु.२ लाख खर्च गरी समलिङ्गी महिलाको प्रेम कथामा आधारित म्यूजिक भिडियो बनाए। “तर, कुनै टेलिभिजनले पनि भिडियो प्रसारण गरेन, लगानी डुब्यो”, उनी भन्छन्। त्यसो त अचेल यूट्यूबले भिडियो सार्वजनिक गर्न सघाएको छ। यूट्यूबमा 'अपलोड' गरिने यस्ता भिडियोले लाखौं दर्शक पनि पाएका छन्। तर, यसले लगानी सुनिश्चित गर्दैन। गायक सञ्जय तुम्रोक यूट्यूबबाट दर्शकका आधारमा पैसा आउँछ भने पनि नेपाली कलाकारका लागि अहिलेसम्म यो 'हल्ला' मै सीमित रहेको बताउँछन्।

comments powered by Disqus

रमझम