९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

टाढाको माया

Share:
  
क्षेत्रीलाई जगदम्बाश्री र जोशीलाई मदन पुरस्कार

४ असोज राति अबेरसम्म साहित्यकार लीलबहादुर क्षेत्रीलाई निद्रा परेन। कारण थियो, जगदम्बाश्री पुरस्कारको घोषणा। क्षेत्रीले त्यसैदिन आफूले यो सम्मान पाएको थाहा पाएका थिए। र, उनलाई टाढाटाढाबाट बधाई आइरहेको थियो।

''खुशीले निद्रा नलागेको होला। शरीर बूढो भए पनि खुशी बूढो हुँदोरहेनछ'', भारतको असम, गुहाटीस्थित घरबाटै हिमाल सँगको कुराकानीमा क्षेत्रीले भने, ''माया मारेका रहेनछन् भनेरै खुशी लाग्यो।''

६० वर्षअघि बसाइँ उपन्यास लेखेर नेपाली र नेपालीभाषीमाझ लोकप्रिय बनेका क्षेत्रीले त्यसयता अतृप्त, ब्रह्मपुत्रको छेउछाउ, तीन दशकः बीस अभिव्यक्ति, दोबाटो, असममा नेपाली भाषाको साह्रो–गाह्रो, लीलबहादुर क्षेत्रीका कथाहरू लगायत दर्जन भन्दा बढी कृति लेखेका छन्। ब्रह्मपुत्रको छेउछाउ का लागि उनले दुईदशकअघि नै भारतीय साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। तर, बसाइँ ले उनका सबै कृति ओझ्ोलमा पारिराख्यो। नेपालमा मदन पुरस्कार पुस्तकालयले २०१४ सालमा छापेको बसाइँ को ख्याति अहिले पनि उस्तै छ। बसाइँ को पहिलो संस्करण भने बनारसमा छापिएको थियो।

लीलबहादुर क्षेत्री।

२००६ सालमा शिवस्तुति मार्फत लेखनयात्रा थालेका ८४ वर्षीय क्षेत्री यतिबेला अस्वस्थ छन्। जगदम्बाश्री पुरस्कार थाप्न काठमाडौं आउने मनस्थिति बनाएका उनी भन्छन्, ''मसँग समय कम छ।”

जगदम्बाश्रीसँगै घोषणा गरिएको २०७२ को मदन पुरस्कार ऐना कथासंग्रहका लागि रामलाल जोशीलाई प्रदान गरिने भएको छ। “यो मेरा लागि खुशी मात्र होइन, गौरवमय क्षण हो”, जोशी भन्छन्। सुदूरपश्चिममा बसेर साहित्य सृजनामा लाग्दा मदन पुरस्कारजस्तो सम्मानित पुरस्कार पाइएला भन्ने नसोचेको बताउँदै उनी भन्छन्, “यसले सिङ्गो सुदूरपश्चिम पुरस्कृत भएको ठानेको छु।”

डोटीको कानाचौरमा २०३३ मा जन्मिएका जोशी दुई दशकयता कैलालीको धनगढीमा बस्दै आएका छन्। सात वर्षको उमेरमा बुवाको मृत्यु भएपछि आमा तुलसीदेवीले खेप्दै आएको दुःख, कष्ट, गाह्रो–साह्रोलाई नजिकबाट महसूस गरेका उनले ऐना मा पनि प्रत्यक्ष/अप्रत्यक्ष तिनै पीडा समेटेका छन्।

रामलाल जोशी।

बुवाको डायरीमा भेटेको विद्यार्थी रानी कविताबाट प्रभावित भई लेखनीमा लागेका उनको २०५७ मा हत्केलामा आकाश गजल संग्रह प्रकाशित भएको थियो। सुदूरपश्चिमको साहित्यिक वृत्तमा गजलकारका रुपमा चिनिएका जोशी ऐना मार्फत कथाकार बन्दा धेरै छक्क परेका थिए।

रानी जगदम्बाले २०१२ सालमा स्थापना गरेको मदन पुरस्कार पहिलोपटक २०१३ सालमा 'हाम्रो लोक संस्कृति' कृतिका लागि संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो। २०४५ सालमा रानी जगदम्बाको मृत्यु भएपछि उनकै स्मृतिमा जगदम्बाश्री पुरस्कार स्थापना गरिएको हो। मदन पुरस्कार गुठीले प्रदान गर्ने यी दुई पुरस्कारमध्ये नेपाली भाषा, संस्कृति, साहित्यलगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई जगदम्बाश्री र वर्षभरि प्रकाशित कृतिमध्ये एकलाई मदन पुरस्कार प्रदान गरिन्छ।

बच्चु विक

comments powered by Disqus

रमझम