९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

'यो आस्था र विश्वासको आगो हो'

Share:
  

२०३८ सालदेखि पत्रकारितामा होमिएका हरिहर विरही नेपाल पत्रकार महासंघको सभापति (२०५१) र प्रेस काउन्सिल नेपालको अध्यक्ष (२०५५) समेत बने। पत्रकारितामा आउनुअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनै विरहीको ६ असोजमा आत्मसंस्मरण 'आगो निभेको छैन' पुस्तक बजारमा आएको छ।

बिक्रम राई
हरिहर विरही, वरिष्ठ पत्रकार
वर्षौंदेखि लेखिरहनु नै भएको थियो, पुस्तक नै निकाल्नुपर्ने आवश्यकता चाहिं किन पर्‍यो?

मूलतः म राजनीतिक क्षेत्रमा बढी संलग्न थिएँ। पत्रकारितामा लागेको त लोकतान्त्रिक आन्दोलनलाई बल पुर्‍याउन र त्यसमा प्रेस स्वतन्त्रतासहित नागरिकका सम्पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ भनेर हो। अहिलेको परिवर्तन आउनुका पछाडि धेरैको भूमिका छ भन्ने नयाँ पुस्ताले थाहा पाओस् भनेर पुस्तक निकालेको हुँ। जनताको बलमा आएको परिवर्तनलाई स्थायित्व दिएर नागरिकका आवश्यकता पूर्ति गर्नेतर्फ नेताहरू गम्भीर हुनुपर्छ भन्ने सन्देश पनि दिन खोजेको छु।

'आगो निभेको छैन' भन्नुको अर्थ चाहिं के हो?

लोकतन्त्र र सामाजिक न्यायप्रतिको मेरो प्रतिबद्धता पहिलेदेखिकै हो। पंचायती व्यवस्था, लोकतन्त्रहुँदै गणतन्त्र आयो। तर पनि नागरिकका कतिपय समस्या यथावत् छन्। आन्दोलनकारीहरू नै सत्तामा पुगेपछि जुन रुपमा प्रकट भए, त्यसले जनतामा खिन्नता छायो। म पनि खिन्न छु तर निराश छैन। त्यसैले पनि किताबको नाम 'आगो निभेको छैन' राखेको हुँ। लोकतन्त्रप्रतिको दियो बलिरहोस् भन्ने चाहनाले पनि यो नाम रोजेको हुँ। आगो भनेको मेरो आस्था हो, विश्वास हो। जुन धिप्धिप् गरेर पनि बलिरहन्छ।

यो नाम नयाँ पुस्तामाथिको मेरो भरोसा पनि हो। वस्तुवादी, क्षमतावान र प्रतिभाशाली नयाँ पुस्ताप्रति मलाई पूरा विश्वास छ।

राजनीति गर्छु भन्ने तपाईं पत्रकार बन्नुभयो। राजनीतिप्रति वितृष्णा थियो या पत्रकारिताप्रतिको आकर्षण?

राजनीतिप्रति वितृष्णा थिएन र छैन। परिवर्तनको सबैभन्दा ठूलो शक्ति राजनीति नै हो। तर, त्यो बेलाको राजनीति पूर्ण स्वतन्त्र भएको भए म पत्रकारितामा लाग्ने पनि थिइनँ। निर्दलीय सरकारले गरेको धाँधली त छँदै थियो। तर, जनतामा पर्याप्त चेतना भएको भए २०३६ सालको जनमत संग्रहबाटै बहुदल आउँथ्यो। चेतनाकै कमीका कारण २०१७ सालमा लोकतन्त्र खोसिंदा पंचायती व्यवस्था त्यति लामो समयसम्म टिक्यो। म पत्रकारितामा लाग्नु जनमत निर्माणकै लागि थियो। फेरि मेरो पत्रकारितालाई समाजले पनि मन परायो।

देशमा प्रजातन्त्र पुनर्स्थापना गर्ने ध्येयका साथ कांग्रेस विचारधारा समातेर लामो समयसम्म तपाईंसहित एउटा पुस्ता पत्रकारितामा होमिनुभयो। के पाउनुभयो? के गुमाउनुभयो?

बेकारमा लागेछु भन्ने महसूस कहिल्यै भएन। मेरा धेरै साथीले लोकतन्त्र देख्न पाएनन्, परिवर्तन देख्न पाएनन्। मैले जनताले अधिकार पाएको देख्न र सहभागी हुन पाएँ। यो नै मेरो जीवनको उपलब्धि हो, गुमेको केही छैन।

मूल्य र मान्यताको राजनीतिक पुस्ताको संसर्गमा हुर्किनुभएको तपाईंलाई अहिलेको राजनीतिले सन्तोष दिन्छ त?

दिंदैन। दलहरूले सबै कुरा बिगारे भन्न खोजेको होइन। तर नेताहरू सुधि्रएको भए देशमा धेरै सुखद् परिणाम आइसक्थ्यो। इमानदार र असल कार्यकर्ताको अभावमा पार्टी बिग्रेका होइनन् बरु नेताहरूले उनीहरूलाई चिन्न नसकेका हुन्।

पुस्तकमा बीपी कोइरालालाई कुनै कमजोरी नै नभएको नेताका रुपमा परिभाषित गर्न खोजिएको भन्ने टिप्पणी सुनिएको छ नि?

मैले बीपीको कमजोरी लेख्दै नलेखेको होइन। बीपीको राष्ट्रिय मेलमिलापको नीतिप्रति मैले खोट औंल्याएको छु। उहाँको मात्रै होइन, किसुनजी, मनमोहन अधिकारी, राजा वीरेन्द्र, ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइरालालगायतका पनि कमजोर पक्ष उल्लेख गरेको छु। तर, सबैका कमजोरी मात्रै राखौं भन्ने मेरो किताबको उद्देश्य होइन।

'बम माग्दा कलम' शीर्षकमा बीपी कोइरालाको 'पत्रकारहरू कि बिकेका छन्, कि डराएका छन् वा कहीं न कहींबाट परिचालित छन्' भन्ने बुझ्ााइ रहेको भन्नुभएको छ। त्यसलाई कसरी बुझ्ने?

बीपीको त्यो सोचाइ, तत्कालीन परिस्थितिमा पत्रकारहरूको भूमिकाप्रतिको आलोचना थियो, कि निरंकुश राजतन्त्रलाई बल पुर्‍याउने कि दूतावासबाट सञ्चालित पत्रकार भए भन्ने उहाँको गुनासो थियो। स्वतन्त्र, आँटिलो पत्रकारिता भएन भनेर बीपी आफैं पत्रिका प्रकाशन गर्न तम्सिनुभयो। जसको सम्पादकीय जिम्मेवारी मलाई र पुरुषोत्तम बस्नेतलाई दिनुभएको थियो।

अहिलेका नेताहरू आफू अनुकूल कुरा आएन भने पत्रिकामाथि लाञ्छना लगाउँछन्। पीत पत्रकारिता भयो भन्छन्। तर, बीपीले पत्रकारको गल्ती औंल्याउने, सुधार्न प्रयत्न गर्नुहुन्थ्यो, पत्रकारिताको विश्वसनीयता गिराउने काम गर्नुहुँदैनथ्यो। बीपी आफैंले पैसा दिएर आफ्नो आलोचना गर्न लगाउनुभयो, समीक्षा पत्रिकामा।

लामो समय मिसन पत्रकारिता गर्नुभयो। अहिले पनि यसको आवश्यकता देख्नुहुन्छ?

आज हिजोको जस्तो पत्रकारिताका लागि राजनीति र कानूनी अवरोध छैन। प्रेस स्वतन्त्रता छ। त्यसैले मिसन पत्रकारिताको आवश्यकता छैन। व्यावसायिक पत्रकारिता फस्टाउने प्रशस्त आधार तयार भएका छन्। पाठकको क्रयशक्ति बढेको छ, विज्ञापनदाता बढेका छन्।

प्रस्तुतिः सन्त गाहा मगर

comments powered by Disqus

रमझम