९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

झुम्की ढर्रा पुरानै

Share:
  

सरकार–माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला एक जना प्रहरी सहायक निरीक्षकको प्रेम–आसक्तिले निम्त्याएको परिघटनाबाट फिल्म झुम्की को कथा अघि बढ्छ। तर फिल्मको मूलकथा प्रेम नभई बदला हो। यौनतुष्टिका लागि थारु युवतीसँग खेलवाड गर्ने प्रहरी अधिकृतसँगको बदलाको उतार–चढावले फिल्मलाई फनफनी घुमाएको छ, जसको केन्द्रमा नारी अस्तित्व–रक्षा छ।

अपिल विष्टको 'डेब्यु' निर्देशन हो, झुम्की। तर, 'स्टार भ्यालु' बोकेका अभिनेता दयाहाङ राई, भोलाराज सापकोटादेखि निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेतको उपस्थितिले फिल्म परिपक्व बनाएको छ। तर, फिल्ममा उनीहरूको भूमिका सहायक मात्र छ।

माओवादी प्रभावित मध्यपश्चिमको थारु बस्ती पुगेका प्रहरी गोकुल भट्ट (मनोज आरसी) माथि छोरीचेली दुर्व्यवहारको आरोप लाग्छ। गाउँलेले प्रहरी कार्यालय घेराउ गर्छन्। 'संवेदनशील घडीमा प्रहरी सेवाको बदनाम' गरेको आरोपमा उनी विभागीय कारबाहीमा पर्छन्।

विना कसूर सजाय भोग्नु परेपछि हारगुहार माग्दै गोकुल आफ्नै जिल्लावासी प्रहरी अधिकृतकहाँ पुग्छन्। संयोगले उसले देवकी (रिश्मा गुरुङ) लाई देख्छ। देवकी जसलाई दुर्व्यवहार गरेको आरोपमा उसमाथि कारबाही गरिएको हुन्छ। प्रहरी अधिकृतले आश्वासनका साथ गोकुललाई अर्को दिन घर निम्त्याउँछन्। तर, जब ऊ त्यहाँ पुग्छ, ती प्रहरी अधिकृतको हत्या गरिसकिएको हुन्छ।

घटनामाथि छानबीन भइरहेको बेला गोकुलले देवकीको थैलो फेला पार्छ, र त्यसैलाई लिएर बेतोडले घर पछाडिबाट भाग्छ। अब आफ्नै प्रहरी अधिकृतको हत्याको आशंकामा ऊमाथि नै अनुसन्धान केन्द्रित हुन्छ। महिलालाई भोग्या ठान्ने प्रवृत्तिविरुद्ध अवोध किशोरीको मनमा उठ्ने ज्वारभाटाले कथालाई डोर्‍याएको छ।

झुम्की को सबल पक्ष भनेको द्वन्द्वकाल र थारु समाजको सजिव चित्रण हो। उनीहरूको रहनसहन, बोलीचाली कतै कृत्रिम लाग्दैन।

थारु युवतीको चरित्रमा रिश्मा गुरुङको अभिनय स्वाभाविक लाग्छ। कबड्डी र कबड्डी कबड्डी बाट चर्चा कमाएकी उनी यो फिल्ममा गाउँले तर विद्रोही बनेकी छन्। पूर्व मिस नेपाल मलिना जोशीले यही फिल्मबाट 'डेब्यु' गरेकी छिन्। लामो समय रजतपटमा संघर्ष गरे पनि खासै चिनारी बनाउन नसकेका मनोजलाई अन्ततः यो फिल्मले न्याय गरेको छ।

झुम्की को कथा नयाँ होइन, न त कथावाचन शैलीमा नै कुनै प्रयोग गरिएको छ। थारु युवतीप्रति आसक्त प्रहरीको प्रेम पनि कतिपय सन्दर्भमा अस्वाभाविक लाग्छ। सिनेमाटोग्राफी सशक्त छैन। यति हुँदाहुँदै पनि फिल्म हेर्नलायक भने बनेको छ।

शिव मुखिया

comments powered by Disqus

रमझम