९-१५ असोज २०७३ | 25 Sep - 1 Oct 2016

निर्बन्ध नानी

Share:
  

सिन्धुपाल्चोकबाट अध्ययनको सिलसिलामा काठमाडौं टेकेपछि अधिकांश विद्यार्थी झै नानी थापाका मनमा पनि अनेक सपना थिए। तर, नानी त्यसमध्ये पनि दुर्लभ ठहरिइन्। कारण, उनका धेरै सपना पूरा हुने क्रममा छन्।

राजधानीमा नानीको परिचय एउटै छैन। 'मिस हेरिटेज इन्टरनेशनल–२०१४' की विजेता उनी कोरियोग्राफर र फोटोग्राफर पनि हुन्। अशेष मल्लबाट दीक्षित उनी भर्खरै मात्र सर्वनाम थिएटरमा आफ्नै परिकल्पना, लेखन, निर्देशन र अभिनयमा जूनकिरी नाटकमा देखिएकी थिइन्। त्यसो त उनले अ ब्युटिफुल वुमन, बेचिएकी चेली, पुतली लगायत आधा दर्जन नाटकमा काम गरिसकेकी छिन्।

यति गर्दागर्दै पनि नानीको पढाइ कहीं कतै बिग्रिएन मात्र होइन, अब्बल रह्यो। मनोविज्ञानमा स्नातकोत्तर त उनको पछिल्लो डिग्री हो, यसअघि उनले कानून र समाजशास्त्रमा डिग्री हासिल गरिसकेकी छन्। “सामाजिक न्यायको क्षेत्रमा काम गर्न नै तीनवटा विषयमा स्नातकोत्तर गरेकी हुँ”, नानी भन्छिन्।

हालै मात्र १४ जिल्लामा 'मनोरोगको प्राथमिक उपचार' सकेर फर्किएकी नानी शारीरिक, मानसिक र सामाजिक जोखिममा परेका बालबालिकामा आफूलाई समर्पित गरेको बताउँछिन्। घुम्न र फोटो खिच्न रुचाउने उनी मौका पाउनेवित्तिकै क्यामेरा भिरेर देश दौडाहामा निस्किन्छिन्। उनी भन्छिन्, “मेरो क्यामेरामा समग्र नेपालको ल्याण्डस्केप कैद होस् भन्ने चाहन्छु।”

शिव मुखिया


कुकुरसँगै सन्तुष्ट

प्रविन बज्राचार्य (३९) स147ग जम्माजम्मी दुई सोख छन्, गीत गाउने र सामुदायिक कुकुरको हेरचाह गर्ने। काठमाडौं नैकापस्थित घरमा प्रविन यस्तै अनाथ कुकुरबाट घेरिएका भेटिन्छन्। उनको घरमा कुकुरको होस्टल नै छ। अनाथ कुकुरलाई सडकबाट ल्याएर उपचार र पालनपोषण गर्ने उनी कुकुरका वेदनाका गीत पनि गाउँछन्। “कुकुरसँग प्रेम गर्न थालेको २० वर्ष भयो”, उनी भन्छन्।

प्रविनको कुकुर प्रेमको पत्तो पाएपछि कतै कुनै कुकुरलाई गाडीले घाइते बनायो, रोगले थलियो कि उनलाई फोन आउँछ। कतिले त घरकै अघिल्तिर ल्याएर छाडिदिन्छन्। कुकुरको उपचारविधि सिक्न प्रविन भारतको नयाँदिल्ली पनि पुगे। कुकुरको उपचार गर्न सक्षम उनी कुकुरलाई खाने, बस्नेलगायत सुरक्षाका तालीम पनि दिन्छन्। यसैबाट उनी कुकुर हेरचाहका लागि रकम जुटाउँछन्।

प्रविन कहिले 'डग शो' आयोजना गर्छन् त कहिले कुकुर र्‍याली निकाल्छन्। 'कुकुरलाई माया गरौं' भन्दै यसपालि कुकुर तिहारमा बसन्तपुर डबलीमा बृहत् कुकुर प्रदर्शनी र कार्यशाला चलाउने उनको योजना छ।

जनावरसँगको सङ्गतले उनलाई परिवारबाट भने टाढा बनाउँदै लगेको छ। “धेरै दुःख पाइएको छ” प्रविन भन्छन्। कस्तो दुःख भने कुकुरको फोहोर–मैला सोहोर्दै बस्यो भनेर परिवारका कतिपय सदस्य उनीसँग असन्तुष्ट छन्। “तर, म यही गर्दा नै सन्तुष्ट छु”, उनी भन्छन्।

शिव

comments powered by Disqus

रमझम