७-१३ कात्तिक २०७३ | 23-29 October 2016

खेर जाँदै विद्युत्

Share:
  
समयमा प्रसारण लाइन निर्माण नहुँदा एकातिर उत्पादित विद्युत् खेर गइरहेको छ भने अर्कातिर नेपाल विद्युत् प्राधिकरणले जरिवाना तिर्नु परिरहेको छ।

माथिल्लो मर्स्याङ्दी 'ए' जलविद्युत् आयोजनाको बाँध क्षेत्र।
५०मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी 'ए' जलविद्युत् आयोजनाले भदौ अन्तिम सातादेखि विद्युत् उत्पादन शुरू गर्‍यो। तर, उत्पादित विद्युत् वितरण गर्ने प्रसारण लाइन नहुँदा मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना वा माथिल्लो मर्स्याङ्दी 'ए' नै बन्द गर्नुपर्ने अवस्था आयो।

प्रवर्द्धक चिनियाँ कम्पनी सिनो सगरमाथा हाइड्र्रोपावरसँगको आयोजना निर्माण अघि भएको विद्युत् खरीद–बिक्री सम्झ्ौता (पीपीए) मा निर्माण सम्पन्न हुने समयसम्म सरकारले प्रसारण लाइन बनाउने सहमति भएको थियो। पीपीए अनुसार उत्पादित विद्युत् खपत गर्न नसके नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत्को ८० प्रतिशत जरिवाना तिर्ने उल्लेख छ। प्राधिकरणले भने आयोजना निर्माण सम्पन्न हुँदासमेत प्रसारण लाइन बनाउन तदारुकता देखाएन।

सिनो कम्पनीले आयोजनास्थल भुलभुलेदेखि मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रसम्म प्रसारण लाइन निर्माण गरिसकेको छ। प्राधिकरणको अनुरोधमा ३० करोड भन्दा बढी लागतमा सिनोले प्रसारण लाइन निर्माण गरे पनि त्यहाँबाट खपत हुने स्थानसम्म पुर्‍याउन अर्को प्रसारण लाइन छैन। जसले गर्दा मध्यमर्स्याङ्दी बन्द गरेर माथिल्लो मर्स्याङ्दी 'ए' को विद्युत् खरीद गर्ने वा सम्झौता अनुसार जरिवाना तिर्नुपर्ने अवस्थामा प्राधिकरण पुगेको छ।

मर्स्याङ्दी करिडोरका आयोजनालाई जस्तै दोर्दी करिडोरमा निर्माणाधीन आयोजनालाई पनि प्रसारण लाइनको समस्या छ। दोर्दी खोलामा ४९.६ मेगावाट क्षमताको सुपरदोर्दी 'ख' अहिले निर्माण भइरहेको छ। प्रवर्द्धक सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष इजनकुमार बराल आयोजना तीन वर्षभित्रै सकिने गरी काम भइरहेको बताउँछन्। प्राधिकरणले प्रसारण लाइन बनाउन तदारुकता नदेखाएको बताउँदै अध्यक्ष बराल भन्छन्, “माथिल्लो मर्स्याङ्दी 'ए' को नियति हामीले पनि भोग्नुपर्छ कि भन्ने चिन्ता छ।”

अहिले लमजुङमा मर्स्याङ्दी, दोर्दी र मिदिम करिडोरमा १६५ मेगावाट क्षमताका विभिन्न आयोजनाहरू निर्माण भइरहेका छन्। एकदेखि तीन वर्षसम्म सबै आयोजनाहरू निर्माण सम्पन्न हुने गरी काम भइरहेको प्रवर्द्धकले बताएका छन्। हाल ७० मेगावाटको मध्यमर्स्याङ्दी सहित साना–ठूला आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।

यस्तै, ६०० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२ लगायत दर्जनौं आयोजना सरकारी स्वीकृति पर्खेर बसेका छन् भने केही आयोजना अध्ययनकै क्रममा छन्।

प्रसारण लाइनमा ढिलासुस्ती

नेपाल विद्युत् प्राधिकरणले लमजुङमा उत्पादित विद्युत् खपतका लागि मात्रै पाँचवटा प्रसारण लाइन निर्माण गर्ने योजना बनाएको छ। मर्स्याङ्दी करिडोर, भुलभुले–मध्यमर्स्याङ्दी, दमौली भोर्लेटार र उदिपुरदेखि मनाङसम्म विद्युत् प्रसारण लाइन बनाउने योजना बजेट विनियोजन नहँुदा अघि बढ्न सकेका छैनन्।

प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दीसम्म जाने 'डबल सर्किट' र तल्लो मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौलीस्थित सवस्टेशनमा पुर्‍याउन निर्माण भइरहेको १३२ केभीए प्रसारण लाइन तत्काल पूरा हुने देखिंदैन। प्राधिकरण स्रोतका अनुसार माथिल्लो मर्स्याङ्दी 'ए' बाट उत्पादित ५० मेगावाट विद्युत्मध्ये यो हिउँदमा २५ मेगावाट खपत गर्ने र २५ मेगावाट खेर जानेछ।

डुम्रे–दमौली प्रसारण लाइन गत असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ठेकेदारले समयमा काम नगर्दा उत्पादित विद्युत् खेर जाने भएको हो। तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत् आयोजनादेखि दमौलीसम्मका ६३ टावरमध्ये म्याद सकिंदासम्म आधा मात्रै बनेका छन् भने बाँकी काम सक्न एक वर्ष लाग्ने जनाएको छ।

युवराज श्रेष्ठ, लमजुङ

comments powered by Disqus

रमझम