७-१३ कात्तिक २०७३ | 23-29 October 2016

दुर्गमको दर्द

Share:
  
माईखोलामा पुल नहुँदा दशैंको बीचैमा शोकमा डुब्यो दक्षिणी इलाम।

दक्षिणी इलामका दानाबारी, महमाई र बाँझो गाविसका ३४ हजार सर्वसाधारणको साझा दुःख हो– माईखोलामा पुल नहुनु। माईमा पुल नबन्दा दैनिक उपभोग्य बस्तु र औषधिमूलोदेखि सरकारी कामकाजसम्मका लागि सदरमुकाम आउजाउ गर्न डुंगा तर्नुपर्ने बाध्यता छ।

दुर्घटना भएको डुंगाको फाइल तस्वीर।

यही बाध्यताका बीच दशैंमा सर्वसाधारण चढेको डुंगा २८ असोजको अपराह्न दानाबारी र महमाईको लोदिया दोभान (चण्डालघाट) मा पल्टिंदा आठ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेमा मोरङ मधुमल्ला–२ का ६ वर्षीय जुम्ल्याहा पुष्पाञ्जली र अञ्जली खड्का, महमाई–१ का जसबहादुर राई (७५), डम्बरमाया मगर (४५), हर्कबहादुर मगर (५८), महमाई–२ की पवित्रा पौडेल, झापाको शनिअर्जुन नपाका कृष्ण घतानी (२७) र अर्का एक पुरुष छन्।

२०६८ सालको जनगणना अनुसार, महमाई गाविसमा १० हजार ४०४, दानाबारीमा १४ हजार ३०२ र बाँझोमा १० हजार १२ जनसंख्या छ। छिमेकी इभाङ, साकफारा र जीतपुर गाविसका बासिन्दाले पनि झापा आउजाउ गर्दा चण्डालघाटबाट माई तर्नुपर्छ। घाटमा निर्माणाधीन रु.२५ करोड ७१ लाख ७३ हजार ५६७ को पुल गत असार मसान्तभित्रै बनिसक्नुपर्थ्यो, तर गत वर्षको महाभूकम्प र नाकाबन्दीका कारण ढिलाइ भएको सडक डिभिजन पूर्वी क्षेत्रको पुल सेक्टर प्रमुख अर्जुन अर्यालले बताए।

मोरङ मधुमल्ला–२ की चन्द्रमाया खड्का र दुर्घटनामा ज्यान गुमाएका उनका छोरी पुष्पाञ्जली र अञ्जली

लापरबाहीले दुर्घटना

प्रत्यक्षदर्शी विष्णु तामाङ भारी वर्षात्का बीच दशैंको टीका लगाउन हिंडेका र फर्केका धेरै जना डुंगामा चढ्दा दुर्घटना भएको बताउँछन्। उनका अनुसार, मध्याह्नसम्म पाँच सय जनाभन्दा बढी मानिस वारपार गरिसकेका थिए। “दुई बजेतिर दानाबारीतर्फ रहेका ५० जना जति मान्छेलाई एकै खेपमा तार्न लागेको डुंगा भेल उर्लिएको माईको बीचमा फनफनी घुमेर पल्टियो।”

डुंगा पल्टेपछि उनी, चन्द्र तामाङ, हेमन्त दनुवारलगायतका स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए। त्यसक्रममा ३४ जनालाई सकुशल खोलाबाट निकालिएको थियो भने केही हराएको हुनसक्ने आशंका विष्णु तामाङले गरे। 'ओभरलोड' डुंगामा लापरबाही कति भने, जुम्ल्याहा छोरी गुमाएकी मधुमल्ला–२ की चन्द्रमाया खड्का डुंगा चलाउनेहरूले खोलाको माझ्मा पुगेपछि भाडा उठाउन थाल्दा दुर्घटना भएको बताउँछिन्। “मैले त दुई पटक गरेर लैजानुस् पनि भनेकी थिएँ, तर केही हुन्न सबै बस्नुस् भनेपछि छोरीहरू लिएर चढें”, खड्काले भनिन्।

चण्डालघाटमा डुंगा सञ्चालनको कुनै मापदण्ड र अनुगमन छैन। दुर्घटनाको चार दिनपछि १ कात्तिकमा बसेको इलाम जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले डुंगा सञ्चालनको लागि स्पष्ट मापदण्ड बनाई लागू गर्न गाविसलाई निर्देशन दिएको छ।

लक्ष्मी गौतम

comments powered by Disqus

रमझम