७-१३ कात्तिक २०७३ | 23-29 October 2016

तिहारमा सजगता

Share:
  
- डा. सुमनराज ताम्राकार
आतिसबाजी र मिसावटले स्वास्थ्यमा ठूलै जोखिम ल्याउन सक्छ।

रमाइलो चाड तिहार नेपालीको आँगनमै आइसक्यो। तिहारको रमाइलोमा पछिल्लो समय मनोरञ्जनका नयाँ–नयाँ तरीका र खानपिनका विविध परिकार भित्रिएका छन्। हिजोआज तिहार अगावै बारुद पड्काउने, भुईंचम्पा बाल्ने, रकेट छोड्ने, चक्कर घुमाउने आदि जोखिमपूर्ण गतिविधि गर्न थालिएको छ भने खानपिनमा पनि मिसावटका नयाँ–नयाँ हत्कण्डाहरू अपनाउन थालिएको छ।

प्रशासनले निषेध गरे पनि लुकाई–छिपाई बारुद पड्काउने, आतिसबाजी गर्ने गरिन्छ। लुकीछिपी गरिएकै कारण यस्तो गतिविधिले आँखाको दृष्टि गुमाएको, कानको जाली फुटाएको वा शरीरका विभिन्न भाग जलाएको घटनाहरूलाई गुपचुपमै राख्ने गरिन्छ। आतिसबाजीका कारण रक्तचाप बढ्ने, एलर्जी हुने, टाउको दुख्ने, ब्रोङ्काइटिस बल्झिने, दम बढ्ने, खोकी लाग्नेलगायतका अप्रत्यक्ष असरहरूमा त मानिसहरूको ध्यानै गएको छैन।

तिहारको बेला आतिसबाजीको जोखिम जस्तै अर्को समस्या हो– खाद्य मिसावट। (हे. टेबुल) लोभी व्यापारीहरूले उपभोग बढ्ने चाडबाडलाई अनुचित तरीकाले कमाउने अवसर बनाउँछन्। पहिले मिसावटको कल्पनै नहुने खाद्य पदार्थहरूमा समेत अचेल कैफियत गरिएको हुन्छ, जसको सीधा असर आम उपभोक्ताको स्वास्थ्यमा पर्छ। आजकल त मिनरल वाटर र होटल–रेस्टुराँहरूका परिकारमा समेत मिसावटको जगजगी छ।

अनुचित नाफाका लागि गरिने यस्तो कैफियतमा गुणस्तरहीन वा अखाद्य वस्तु मिसाउने वा पोषिलो तत्व निकालेर ठग्नुको साथै उपभोक्ता वा ग्राहकहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने काम गरिन्छ। अखाद्य वस्तु मिसावट गरेको खानाको कारण तुरुन्तै वाक्वाकी लाग्ने, पेट दुख्ने, झ्ाडापखाला लाग्ने, रगतमासी पर्ने, जन्डिस हुने, पिसाब पोल्ने, आँखा धमिलो हुने, टाउको दुख्ने, निद्रा नलाग्ने, आलस्य हुने, बेहोश हुने हुन सक्छ। मिसावटले कालान्तरमा ट्युमर (क्यान्सर) पलाउने, अन्धोपन हुने, पक्षाघात हुने पनि हुन सक्छ।

comments powered by Disqus

रमझम