७-१३ कात्तिक २०७३ | 23-29 October 2016

एशियाली दृष्यकथा

Share:
  

संसारभरिका फोटोग्राफरले खिचेका एशियाका उत्कृष्ट फोटोहरू एकै ठाउँमा हेर्ने मौका मिलेको छ। फोटो काठमाडौं महोत्सवमार्फत फोटो सर्कलले यो अवसर जुराएको छ, ललितपुरको पाटनमा।

५ कात्तिकदेखि शुरु मुलुककै एक्लो अन्तर्राष्ट्रिय फोटो महोत्सव दुई सातासम्म चल्नेछ, जहाँ एशियाभरका फोटो समावेश छन्। महोत्सवको पहिलो संस्करण भने नेपालकै फोटोमा मात्र सीमित थियो।

नेपाललाई जीवन्त सांस्कृतिक गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले फोटो काठमाडौंको आयोजना गरिएको महोत्सवकी सह–निर्देशक नयनतारा गुरुङ कक्षपति बताउँछिन्। “विदेशका फोटो महोत्सवहरूमा सहभागी हुँदा नेपालमा यस्तो किन हुँदैन भनी खट्किरहन्थ्यो” उनी भन्छिन्। महोत्सवले दृश्य माध्यमबाट कथा भन्ने कलाकार र दर्शकबीच संवादका लागि सेतुको काम गरिरहेको उनको तर्क छ।

आयोजक फोटो सर्कलका अनुसार, २२ देशका ५२ जना फोटोग्राफर, क्युरेटर, सम्पादक तथा कला साधकको सहभागिता रहने महोत्सवमा १२ वटा फोटो प्रदर्शनी, ७ वटा स्लाइड शो, १४ वटा कलाकार वार्ता तथा संवाद, ६ वटा कार्यशाला र आवासीय मिक्स्ड–मिडिया कार्यक्रम समावेश छ।

महोत्सवमा अफगानिस्तानका सान्ड्रा क्यल्लिगारोको 'अफगान ड्रिम' फोटो शृङ्खलाले सञ्चारमाध्यममा प्रस्तुत गरिने युद्धका भयावह तस्वीर विपरीत काबुलवासीको सामान्य दैनिकी प्रस्तुत गरेको छ। कम्बोडियाका किम हाकले खमेर रुज शासनको डरले लुकाइएका ४० वर्ष पुराना फोटा र व्यक्तिगत सामग्रीको शृखला 'अलाइभ' पनि महोत्सवको खास प्रस्तुति रहेको छ। यो शृखला भने काठमाडौंको टंगलमा हेर्न सकिन्छ। आजादे अख्लागीको 'बाई एन आइविटनेस' फोटो शृंखला इरानको इतिहासमा भएका रहस्यमय हत्याकाण्ड र हिंसाको काल्पनिक चित्रण हो। यसलाई च्यासलको मंका खल हलमा राखिएको छ। जन्नतुल मावाको 'क्लोज डिस्टेन्स', शिखर भट्टराईको 'द अदर साइड अफ अन्नपूर्ण' ले व्यक्ति र समुदायको सम्बन्धको खोजी गरेको छ।

बिक्रम राई
फोटो प्रदर्शनीको अतिरिक्त फोटोग्राफी सम्बन्धी कार्यशाला महोत्सवको अर्को आकर्षण हो। कार्यशालाका लागि केभिन बुब्रिस्की, प्याटि्रक विटी, पाब्लो बार्थोलोम्यु, लार्स विल्युमेट, यान मिन्गार्ड, केभिन डब्ल्यु वाई ली जस्ता चर्चित फोटोपत्रकार/सम्पादक नेपाल आउने छन्। महोत्सवमा हेर्नैपर्ने अर्को प्रस्तुति भनेको एक महीनादेखि एउटै घरमा बसेका ६ देशका ६ कलाकार अर्जित भट्टाचार्य (भारत), जुलिया सुस्टर (अष्ट्रेलिया), राजन श्रेष्ठ (नेपाल), क्याटि्रन भल (जर्मनी), ड्यानियल अर्थर पन्ज्वानी (पाकिस्तान) र शिमुल शाह (बंगलादेश) को संयुक्त प्रदर्शनी पनि हो।

बुङ्गमतीमा फ्रान्सेली कलाकार ब्रुस म्याक्व अइन्सले ४० वर्षदेखि हरेक वर्ष खिचेका रातो मत्स्येन्द्रनाथ जात्राका तस्वीरहरूले परिवर्तित संस्कृतिको झ्ाल्को दिनेछ। “भूकम्पबाट क्षति भएको बुङ्गमतीलाई सघाउने लक्ष्य राखेका छौं”, महोत्सवकी सह–निर्देशक कक्षपति भन्छिन्।

गत वर्षदेखि शुरु भएको फोटो काठमाडौंको तेस्रो संस्करण भने अबको दुई वर्षपछि मात्र हुनेछ। दुई वर्षको बीचमा देशभर घुम्ती फोटो महोत्सव गर्ने कामलाई जारी राख्ने कक्षपतिले बताइन्।

फोटो प्रदर्शनी ललितपुरको पाटनक्षेत्र लबिम मल, नगल, मणिमण्डप, पाटन म्यूजियम, भइदेगह, इबाबाही, तःवहा, सौगहिटी, सौगल स्क्वायर, यलमुला, च्यासल र मच्छिन्द्रवहालमा भइरहेको छ।

बच्चु बिक

comments powered by Disqus

रमझम