अंग्रेजीमा भनाइ छ, 'डू दी डुयबल्स', अर्थात् 'जुन कुरा गर्न सकिन्छ, त्यो गर'। हाम्रो समस्याको जड यहींनेर देखिन्छ, हामी आफैंले गर्न सक्ने काम गर्दैनौं वा आफ्नै क्षमताप्रति विश्वस्त हुन सक्दैनौं। सिन्को भाँच्दैनौं अनि आफ्नो अकर्मण्यताको दोष अरूतिर थोपर्छौं।
उदाहरण नै हेरौं, २०७२ को महाभूकम्पले हाम्रा सम्पदा, संरचना र आवास तहसनहस पार्यो। राष्ट्रिय योजना आयोगले क्षतिको मूल्याङ्कन गर्यो र दाताहरू नेपाललाई हरहिसाबले सहयोग गर्न तत्पर पनि भए। स्वायत्त र शक्तिसम्पन्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पनि गठन गरियो। तर, भूकम्पपीडित दोस्रो हिउँद पनि टहरामै कटाउन बाध्य छन्। पुनःनिर्माणको दुर्गति हेर्न गोरखा वा सिन्धुपाल्चोकका गाउँसम्म पुगिरहनु पर्दैन, देशको प्रशासकीय केन्द्र सिंहदरबार हेरे हुन्छ। भूकम्पले क्षति पुर्याएको मुलुकको कार्यकारी प्रमुखको कार्यालय सिंहदरबार कुनै रुँग्ण वृद्ध झैं पुनःनिर्माणको पर्खाइमा छ। यस्ता शासकहरूबाट जनताले निर्माण, पुनःनिर्माण र देशको समुच्च विकासको कस्तो आशा र अपेक्षा गर्ने?
अन्धकारमा अर्को जूनकिरी पनि देखियो। दशकौंदेखि लोडसेडिङ नामको शासक–भ्रष्ट कर्मचारी पापाचारको घोर अन्धकारबाट नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकलाई उज्यालो देखाइदिएका छन्। संयोगले पंक्तिकारको स्कूले सखा कुलमानले नियुक्तिको केही दिन भित्रै अन्धकारको औषधि भेटे। कालान्तरमा उनैको सबल नेतृत्वमा मुलुक नै लोडसेडिङमा मुक्त हुनेछ भन्ने आशा राख्न सकिन्छ।
जगजाहेर छ, राष्ट्रिय प्रसारणमा रातारात सयौं मेगावाट विद्युत् थपिएका कारण कुलमानले लोडसेडिङ हटाउन सफल भएका होइनन्, न कुनै तिलस्मी बाबाजीले झ्ैं हात घोटेर छुमन्तरबाट विद्युत् निकालेका हुन्। उनले त आफूअघिका प्राधिकरणको नेतृत्वले चलखेलका आधारमा छानी–छानी केही उद्योगलाई आपूर्ति गरिरहेको विद्युत् पिक आवरमा काटेर आमजनतालाई बाँडेका मात्र हुन्। यसबाट जनतालाई (कु) शासक र भ्रष्ट कर्मचारीतन्त्रले कुन हदसम्मको गुमराहमा राखेका रहेछन् भन्ने कुरा छर्लङ्ग हुन्छ।
गएको साता स्कूले साथीहरूको पुनर्मिलनको अनौपचारिक कार्यक्रमको अवसरमा उनै कुलमान सुनाउँदै थिए, “मैले काम गर्न थालेको १५ दिन पनि पुगेको छैन, आगामी दिन चाहे अनुसार काम गर्न पाए धेरै परिवर्तन गरेर देखाइदिने आत्मविश्वास छ।”
चाणक्यको झुपडी
धुर्मुस–सुन्तली, कर्मशील कुलमानले आशाको गोरेटो देखाउँदै गरेको बेला, जनता भने आफ्नै जनप्रतिनिधिको सुविधाभोगी रवैयाबाट आहत बनेका छन्। भूकम्पले थलिएको संरचना पुनःनिर्माण र टहरामा कहर कटाउन बाध्य मतदातालाई राहत दिनुको साटो फास्टट्रयाकबाट सांसद्हरूले आफ्नो सुविधा वृद्धि गर्नु लज्जास्पद मात्र होइन, निन्दनीय छ।
शासक र जनप्रतिनिधि सम्बन्धबारे महान् चिन्तक चाणक्यको भनाइ यहाँ सान्दर्भिक देखिन्छ। प्रथम मौर्य सम्राट चन्द्रगुप्तलाई गद्दीमा आसीन गराएका चाणक्य साँचो अर्थमा 'किङमेकर' थिए। स्वयं नै राजा हुनसक्ने अवस्थामा पनि महामन्त्री बनेका चाणक्य दरबारमा नभएर झुपडीमा बस्दथे। देशका सर्वशक्तिशाली महामन्त्रीको झुपडीको बासबाट विस्मित एक देशवासीले उनीसँग त्यसको रहस्य जान्न खोजेछन्। प्रतिउत्तरमा चाणक्यले भनेछन्, 'जुन देशको मन्त्री महलमा बस्छ त्यस देशका जनताको झुप्रोको बास हुन्छ, तर जुन देशको मन्त्री झुप्रोमा बस्छ त्यस देशका जनताको महलको बास हुन्छ।'
हाम्रा आदरणीय जनप्रतिनिधिहरूले चाणक्य सम्झिरहन पर्दैन, आफ्नै अग्रज विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी आदिका आदर्श जीवन नियाले हुन्छ। नत्र टहरामा हिउँद कटाउँदै गरेका वृद्ध, बालक र सुत्केरीको आँशुले तपाईंहरूलाई पोल्नेछ।