१२-१८ मंसिर २०७३ | 27 Nov - 3 Dec 2016

सौन्दर्यको हिउँदे चासो

Share:
  
- शिव मुखिया
लाग्छ, सुन्दर देखिने मनोकांक्षालाई मौसम र बजारले निर्देश गरिरहेको छ। त्यसैले त जसै जाडो बढ्छ, सौन्दर्य प्रसाधनको बजार गर्माउँछ।

बिक्रम राई
जब मौसमी तापमान घट्न, चिसो हावा वहन थाल्छ; वातावरण सुक्खा हुन्छ। र, यसको सोझो असर मानव–सौन्दर्यमा पर्छ। परिणाम, छाला र कपाल फुस्रो हुन्छ, ओठ फुट्छ। जाडोयाम सौन्दर्यका लागि अनुकूल मानिंदैन– सौन्दर्य विज्ञहरू यसै भन्छन्।

मौसमको प्रतिकूलताबाट जोगिन विगतमा अनेक उपाय अपनाइन्थ्यो। हात, खुट्टा, अनुहारको छाला फुस्रो हुन नदिन दूधको तर, नौनी पनि लगाइन्थ्यो। तर, अहिले त्यस्तो बाध्यता छैन। बजारमा थरीथरीका सौन्दर्य प्रसाधन पाइन्छन्। ती प्रसाधन जसले जाडोमा पनि छालालाई चिसो लाग्न दिंदैन, छाला मुलायम र चम्किलो बनाउने दाबी गर्छन्।

ओठ फुटेमा लिप वाम, अनुहार र छाला फुस्रो भए मोइस्चराइजिङ क्रिम, कपालमा चाया परे एन्टी डेन्ड्रफ स्याम्पू। शिरदेखि पाउसम्म आवश्यक सम्पूर्ण सौन्दर्य प्रसाधन सामग्री बजारमा पाइन्छन्। त्यसैले, जति जाडो बढ्दै जान्छ, सौन्दर्य प्रसाधनको बजार पनि उकालिन थाल्छ।

जाडोलाई लक्षित गर्दै स्वदेशी तथा विदेशी बहुराष्ट्रिय कम्पनीका थरीथरीका उत्पादन बजारमा भेटिन्छन्। इमामी, बोरोलिन, जोय, पामाकेयर, अस्तावेरी, जोनसोन, निभिया, लोटस, भिएलसीसी, हिमालय, पञ्चवटी, म्याकलिभेरा जस्ता नाम चलेका ब्राण्डहरू प्रतिस्पर्धामा उत्रिएका छन्। जोय ब्राण्डको 'हनी एन्ड आल्मोन्ड क्रिम' होस् वा अक्सि ब्राण्डको 'लिप आइस'को बिक्रीको मौसम भनेकै जाडोयाम हो। अरू थुप्रै कम्पनीले जाडोकै लागि भनेर क्रिम, मोइस्चराइजर, लिप वाम, स्याम्पू बजारमा भित्र्याएका छन्।

व्यवसायीहरूका अनुसार, जाडोमा कोल्ड क्रिमको प्रयोग निकै उपयोगी हुनेगर्छ। यसले छाला नरम र चम्किलो बनाउँछ। त्यस्तै बडी लोसन, मोइस्चराइजिङ क्रिम पनि यो बेला उपयोगी हुने इमामी का नेपालस्थित ब्राण्ड म्यानेजर मधु बस्याल बताउँछन्। इमामी को बोरोप्लस, फेयर एन्ड ह्यान्डसम, झ्न्डु वाम जस्ता उत्पादन चलेका छन्। बस्याल भन्छन्, “श्रृंगारका लागि मात्र होइन, छाल, कपाल, ओठलगायत समग्र शरीरको सौन्दर्य रक्षा गर्न पनि यस्ता सामग्री उपयोगी हुन्छन्।”

व्यवसायीहरूको तर्क सुन्ने हो भने मौसमी प्रतिकूलताबाट शरीर जोगाउन यस्ता उत्पादन प्रयोग नगरी धरै छैन। “जाडोमा छालालाई फुस्रो र रुखो हुन नदिन सौन्दर्य प्रसाधनको प्रयोग अनिवार्य जस्तै भएको छ”, रत्नसागर हर्बल प्रालिका एरिया सेल्स म्यानेजर आनन्द श्रेष्ठ भन्छन्। एकै किसिमको प्रसाधनले सबै छालामा समान प्रभाव नपर्ने बताउने उनी कतिपय प्रसाधनले प्रतिकूल असर समेत पार्न सक्नेमा सचेत हुन पनि सुझाउँछन्।

डाबर नेपालका बजार प्रमुख अभय गोर्खाली डाबरका हरेक उत्पादन प्रयोगकर्ता, भूगोल र हावापानीको गहन अध्ययनपछि मात्र उत्पादन गरिने दाबी गर्छन्। “उत्पादन गुणस्तरीय छ भन्ने पुष्टि भइसकेपछि मात्र बजारमा ल्याइन्छ” उनी भन्छन्, “त्यही कारण हाम्रो उत्पादनले उपभोक्ताको विश्वास जितेको छ।”

छाला सचेतना

सामान्यतः छाला तीन प्रकृतिका हुन्छन्– तैलीय, सुक्खा र सामान्य। जाडो मौसममा सुक्खा छाला संवेदनशील मानिन्छ। यस्तो बेला छाला फुस्रो हुनुका साथै चाउरिने जोखिम पनि हुन्छ। छालालाई जोखिमबाट जोगाउन विशेष हेरचाह गर्नुपर्ने ब्यूटिसियन बताउँछन्। “जाडोमा छालाको हेरचाह कसरी रक्षा गर्ने भन्नेमा सचेत रहनुपर्छ” ब्यूटिसियन तारा बस्नेत भन्छिन्, “किनभने यतिबेला गरिएको सानो हेलचेक्र्याईंले ठूलो असर पुर्‍याउन सक्छ।”

सौन्दर्यविद्हरू सौन्दर्य प्रसाधनको सही छनोट र प्रयोगले मात्र राम्रो नतीजा दिने बताउँछन्। त्यसैले छालाको प्रकृति, भूगोल र हावापानी उपयुक्त सौन्दर्य प्रसाधन छनोट गर्नुपर्ने उनीहरूको सुझाव छ। किनभने, एउटा भूगोल वा हावापानीका लागि सुहाउने उत्पादन अर्कोमा प्रभावकारी नहुन सक्छ।

खासगरी बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू यस्ता कुरामा सचेत पाइएका छन्। जस्तो, चर्को घाम र सामान्य तापक्रमका लागि सन् प्रोटेक्सन क्रिममा सन् प्रोटेक्सन फ्याक्टर (एसपीएफ) को मात्रा फरक फरक उल्लेख गरिएको हुन्छ। नेपाली हावापानीको लागि १५ देखि २५ एसपीएफसम्मको सन् प्रोटेक्सन क्रिम उपयोगी हुन्छ। तर, एसपीएफप्रति उति ख्याल नगर्नुमा भने प्रयोगकर्ताको कमजोरी भएको विज्ञको भनाइ छ।

सही साधन मात्र चिनेर हुँदैन, प्रयोगको विधि पनि जान्नुपर्छ। जाडोमा बडी लोसन, मोइस्चराइजर वा लोसनजस्ता साधनको प्रयोग सुत्नुअघि गर्नुपर्ने उनीहरू बताउँछन्। सुत्नुअघि हातखुट्टालाई मनतातो पानीले सफा गरेर क्रिम लगाउनुपर्छ। जाडोमा क्रिम भएका साबुनको प्रयोग राम्रो मानिन्छ। नुहाउँदा वेसन र दही पनि प्रयोग गर्न सकिन्छ।

पैसा र रुचिका आधारमा बजारमा हरेक प्रकारका सौन्दर्य प्रसाधन पाइन्छ। तिनको मूल्य रु.५० देखि हजारौं रुपैयाँसम्म पर्दछ। सौन्दर्य प्रसाधनको विश्वविख्यात जापानिज ब्राण्ड रोथो को बिक्रेता युनाइटेड डिष्ट्रिब्युटर्सका सिनियर मार्केटिङ एक्ज्युकेटिभ अमिश पोखरेल प्रयोगकर्ताले गुणस्तरीय उत्पादन छनोटमा ध्यान दिनुपर्ने बताउँछन्। कतिपयले सस्तोमा पाइने लोभमा कमसल प्रसाधन प्रयोग गरिरहेको देखिएको बताउँदै उनी भन्छन्, “मूल्यमा भन्दा पनि गुणस्तरमा ध्यान दिए सुन्दरता बिग्रिदैन।”

त्यसो त सौन्दर्य प्रसाधनकै कारण प्रयोगकर्ता कुरुप बनेका र कतिपयको ज्यानै गएको उदाहरण पनि छन्। यस्ता प्रसाधनमा हानिकारक रसायन मिश्रणका थुप्रै घटना पनि सामुन्ने आएका छन्। प्रयोगकर्ताले यस्ता दुर्घटनाबाट पाठ सिक्नुपर्ने देखिन्छ।

प्रकृतितिरको यात्रा

बजारमा पाइने सौन्दर्य प्रसाधनमा हानिकारक रसायन मिसाइने भएकाले घरेलु साधन नै प्रयोग गर्नुपर्ने तर्क पनि कमजोर छैन। यस्ता उत्पादनको 'साइड इफेक्ट' पनि खासै नहुने बताइन्छ। जस्तो कि, घरमै प्राकृतिक रूपमा बनाउन सकिने दूधको तर, नौनी, कागती, दही, वेसनको पीठो, चिनी, बेसार आदिको प्याक बनाएर छालामा लगाउने चलन पहिलेदेखिकै हो।

जाडोमा बदामको तेल पनि उपयोगी हुने बताइन्छ। बदामको तेलले मोइस्चराइजरको काम गर्छ। बडी लोसनको रूपमा जैतुनको तेल लगाउन सकिन्छ। जाडोमा छालामा रहेको प्राकृतिक तेल जोगाउनुपर्छ। यसका लागि नुहाउनुभन्दा पहिले तेलले शरीर मालिस गर्नुपर्ने सुझाव दिने गरिन्छ।

जाडोमा स्पा टि्रटमेन्ट निकै उपयोगी मानिन्छ। स्पा भनेको पानीको माध्यमबाट गरिने प्रकृतिक उपचार विधि हो। स्पामा छालाका विकारयुक्त पदार्थ बाहिर निस्कने काठमाडौं, नयाँबानेश्वरस्थित सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेत बताउँछन्।

त्यसो त कतिपय ब्राण्डले 'प्राकृतिक एवं आयुर्वेदिक' का नाममै उत्पादन बजारमा ल्याइरहेका छन्। जापानिज ब्राण्ड रोथो का कतिपय उत्पादन आयुर्वेदिक भएको कम्पनीको दाबी छ। कतिपय सौन्दर्य प्रसाधनमा भिटामिन इ, सी, ए जस्ता तत्व रहेको दाबी पनि छ।

मौसम परिवर्तनसँगै सौन्दर्यमा नकारात्मक असर पर्न नदिन प्रसाधनको मात्र भर पर्न नहुने कतिपयको भनाइ छ। बाह्य सौन्दर्यको सम्बन्ध शरीरको भित्री तहसम्म हुने भएकाले पनि सौन्दर्यतालाई सम्पूर्णतामा हेर्नुपर्ने बताउने गरिएको छ। छालामा नरमपना कायम राख्न पर्याप्त पानी एवं झोल पदार्थ पिउनुपर्ने, फलफूल सेवन गर्नुपर्ने विज्ञहरूको सुझ्ाव छ। सुन्तला, अमला जस्ता फलहरूमा पानीको मात्रा अधिक हुन्छ। हरियो सलाद प्रशस्त खानुपर्छ।

जाडोमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता समेत कमजोर हुने भएकाले स्फूर्ति कायम राख्न स्वस्थ खानपानसँगै नियमित व्यायाम, योग, ध्यान गर्नुपर्ने योग प्रशिक्षक राम पाण्डे बताउँछन्।


डाबर

डाबर नेपाल प्रालिका उत्पादनहरूले बजारको ठूलो हिस्सा ओगटेको छ। डाबरले जाडोका लागि छुट्टै सौन्दर्य प्रसाधन समेत ल्याएको छ। सबै वर्गका उपभोक्ता लक्षित गुलाबरी कोल्ड क्रिम र लोसन जाडोका लागि उपयोगी भएको बजार प्रमुख अभय गोर्खाली बताउँछन्। यो कोल्ड क्रिम रु.१० को प्याकमा समेत उपलब्ध छ। डाबरले पुरुषका लागि एन्टी डेन्ड्रफ स्याम्पू पनि बजारमा ल्याएको छ। आन्तरिक सुरक्षाको लागि डाबर च्यवनप्रास जस्ता आयुर्वेदिक उत्पादन पनि सहयोगी हुने गोर्खालीको भनाइ छ।

रोथो मेन्थोलेटम

प्रसिद्ध जापानिज ब्राण्ड रोथो का उत्पादन पनि नेपाली बजारमा उपलब्ध छन्। रोथो को एक्निस, लिआइस, सनप्ले, ओक्सी ब्राण्डहरूले उपभोक्ताको मन जितेको छ। रोथो ले विभिन्न उत्पादनलाई टि्रटमेन्ट सिरिजमा उतारेको छ। यसको नियमित र सन्तुलित प्रयोगले निकै प्रभावकारी परिणाम दिने दाबी गरिन्छ। गुणस्तरीयताका कारण रोथो का उत्पादन तुलनात्मक रूपमा महँगो भएको कम्पनीको तर्क छ।

इमामी

आक्रामक रूपमा सौन्दर्य प्रसाधनको बजारमा हस्तक्षेप गरिरहेको अर्को ब्राण्ड हो– इमामी। इमामी को बोरोप्लस, नवरत्न, फेयर एन्ड ह्यान्डसम, झन्डु वाम, मेन्थो प्लस जस्ता उत्पादन उपभोक्तामाझ परिचित छन्। इमामी का तीन सयभन्दा बढी उत्पादन आयुर्वेदिक छन्। विश्व बजारमै उपस्थिति जनाइरहेको इमामी ले जाडोमा फेयर एन्ड ह्याण्डसम विन्टर क्रिम, बोरोप्लस एन्टिसेप्टिक क्रिम, बोरोप्लस मोइस्चराइजिङ लोसनजस्ता उत्पादन ग्राहकमाझ ल्याएको इमामी का ब्राण्ड म्यानेजर मधु बस्याल बताउँछन्।

जोय

जोय ब्राण्डको बडी लोसन नेपाली बजारमा निकै रुचाइएको छ। आधिकारिक बिक्रेता एसएम इन्टरप्राइजेजका अनुसार जोय का हनी लिप गार्ड, पपैया लिप वाम, स्किन फ्रूट लोसन, पपैया सन क्रिम, हेयर फ्रूट स्याम्पू जस्ता थुप्रै उत्पादन बजारमा छन्। जोय का उत्पादनको मूल्य पनि मध्यम छन्। फलफूल र जडीबुटीको मिश्रणमा गुणस्तरीय सौन्दर्य प्रसाधन उत्पादन गरिरहेको कम्पनीको दाबी छ।

पामाकेयर

पामाकेयर ब्राण्डले नेपाली बजारमा विभिन्न सौन्दर्य प्रसाधन उतारेको छ। पपैया तथा एलोवेरा फेसवास, आल्मोन्ड आयल लिप वाम, क्लिजिङ मिल्क, प्रिमियर निम साबुन, प्रिमियर पपैया साबुनजस्ता उत्पादन पामाकेयर ब्राण्डमा उपलब्ध छन्। यो ब्राण्डका उत्पादन हरेक किसिमको छालाका लागि उपयोगी हुने बताइन्छ।

comments powered by Disqus

रमझम