१२-१८ मंसिर २०७३ | 27 Nov - 3 Dec 2016

कलात्मक भर्‍याङ

Share:
  

घरको एक तलाबाट अर्को तलामा जाने र ओर्लने माध्यम हो, भर्‍याङ। तर, भर्‍याङको परिचय यत्तिमै सकिंदैन। घरमा कोठाको जति महत्व छ, भर्‍याङको भूमिका पनि कम छैन। भर्‍याङलाई घर सुरक्षाको 'ब्याकबोन' पनि भनिन्छ।

इन्टेरियर डिजाइन एसोसिएसन नेपालका अध्यक्ष सानुराजा शिल्पकार घरभित्रका निर्माणमध्ये भर्‍याङको खास महत्व रहेको बताउँछन्। “डिजाइन र उपयोगको हिसाबले भर्‍याङलाई आकर्षक बनाउन सकिन्छ”, शिल्पकार भन्छन्, “भर्‍याङ कलात्मक बनाउन निर्माणताका नै ध्यान दिनुपर्छ।” त्यसका लागि खुट्किलाको राईजर (अग्लाइ) र ट्रेड (समतल भाग) को अनुपात मिल्ने गरी बनाउनुपर्ने उनी बताउँछन्।

यसो गरिए हिंड्दा लड्ने, ठोक्किने संभावना नरहने तर्क गर्दै उनी भन्छन्, “राईजर ६ देखि ७.५ इन्च र ट्रेड १० इन्चदेखि १ फिटसम्म राख्दा उपयुक्त मानिन्छ।”

भर्‍याङ विशेष गरी कर्भ, भर्टिकल, स्पाइरल र स्ट्रेट जस्ता मोडलमा बनाइएको हुन्छ। मोडल अनुसार भर्‍याङको क्षेत्रफल पनि फरक हुन्छ। क्षेत्रफल प्रशस्त भए कोठाको बीच भागमा भर्‍याङ बनाउन सकिन्छ। कम क्षेत्रफल छ भने एकातर्फ भित्ता पारेर बनाउनु राम्रो मानिन्छ।

बहुपयोगी

भर्‍याङ काठ, सिमेन्ट र फलाम जस्ता बस्तुको प्रयोगबाट बनाइन्छ। पक्की घरहरूमा भने सिमेन्टको भर्‍याङ बनाउने प्रचलन बढी छ। यसरी बनाइने भर्‍याङको खुट्किलामा मार्बल, काठ तथा पार्केटिङ के राख्ने हो बेलैमा सोच्नुपर्छ। खुट्किलालाई गलैंचाले छोप्न पनि सकिन्छ।

डिजाइनर शिल्पकार रेलिङ नराखी भर्‍याङ बनाउन सकिने भए पनि सुरक्षाका हिसाबले रेलिङ राख्दा राम्रो हुने बताउँछन्। रेलिङमा पनि काठ, स्टिल, फलाम तथा सिमेन्टेड डिजाइन प्रयोग गर्न सकिन्छ। “घरका अन्य भागलाई जस्तै भर्‍याङलाई पनि आकर्षक बनाउन सकिन्छ”, उनी भन्छन्। उनका अनुसार, भर्‍याङको पेन्टिङ र सजावटमा ख्याल गर्नुपर्छ। मार्बल, कार्पेटिङ नगर्ने भए राईजरमा मात्र रङरोगन गर्न सकिन्छ। भित्तामा आकर्षक रङ लगाउँदा भर्‍याङ मात्र होइन, घर नै सुन्दर देखिन्छ।

भर्‍याङको भित्तामा मुरल आर्ट गर्न पनि सकिन्छ। परिवारको फोटो फ्रेम, सुन्दर दृश्यका चित्र, सकारात्मक सन्देश र ऊर्जा दिने चित्रकला पनि राख्न सकिन्छ। फराकिलो भर्‍याङ भए खुट्किलामा फूल वा अन्य बिरुवा राखे कोठा सधैं हरियाली देखिन्छ। भर्‍याङलाई सुरक्षित बनाउन बत्तीको प्रयोग गर्नुपर्छ। बत्तीले घरको रौनक पनि बढाउँछ।

भर्‍याङको तलपट्टिको खाली भागलाई 'स्टेयर केश' बनाएर सामान राख्न पनि उपयोग गर्न सकिन्छ। बुक केश पनि बनाउन मिल्छ। क्षेत्रफलका आधारमा भर्‍याङलाई बहुपयोगी बनाउन सकिन्छ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम