१२-१८ मंसिर २०७३ | 27 Nov - 3 Dec 2016

राजमानको काठमाडौं

Share:
  
- निल्स गुट्स्चो
१९औं शताब्दीको मध्यतिर राजमान सिंहले बनाएका काठमाडौं उपत्यकाका पेन्सिल चित्रहरू नेपालमा पहिलो पटक प्रदर्शन भइरहेका छन्।

राजमान सिंहले सन् १८२८ देखि १८४४ सम्म तत्कालीन बेलायती रेजिडेन्ट ब्रायन हटन हड्सनसँग काम गरेका थिए तर, उनको कामबारे विश्वले १५० वर्षपछि मात्रै थाहा पायो; त्यो पनि रेमण्ड हेडका कारण। लन्डनको रोयल एसियाटिक सोसाइटीमा रहेका राजमानका ५० चित्रहरू फेला पारेका हेडले २० वर्षअघि तीमध्ये पाँच वटा चित्र प्रकाशित गरेका थिए। राजमानका चित्रहरू उनका समकालीन हेनरी अम्ब्रोस ओल्डफिल्डका पानी रंगका चित्रकलाभन्दा पृथक् छन्। बेलायती दूतावासका सर्जन हेनरीले सन् १८५० मा बनाएका ७५ चित्रकला अहिले ब्रिटिश लाइब्रेरी र रोयल जियोग्राफिक सोसाइटीमा छन्। सन् १८५५ मा इलस्ट्रेटेड लन्डन न्यूज मा प्रकाशित तिनैमध्येका दुई चित्र संभवतः काठमाडौं उपत्यकालाई विश्वसँग परिचित गराउने प्रथम चित्र थिए।

एसियाटिक सोसाइटीमा रहेका राजमानका ५० चित्रकलामध्ये केही भने १ पुससम्म काठमाडौंस्थित हयात होटलको तारागाउँ संग्रहालयमा प्रदर्शनका लागि राखिएको छ। सन् २०१४ मा ब्रिटिश लाइब्रेरीका क्यूरेटर जेरेमा लष्टीले हड्सनले प्रकाशित गरेका राजमानका फरक फरक चित्रकलाबारे लेखेका छन्। लष्टीले राजमानका चित्रहरू 'यूरोपेली शैली झैं कुशल र आत्मविश्वासी' भनेका छन्। उनले यी चित्रहरूमा कलकत्ता स्कूल अफ पेन्टर्सका उत्पादनजस्तै कारिगरी र वास्तविक दृश्य जस्तो देखिने गरी बनाउन 'क्यामेरा लुसिडा' को प्रयोग गरेको पनि बताएका छन्।

मैले सन् २००० मा लष्टी र डेभिड वाटर हाउसलाई रोयल एसियाटिक सोसाइटीमा राजमानका चित्रहरू व्यवस्थित गर्दै गरेको भेटेको थिएँ। त्यसबेला राजमानका मौलिक कृति देखेर म अभिभूत भएँ। मैले उतिबेलै यी चित्रहरू 'डिजिटाइज' गर्ने र नेपालमा प्रदर्शनका लागि रकम संकलन गर्ने निधो गरेको थिएँ।

राजमान पाटनको चित्रकार परिवारका सदस्य थिए। यस उपमहाद्वीपमा फोटोग्राफी आउँदै गरेको बेला उनी नेवार बस्तीका मन्दिरका चित्रहरू बनाउँथे। राजमानले दृश्यहरू आफैं पनि थपिदिन्थे। भक्तपुरको दत्तात्रेय मन्दिरको चित्रमा उनले ठूलो पृष्ठभूमिमा चारवटा बुद्ध आकृति पनि बनाएका छन्, जुन त्यहाँ कहिल्यै थिएन। न्यातपोल मन्दिरको चित्रमा पनि अग्लो भवन देखाइएको छ, जसको अस्तित्व कहिल्यै देखिएन।

राजमानले बनाएका मन्दिरका चित्रकला समग्र मात्र होइन, केही 'ग्राउण्ड प्लान' पनि देखाइएको छ, यद्यपि त्यसको सही माप भने छैन। राजमानले बनाएको एक सय वर्षपछि मात्र सन् १९६८ मा उल्फगाँग कोर्नले काठमाडौंका मन्दिरहरूको व्यावसायिक मापसहितको चित्र बनाएका थिए, जुन अहिले नेपाल आर्किटेक्चर अर्काइभमा राखिएको छ।

राजमानले हट्कास्थित इबाबाही गुम्बाको अघिल्तिर रहेको लक्ष्मी–नारायण र महादेव मन्दिरको पनि 'ग्राउण्ड प्लान' सहितको चित्र बनाएका छन्। यो चित्रबाट थाहा हुन्छ, महादेव मन्दिरको तीन तहको छानो १९९० सालको भूकम्पमा भत्केपछि गुम्बज शैलीमा पुनःनिर्माण गरियो। राजमानले मन्दिरको समग्र चित्र बनाउँदा अघिल्तिर एउटा ताडको रूख पनि बनाएका छन्। तर उकुबहाको साँघुरो गल्लीमा त्यस्तो रूख हुने कुरै भएन।

राजमानले पाटन दरबार स्क्वायरका तीन मन्दिरहरूलाई नजिक्याएर अनौठो संयोजनको चित्र बनाएका छन्। बीचका चार नारायणलाई राजमानले तवदेव नारायण भनेका छन्। १९९० सालको भूकम्पले क्षति पुर्‍याएर ढल्नै लागेको मन्दिरको यो चित्र दुःखद् देखिन्छ। तर भुईं तलाका फाटक र माथिल्लो तलाका झ्यालहरू भने ठीकठाक देखिन्छन्। पुनःनिर्माण गरिएको यो मन्दिर २०७२ सालको भूकम्पले भने क्षतिग्रस्त बनायो।

हुलाक टिकटमा राजमानः राजमानको अनुहार कस्तो थियो कसैलाई थाहा छैन। तर कलाकार मदन चित्रकारको कल्पनामा राजमान यस्ता देखिन्थे ।

चार नारायण मन्दिरको पुनःनिर्माण त हुने नै छ तर कसरी? मुख्य प्रश्न यही हो। काठमाडौं उपत्यका संरक्षण ट्रष्टले भत्किएको मन्दिरका काठ, ईंटा जस्ता सामग्रीमध्ये केही मात्रै सुरक्षित राखेको छ। यसअघिको भुईंचालोमा भने सबै काठका सामग्री दाउरा बनाउने काम गरिन्थ्यो। तर, ट्रष्टले पुनःनिर्माणमा अत्याधुनिक स्टेनलेस स्टीलका किलाकाँटी, नटबोल्ट र स्क्रूहरूको प्रयोग गरिरहेको छ।

बिडम्वना, सम्पदा संरक्षण बहस परम्परागत विश्वास प्रणालीको कट्टरतामै अल्झिएको छ। वास्तवमा संरक्षणले नै पुराना विश्वासलाई प्रतिनिधित्व गर्ने हो। भुईंचालोमा भत्किएका भवनलाई पुनःनिर्माण गर्ने विभिन्न तरीका हुनसक्छन्। तर, सत्यमाथि कसैको एकाधिकार हुनुहुँदैन।

comments powered by Disqus

रमझम