१२-१८ मंसिर २०७३ | 27 Nov - 3 Dec 2016

ढोकैमा क्याफेमा फ्रेदी स्वाद

Share:
  

स्वीस विकासविद् टोनी हागनले नेपालीलाई याक चिज बनाउन सिकाएको ६० वर्षपछि गएको महीना अर्का स्वीस फ्रेदी अन्दरमत नेपाल आए। र, नेपालीलाई बेकरी र पेस्ट्रिजका विभिन्न परिकार बनाउन तालीम दिए।

गोपेन राई

३ मंसीरमा पाटनढोकास्थित ढोकैमा क्याफेमा भेला भएका बेकरी पारखीमाझ्ा अन्दरमत मग्न देखिन्थे। बेकरीको एकमहीने तालीम सकिएपछि उनी आफैंले बनाएका परिकार चाख्न आएकाहरू कहिल्यै नपाएको स्वादको आनन्दमा पुलकित भइरहेका थिए। “विश्वप्रसिद्ध सेफका बेकरी परिकार चाख्न पाउनु आफैंमा अद्भुत अवसर हो”, 'अ टेष्ट अफ ढोकैमा' कार्यक्रममा निम्त्याइएका थिर केसी भन्दैथिए। यता फरासिला अन्दरमतलाई बधाई र धन्यवादको थुप्रो लागेको थियो। “मलाई यतिबेला बधाईले हल्का मात दिइरहेको छ”, एक हूल पारखीसँग तस्वीर खिचाएपछि उनले भने, “एउटा सेफका लागि योभन्दा खुशीको क्षण अर्को हुनै सक्तैन।”

ढोकैमा क्याफेका सञ्चालक कीर्तिराज स्याङदेनका अनुसार, एकमहीने काठमाडौं बसाइँमा अन्दरमतले चार जना बेकरलाई ब्रेड, पेस्ट्रिज र डिजर्टका ४० भन्दा बढी परिकार बनाउन सिकाए। उनी ढोकैमाकै निमन्त्रणा र जर्मनीको सिनियर एक्सपर्टन् सर्भिसको प्राविधिक सहयोगमा पहिलोपटक नेपाल आएका थिए। तर, अन्दरमतका लागि नेपाली भने नौला होइनन्, दोहा र कतारमा सेफका रुपमा कार्यरत नेपालीलाई उनले यस्तै तालीम दिइसकेका छन्। “साँच्चै भन्ने हो भने मलाई आफैंले केक बनाउन भन्दा सिकाउनमै सन्तुष्टि मिल्छ”, उनको भनाइ थियो।

फ्रेदी अन्दरमत।

ढोकैमाका बेकरी सेफ सुदन खरेलका लागि अन्दरमतसँगको प्रशिक्षण दुर्लभ थियो। “बेकरी र पेस्ट्रिजमा उहाँको ज्ञान अचम्मको थियो”, खरेल भन्छन्, “नयाँ स्वाद दिने आत्मविश्वास बढेको छ।” अन्दरमतसँग प्रशिक्षण लिएका अर्का बेकर कृनित स्याङदेन नयाँ नयाँ सामग्री प्रयोग गरी नयाँ उत्पादन बनाउने सीप सिकेको बताउँछन्।

त्यसैले ५६ वर्षीय अन्दरमत बेकर्सलाई तालीम दिन संसार घुमिरहन्छन्। यूरोप, अफ्रिका र पश्चिम एशियाका धेरैजसो मुलुकमा आफ्ना विद्यार्थी बनाइसकेका उनले जी–८ शिखर सम्मेलनमा सहभागी समेतलाई आफ्ना हातको परख चखाइसकेका छन्। अमेरिकाको मियामीमा क्रुजमा कार्यरत रहँदा 'सेफ अफ द इयर' चुनिएका उनी अमेरिकी कलिनरी म्यागेजिनमा स्वीस स्वादबारे लेखिरहन्छन्।

“यसपटक नेपालीलाई प्रशिक्षण दिन, नेपाल र नेपालीसँग भिज्न पाएँ”, कुराकानीका क्रममा उनले भने “नेपाली जिब्रोमा मेरो स्वाद पसेको छ, अब ढोकैमाका प्रशिक्षार्थीहरूले तपाईंलाई मेरो याद दिलाइरहनेछन्।”

comments powered by Disqus

रमझम