१९-२५ मंसिर २०७३ | 4-10 December 2016

नेपालको स्वतन्त्रतामा जोड

Share:
  
- ज्ञानमणि नेपाल
विश्वयुद्धमा सहयोग गरेबापत ब्रिटिशबाट जमीन पाउने आशा राखेका चन्द्रशमशेरले नेपालको स्वतन्त्रतालाई उच्च प्राथमिकता दिएका थिए।

ब्रिटिश–इण्डियाका विदेश विभाग हेर्ने कायममुकायम राजनीतिक सचिव कर्णेल आर ई. हाल्याण्ड वि.सं. १९७६ मा नेपाल आएका थिए। प्रथम विश्वयुद्ध अघि पनि नेपाल आएका यिनी १९७६ साल वैशाख १ गते चन्द्रशमशेरसँग भेट–मुलाकात गर्न सिंहदरबार पुगेर कोठामा गोप्य वार्ता गर्दै थिए। बाहिर बरण्डामा जर्नेलहरू मोहनशमशेर जबरा, बबरशमशेर, केशरशमशेर र बडाकाजी मरिचमान सिंहहरूलाई भित्रका कुरा सुन्ने गरी राखिएको थियो।

कर्णेल हाल्याण्डले विश्वयुद्धमा नेपालले सहयोग गरेबापत ब्रिटिशले के सहायता गर्नुपर्छ भनी सोध्दा महाराजले आफैं अघि सरेर माग्नु असजिलो कुरा हो भन्दै अघि सन् ५७ को गदर (वि.सं. १९१४) मा पनि ब्रिटिशलाई भरमग्दुर मद्दत दिएको र त्यसबापत कृतार्थ भएर ब्रिटिश सरकारले नेपाललाई जमीन (नयाँ मुलुक) नै दिएको सम्झाए। अहिले यत्रो विश्वयुद्धमा नेपालीले ज्यान दिएर भरमद्दत दिएकोमा पहिले जस्तै गुणको कदर गरेर ब्रिटिशले जमीन नै देलान् भन्ने आशा भरोसा हाम्रा दुनियाँदार र भारदारहरूले राखेका छन् भन्दै उनले नेपालतर्फको इच्छा जाहेर गरेका थिए। भारदारको तर्फबाट स्वयं अघि सरेर माग्न पनि असजिलो, धेरै मागौं भने तपाईंहरू रिसाउनुहोला भन्ने डर, थोरै मागौं भने पनि हाम्रा मान्छेको मन नाखुश हुने सम्भावना हुने भन्दै महाराजले भने, “मुख फोरेर भन्न धेरै असजिलो छ, न भनौं भने पनि मुख नफोरी दिउल देखिंदैन।”

ब्रिटिश सचिवले महाराजको आशय बुझेपछि जमीन नदिने कुरा गरे। उसवेला विद्रोह दबाउन नेपालले मद्दत गरेबापत जमीन फर्काए पनि अहिले जमीन नै नभएकोले बडो मुश्किलै परेको उनले बताए।

वास्तवमा ब्रिटिश भनेका नाफा–नोक्सान हेरेर पाइला चाल्ने नितान्त व्यापारिक जाति हुन्। जब नेपालसँग युद्ध हुने भयो, अंग्रेज चतुरले युद्ध खर्चको जोहो गर्न लखनौको नवाफलाई मोटो जजमान बनाइहाल्यो। उसले नेपालसँग युद्ध लड्न खर्च देऊ, त्यसको बदलामा तिमीलाई शिकार खेल्ने जंगल दिनेछु भनेर नवाफबाट चाहिंदो युद्ध खर्च लियो। चाहिंदो जनबल धनबल पाएपछि अंग्रेजले सहजै युद्ध जितिहाल्यो।

त्यसवेलाका नेपाली शासकमा न अक्कल थियो न ताकत। विना साधनस्रोत युद्ध छेड्दा नेपालले ठूलो हार खानु पर्‍यो, पूर्व–पश्चिमका धेरै जमीन गुमाउनु पर्‍यो। जितेको जमीनको अंश नवाफलाई दिंदा पनि अंग्रेज उक्सिगयो। उसलाई त 'जहाँको दुवाली, त्यहींको चपरी' पनि गर्नु परेन, नेपालले चाहिं अति ठूलो क्षति बेहोर्नु पर्‍यो। अमर्यादित सन्धि पनि बेहोर्नु पर्‍यो, जसको पीडा अहिलेसम्म खपिरहनुपरेको छ।

ब्रिटिशले पहिले जस्तै अहिले पनि जमीन नै दिएको भए नेपालको हारको पीडामा मलमपट्टी लाग्नेथियो। जंगबहादुरले जस्तै चन्द्रशमशेरले पनि घुमाउरो पाराले जमीनै पाउने प्रयास त गरे, तर पाएनन्। जमीनजस्तो नगद हुँदैन। जमीनको आयस्ता धेरै प्रकारको हुन्छ, बढ्दै पनि आउँछ भनेर महाराजले जोड गर्दा कर्णेल हाल्याण्डले पहिले पाएको जमीनको अहिले बढेको आम्दानी कति हुन्छ, त्यसै अनुसार अफगानिस्तानलाई दिए जस्तै सब्सिडी दिने बताए। नयाँ मुलुकको ६० वर्षपछि अहिले बढेको आम्दानीको हिसाबले दिने भनेपछि महाराज लोभिए।

हाल्याण्डले अर्को कुरा पनि कोट्याए, नेपाल–अंग्रेज सन्धि पत्रमा केही संशोधन गर्नुपर्छ कि भन्दै। त्यसमा महाराजले सन्धि त्यस्तै भए हुन्छ, तर सार्वभौम स्वतन्त्र देशको व्यवहार गरिदिए हुन्छ भने। नेपाल स्वतन्त्र राज्य हो भन्ने ख्याल राखेर सबै व्यवहार गरे भइहाल्छ, चीनसँग नेपालको जस्तो सम्बन्ध छ, त्यसले ब्रिटिशलाई केही नोक्सान छैन भन्दै महाराजले भने, “नेपाल चीनको अधीनमा छैन, नेपालले आफ्नो विदेश नीतिमा ब्रिटिश अधीन जस्तो पार्न पनि कदापि हुन्न, नेपाललाई सर्वतन्त्र स्वतन्त्र व्यवहार गर्नुहोस्, सन्धिमा फेर्ने कुरा छ भने तपाईं नै भन्नुहोस्।”


वि.सं. १९७६ वैशाख १ गते १ बारका दिन श्री ३ चन्द्रशमशेर र ब्रिटिश इण्डियाका परराष्ट्र सचिव कर्णेल हाल्याण्डका बीचमा भएका प्रथम विश्वयुद्धमा नेपालले ब्रिटिश सरकारलाई दिएको सैनिक र सम्पत्ति सहायता बारेको वार्तालाप

कर्णेल हाल्याण्ड– अरु कुरा भन्नु हुनु केही छ कि.

श्री ३– यो लडाईमा नेपालले गरेको मदतका खातीर यो मिलोस् उ मिलोस् भनी म के भंनु कदरदान बृटिश सरकारबाटै तेस कुराको कदर रहोस्. हाम्रो याहा भारदाहरू यस बारेको कुरा बराबर गर्छन. भन्छन् कि म्युनिटी पछि मुलुक फिर्ता मिलेको थियो भनी ठूलै उमेद राखी रहेछ मैले माग्नालाई असजिलो छ. धेरै मागुं तपाईहरू दिनुहुनेछैन. मागेको कुरा दिएन भनी रिसायेछ भंने तपाईहरूको दिलमा पर्ला. फेरी हाम्रा मानिसका दिलमा पनि मागेको दिएनन् भन्ने पर्न जान सक्छ. थोरै मागु भने इनीले थोरै मागेकाले थोरै आयो धेरै भने(को) भया धेरै आउने थियो भनी मेरा मानिसहरूले नै दोष दिनेछ. माग्नेले यो उ ल्याउ भंन्न हुंदैन.

क. हाल्याण्ड– जमीन दिनालाई कहा छ र म्युनिटीमा दियाको त फर्कायाको सम्म हो अहिले त्यसो गर्न साह्रै मुश्किलमात्र होइन कि होइनै नसक्ने कुरा छ.

श्री ३– हो अहिलेलाई त्यस्तो कुरा कठिनै हुंन्छ.

क. हाल्याण्ड– सब्सिडी दिने गरे कसो होला.

श्री ३– यो कुराको विचार मैले गरेको छैन. मेरो चित्तले कबुल हुन सको होलाजस्तो लाग्छ. तर यस्तो कुरामा पहिले भारदारहरूको राय नली उनीहरू संग छलफल नगरी ठीक भन्न सक्तिन. तर मुलुक आए जस्तै हीसाबसंग दाम आउने भयो भने नामंजुर होला जस्तो त लाग्दैन. भारदारहरूको मनमा मुलुकै आउंछ भंने परेको छ. (रुपैया आये जमीन झै फनकाण्डिशन्ली र इन्पर्च्युटी मिल्ने गराई लिनपर्छ भंने हेतुले यो कुराको विचार गरेको छैन, भारदारहरूसंग राय लिनुपर्दछ भंने हुकुम भएको हो)

क. हाल्याण्ड– यो कुरा मैले तपाईसंग आफ्नै तरफबाट मात्र गरेको हुं. यस बारेमा कुरा गर्नु भंने अख्तियार पाई आयाकोले तपाईसंग कुरा गरेको होइन. दाम हुने भये भने कति हुनुपर्ला.

श्री ३– तेस्मा म के भंनु. अफगानिस्तानले पनि सब्सिडी पाइआएकै छ. भारदारहरूका दिलमा जमीनै मिल्छ भंने छ.

क. हाल्याण्ड– भारदारहरू भनेका को हुन्.

श्री ३– भारदारहरू कौशलका मेम्बरहरू हुन् ठुलाठुला कुरामा इनीहरूको राय लिई काम हुन्छ.

क. हाल्याण्ड– अघि म्युनिटीमा आयाको जमीनको आम्दानी कति थियो.

श्री ३– सो मुलुक मिलेको बेलामा जमीनको पोत सालको कंरु. १७२००० थियो क्यारे. क. हाल्याण्ड– त्यै हिसावसंग दाम दिए कसो होला.

श्री ३– जमीन भनेको जमीनै हो. उसै वेला पनि अरु कलमबाट आम्दानी हुंदे होला. अहिले तेसैमा कति आम्दानी बढी सकेकै छ. अरु पछि कति बढनेछ. अघि र अहिलेको आम्दानी उतारी तपाईछेउ पठाई दिउला.

क. हाल्याण्ड– मेहरवानीसाथ दिनुहोला. हालका बृटिश नेपालका बीचको टि्रटीमा केही तवदिल गर्नुपर्ने छ कि.

श्री ३– छैन. हामी केही तवदिल चाहदैनौं सोही टि्रटीबमोजीम भया हुन्छ. भन्छौं टि्रटीमा एकेडिटेड मिनिष्टर रहने भंने लेखियाको छ. अहिले बृटिश मिनिष्टरलाई रेजिडंट भन्छन्. नेपाल स्वतन्त्र राज्य हो भंने कुरा सो ख्याल राखी सोही माफिकसंग सबै कुराको व्यवहार गर्नु भया पुग्छ. चीनसंगको हाम्रो जस्तो सम्बन्ध छ तेस्ले बृटिश गभरमेटलाई के नोक्सान छ. नेपाल चीनको अधीनमा छैन. नभैकन पनि अधीनत्व छोडे भने वा नेपालले आफ्नो फरेन् रिलेशन् बृटिशका कंट्रोलमा राखे भने यस्तो नराम्रो कुराहरू कबुल गर्नु ता नेपालले आफ्नो स्वतन्त्रतालाई होच्याउनु जस्तो हुंछ. आफ्नो मुलुकको स्वतन्त्रता र सोही बमोजिमको व्यवहार चाहदछौं. टि्रटी बदलने केही कुरा छ भने भंनुहोस्.

क. हाल्याण्ड– मेरो मनमा केही छ जस्तो लाग्दैन.

comments powered by Disqus

रमझम