१९-२५ मंसिर २०७३ | 4-10 December 2016

गोठमा हुर्कंदैछ एउटा पुस्ता

Share:
  
- मीना शर्मा
अन्धविश्वासमा जकडिएको बाजुरा, हुम्ला र मुगुका दुर्गम गाउँमा महिलाले बाहिरी दुनियाँको लागि अकल्पनीय अवस्था भोगिरहेका छन्।

तस्वीरहरुः मीना शर्मा
बाजुरा, रुगिनकी सुत्केरी सरस्वती बुढथापा छाउ गोठबाट बाहिर निस्कँदै।
महिला भएकाले पनि होला 'छाउ' बारे अलि बढी नै चासो लाग्छ। छाउ नेपालभरि नै छ भन्ने जानकारी मलाई छ, तर आफ्नै आँखाले दुर्गमका छाउ हेर्न मैले बाजुरा, हुम्ला र मुगुका गाउँबस्ती जाने निधो गरेर ६ कात्तिक २०७३ मा काठमाडौंबाट बस चढेर तेस्रो दिन बाजुरा सदरमुकाम मार्तडी पुगें।

मार्तडीमा जिल्लाको अति दुर्गम उत्तरी गाविसहरू– बिच्छ्या र रुगिनका साथै हुम्लाका मैला, मदेना अनि मुगुको ह्याङ्गलु, श्रीकोट र सेरी गाविस पुग्ने १० दिने पैदल यात्राको तयारी भयो। साथ दिन तयार भए, स्थानीय पत्रकार प्रकाश सिंह।

९ कात्तिक बिहान मार्तडीबाट पाण्डुसैन जान चढेको जीप एक घण्टा पनि नगुडी हिलोमा फस्यो। आधा घण्टाको प्रयासमा बल्लतल्ल जीप निकालेर अर्को चार घण्टामा हामी पाण्डुसैन पुग्यौं। त्यहाँबाट तीन घण्टा पैदल हिंडेर कोल्टी पुग्यौं। १० कात्तिक बिहान कोल्टीबाट बाँधुतर्फ लागियो। यात्रामा पत्रकारको प्रयास हुन्छ– भेटेसम्म समाचारका कुनै विषय नछोड्ने। तर, गोठमा बसेका सुत्केरी भेट्नु हाम्रो यात्राको विशेष उद्देश्य थियो। हामी ४७० घरधुरी भएको बाँधुको धिम गाउँ जाने उकालो लाग्यौं।

अनि धिक्कार लाग्यो

धिम उत्तरी बाजुराको सबभन्दा ठूलो बस्ती हो। राँघे भीरको अप्ठ्यारो उकालोमा पानीको बोत्तल र शरीरको शक्ति सँगसँगै रित्तिंदै थियो। तर पनि धिम पुग्नु थियो। सातघण्टा नाक ठोक्किने उक्कालो हिंडेर हामी ११ कात्तिक दिउँसो १.३० बजे धिम पुग्यौं। हामी स्वयंसेविका रामुदेवी मल्लको घरमा झोला राखेर अर्की स्वयंसेविका चन्द्रकला बुढासँग सुत्केरी बसेका गोठहरूमा पुग्यौं।

गोठको अवस्था हेरेपछि मेरो भोक, तिर्खा र थकाइ करुणामा बदलियो। फोहोर, चिसो र हावा नखेल्ने गाईगोठमा सुत्केरी बसेका छन्। अँध्यारोमा भविष्यका कर्णधारहरू हुर्काइरहेका छन् आमाहरू। मैले 'सुरक्षित मातृत्व', 'नियमित गर्भ परीक्षण', 'पोषणयुक्त खाना' भन्ने सरकारी नारा सम्झिएँ अनि धिक्कार लाग्यो। त्यस अपराह्न हामीले कुरा गरेका तीन जना सुत्केरीको भनाइ आफैंमा राज्यको हेपाइ, सामाजिक भेदभाव–विभेद, विपन्नता र अन्धविश्वासका 'टेस्टामेन्ट' थिए। १० दिन तीन जिल्लामा हिंड्दा भेटिएका ९ जना सुत्केरीको अवस्था हाम्रो देशको दुर्दान्त तस्वीर पनि थियो।

फोहोर गोठमा परालको ओछ्यान, झिंगाको बथान, बासी खाना नियाल्दै मैले काठमाडौंका अस्पतालमा बच्चा जन्माउने सुत्केरीहरूलाई सम्झें। एउटै देश, एकै पुस्ता, एउटै नागरिकता भएर के गर्नु, जीवनशैलीमा आकाश र धरतीको फरक छ। हामी सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ भन्छौं, महिला अधिकारको कुरा गर्छौ र आफ्नो शरीर आफ्नो अधिकार पनि भन्छौं। 'घर शान्ति नै विश्व शान्तिको आधार, लैङ्गिक हिंसारहित समाज' भनेर महिला हिंसा विरुद्धको १६ दिने अभियानमा छौं। तर, मैले धिममा भेटेका सुत्केरीहरूले देउता खुशी बनायो भने परिवार खुशी हुन्छ भनेर गोठमा बसेको बताए। अन्धविश्वासको पराकाष्ठा!

मेरै उमेरका र अझ् साना पनि कुपोषण सहेर महीना दिनसम्म गाईगोठमा बसेका छन्। उनीहरूको लागि जीवन, जवानी, अधिकार, स्वतन्त्रता अर्थहीन भएको छ। समाजका गन्यमान्यहरूलाई भेटेपछि अर्को कुरा थाहा भयो– गोठका सुत्केरीलाई घरमा सार्न सहज छैन। किनभने, उनीहरूलाई भगवानको डर छ, परिवारको अहित नहोस् भनेर आफूपछिको पुस्ता गोठमा हुर्काइरहेका छन्!

बाजुराको मार्तडीबाट पाण्डुसैन जाने क्रममा मार्तडीको उकालोमा फसेको गाडी।
११ गते राति धिममा हामी लिपपोत गरेको सफा घरमा बास बसेका थियौं, ज्यादै थाकेको भए पनि उडुसले टोकेर निदाउन दिएन। गोठमा सुत्केरीहरूको हालत के होला? भनेर सोच्दै रात काटेर बिहानै रुगिनतिर हिंड्यौं। भीरको साँघुरो बाटो, सीधै तल कर्णाली। ढुंगे बाटामा कतैकतै सिस्नुका पोथ्रा र सिउडीका रूख भेटिन्छन्। सास रोकेर हिंड्दै साढे दुई घण्टामा रुगिनको फैती पुग्यौं, जहाँ कुरा गर्न शिक्षक देवराज पाण्डे भेटिए। उनले बच्चा जन्मने समय भएकी श्रीमतीलाई चारघण्टा परको रुगिनतिर हिंडाउन नसकेको बताउँदै भने, “म त तपाईंहरू डाक्टर हो कि भनेर दौडेर आएको!”

संस्कार हो, मान्नै पर्‍यो!

फैतीबाट हामी सातघण्टामा रुगिन स्वास्थ्यचौकी पुग्यौं। स्वास्थ्यकर्मीहरू भेटिंदैनन् कि भन्ने चिन्ता थियो, तर काठमाडौंबाट पत्रकार आउँदैछन् भन्ने सुनेर पर्खेर बसेका रहेछन्। गोठमा सुत्केरीको प्रसंग उठाउनासाथ अहेव धनबहादुर फडेराले फरर्र भने, “बाजुरामा मात्रै होइन, मध्य र सुदूरपश्चिमका दुर्गम गाउँमा यो समस्या छ, मेरै जिल्ला कालीकोटमा पनि यस्तै चलन छ।”

त्यसपछि हामीले गोठमा बसेकी १२ दिनकी सुत्केरी सरस्वती बुढथापालाई भेट्यौं। उनले 'भूत नलागोस् भनेर' ढोकामा बन्चरो झुण्ड्याएकी थिइन्। अरू सुत्केरीको जस्तै उनको कम्मरमा पनि हँसिया थियो। रुगिन स्वास्थ्य चौकीकी अनमी प्रेमकला मल्लले चाहँदैमा यस्तो अन्धविश्वास हटाउन नसकिने बताइन्।

अनि हामी बाजुराको कवाडी भन्ने ठाउँतिर लाग्यौं। मुगु, हुम्ला र बाजुराको संगमस्थल जस्तो रहेछ, कवाडी। रात पर्न थालिसकेको बेला साँघुरो ओरालो बाटोमा आठजना स्थानीय थकाइ मारिरहेका भेटिंदा हामी पनि एकछिन बस्यौं। समूहमा काखमा सानो बच्चा लिएकी गर्भवती महिला पनि थिइन्। 'तपाईंको बच्चा जन्मने कहिले हो?' भनेर सोध्दा उनले मसिनो स्वरमा भनिन्, “पुसमा।”

मैले 'पुसको चिसोमा पनि गोठमै बस्नुहुन्छ होला' के भनेकी थिएँ, पुरुषहरूले लगभग एकैस्वरमा भने, “संस्कार हो, मान्नु परिहाल्यो नि!”

अन्धविश्वासको पराकाष्ठा!

बाजुराका गाउँहरूमा दिक्क भएको मन हुम्लाको मैला पुग्दा झ्न् विरक्तियो। त्यहाँका महिलाहरूको समान बुझाइ थियो–परिवारलाई राम्रो हुन्छ भने गोठमा किन नबस्ने? आफू गोठमा जन्मिएको हो, आफूले पनि गोठमा बच्चा जन्माउँदा राम्रै भइरहेको छ। गहिरोसँग जरा गाडेको यस्तो अन्धविश्वासबारे कुरा गर्दा एमालेका जिल्ला नेता देउचे सार्कीले उल्टो प्रश्न गरे, “देउताको डरले आफैं गोठमा बसेका महिलाहरूलाई हामीले कसरी रोक्नु?”

हुम्लामा त 'सुत्केरीलाई हरियो सागसब्जी दिनुहुन्न' भन्ने मान्यता पनि रहेछ। यसरी आमा र बच्चा दुवैलाई कुपोषणको शिकार बनाइँदो रहेछ। बाटामा दूध–मही छ कि भनेर सोध्दा कसैले छ भनेनन्। गाई–भैंसी भएको घरमा पनि 'छैन' भने। मुगुको श्रीकोटमा थाहा भयो– गोरस दिनलाई दलित होइन भन्ने प्रमाणित हुनुपर्ने रहेछ। श्रीकोटबाट चारजना भएका हामीले 'दुई बाहुन, एक क्षेत्री र एक जना ठकुरी हौं' भन्यौं। मैले छुइ भएको छैन, भएको भए यसरी हिंड्न सक्दिनथें भनेर थप एउटा स्पष्टीकरण दिनु पर्‍यो। छुइ भएकालाई पनि गोरस दिइँदो रहेनछ। अहिले राजधानीमा रहँदा पनि मलाई दिक्क लागिरहेको छ– देउता रिझाउन महिलाले कहिलेसम्म यो सब सहिरहने?


सुत्केरी संवाद

बाजुरा, हुम्ला र मुगुका आमाहरूको अवस्थाले 'नियमित गर्भ परीक्षण', 'सुरक्षित मातृत्व', 'पोषण' जस्ता सरकारी नारालाई मिथ्या प्रचारवाजी साबित गरिरहेको छ।

ल बाजुरा, हुम्ला र मुगुबाट फर्केर मीना शर्मा र प्रकाश सिंह, खोज पत्रकारिता केन्द्र

नन्दसरा सार्की (२३) बाँधु, बाजुरा

११ कात्तिक, २०७३। आज मैले बच्चा जन्माएको १२ दिन भयो। सुत्केरी भएपछि म यो गोठमा बस्दै आएकी छु। बच्चा जन्मिसकेपछि सुत्केरी र बच्चालाई घरमा छुन हुँदैन। छुई (महीनावारी) र सुत्केरी भएको समयमा म मात्र होइन हाम्रो घरका सबै महिला यसैगरी गाईगोठमा बस्ने गर्छौं। मेरो माईत हुम्लामा पनि सबै गोठमै बस्छन्। सुत्केरी भएको बेला १० दिन मात्र घरकाले पकाएर दिन्छन्, ११औं दिनदेखि आफैं पकाएर खानुपर्छ।

अहिलेसम्म मैले पाँचवटा बच्चा जन्माएँ। प्रत्येक पटक एक महीना गोठमा बस्दै आएकी छु। यो बच्चालाई चिसोले खोकी लागेको छ, दिसा पनि पातलो भएकोले घाममा लिएकी हुँ। आगो नबाल्दा गोठ धेरै चिसो हुन्छ। पहिलेका मेरा दुई बच्चा चिसोकै कारण भगवानका नजिक भए। जन्माएका सबै कहाँ बाँच्छन् र? सबैका बच्चा मरेका हुन्छन्, मेरा पनि मरे।

स्वास्थ्य चौकीमा बच्चा जन्माउँदा डाक्टरले गोठमा बस्न हुन्न भन्छन्, तर हामी बस्ने गोठमै हो। घरमा बस्दा देउता रिसाउनुहुन्छ। देउता लागेपछि परिवारमा समस्या हुन्छ, बालीनाली राम्रो हुँदैन। बाँचेका बच्चालाई पनि राम्रो हुँदैन। म पनि गोठमा जन्मिएँ, अहिलेसम्म केही भएको छैन। त्यसैले आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न। संस्थाका सर, म्याडमहरू पनि आएर गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर हामीलाई गोठमै राम्रो भइरहेको छ। खान पाएकै छौं, परिवारसँगै छौं। परिवारलाई नराम्रो हुने काम गर्नुहुँदैन।

पहिलाका सबै जना गोठमा बस्दा केही भएको छैन भने हामी बस्दा के समस्या हुन्छ र? चल्दै आएको चलन किन नमान्ने? गोठमा बस्दा बच्चा मर्‍यो भने आमा मात्र चाहिं धेरै दिन गोठमा बस्नुपर्दैन। मेरा छोरी मात्र छन्, अंश खाने छोरो जन्माउनु छ। पाप गर्‍यो भने छोरो जन्मिंदैन। छोरो जन्मँदा पनि गोठमै बस्ने हो।

मागी चदारा (१७) ह्याङ्गलु, मुगु

१४ कात्तिक। छोरी जन्मिएको १३ दिन भयो। छोरीलाई गोठमा सुताएर धान काट्न पनि गएँ, आज। अब (११ बजेको छ) यो घाँस भैसा (भैंसी) लाई हालिदिएर खाना खाने अनि छोरीलाई दूध खुवाएर फेरि घाँस काट्न जान्या हो। स्वास्थ्य (चौकी) नजिकै छ, पाँच मिनेटमा पुगिन्छ। त्यहाँ गयो भने नियमित जँचाउनुपर्छ, गोठमा बस्नुहुन्न भन्नुहुन्छ। त्यसैले, गोठमै बच्चा जन्माएँ।

सर म्याडमहरू आएर गोठमा बस्नुहुन्न, सफा ठाउँमा बस्नुपर्छ भन्नुहुन्छ, तर भनेजस्तो सबै कुरा कहाँ पुग्छ र? फेरि गाउँका मान्यजनहरूले गोठमा बस्नुपर्छ भनेपछि घरमा बस्नु पनि भएन। बच्चा जन्माउन आमा, सासू, जेठानी, भाउजू र छिमेकी सबै गोठमा बस्नुहुन्छ, कसैलाई केही भएको छैन, मलाई के हुन्छ र?

१५ वर्षमा भागेर विवाह गरेकी हुँ। लभ परेर बिहे गरे पनि सधैं कहाँ माया गर्छन् र? त्यसैले धान काट्न गएकी हुँ। धान काट्ने ठाउँमा केटीहरू मात्र हुन्छन्। हामी जस्ता छुई भएकाले पुरुषलाई छुन हुँदैन। देउता रिसाउँछन् भन्ने थाहा भएपछि पढे पनि संस्कार मान्नुपर्छ। तपाईं आफ्नो संस्कार मान्नुहुन्न? छुई हुँदा छुनुहुन्छ देउता? किन गोठमा बसेको भन्नुहुन्छ? तर, सबैले मानेको कुरा हामीले मान्नुपर्दैन त?

सरस्वती बुढथापा (२१), रुगिन, बाजुरा

१२ कात्तिक। बच्चा जन्मिएको आज १२ दिन भयो। बच्चा जन्मिसकेपछि २४ घण्टा स्वास्थ्य चौकीमै बसें। डाक्टरले बच्चा र आमाको स्वास्थ्य राम्रो छ भनेपछि घर आयौं। घर आएदेखि म यही गोठमा छु। बच्चा जन्माउँदा हाम्रो गाउँमा सबैजना गोठमा बस्छौं। भान्सा र घरको अन्य ठाउँमा जाँदा देउता रिसाउने हुँदा हामी गोठमा बस्ने गरेका हौं। स्वास्थ्य चौकी जाँदा सफा बस्नुपर्छ, गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर यस्तो बेला र छुई हुँदा बस्ने गोठमै हो। आमा, हजुरआमाले पनि गोठमै बच्चा जन्माउनुभयो, गोठमै बस्नुभयो। उहाँहरूलाई केही भएको छैन, हामीलाई पनि केही हुँदैन। देउता रिसाए भने अन्न फल्दैन, बच्चाहरू अपाङ्ग हुन्छन्, खडेरी पर्छ, पहिरो जान्छ। यस्तो थाहा हुँदाहुँदै कसरी घरमा बस्ने?

सुत्केरी बस्ने गाईगोठमा एक महीनासम्म आमा र बच्चा मात्र बस्ने हो। गोठमा बस्दा भूतप्रेत नआओस् भनेर ढोकामा बन्चरो झुन्ड्याउँछौं, कम्मरमा हँसिया भिर्छाैं। देउता खुशी बनायो भने भूत डराउँछ। कहिलेकाहीं गल्ती हुँदा भूत लाग्न सक्छ भनेर हँसिया र बन्चरोसँगै राखेका हौं। आफ्नो संस्कार सबैले मानेका छौं। अरूले भनेको सबै कुरा घरमा गर्न मिल्दैन।

चिनकला चदारा (२२) ह्याङ्गलु, मुगु

१४ कात्तिक। आज बच्चा जन्मिएको ६ दिन भयो। बच्चा यही गोठमा जन्मिएको हो। गर्भवती भएको समयमा स्वास्थ्य (केन्द्र) मा जँचाउन जाँदा डाक्टरले बच्चा जन्माउन आउनुपर्छ भने पनि गइनँ। सबैजना गोठमा बस्छन् त्यसैले म पनि बसें। सबै जना बसेको गोठमा हामी बस्न किन समस्या हुन्छ? छिमेकमा अर्की सुत्केरी पनि गोठमा छिन्।
सुत्केरीमा आफैं खाना बनाएर खानुपर्छ। छुई हुने भएकाले कोहीलाई छुन हुँदैन। घाँस काट्ने, कोदो काट्ने, कपडा धुने जस्तो घर बाहिरको काम गर्न हुन्छ। सुत्केरी हुँदा आमा र बच्चा दुवै फोहोर हुन्छन्, त्यसैले गोठमा बस्नुपर्छ। दुवैलाई देउताले बचाउनुहुन्छ। घरमा बसे देउता रिसाएर बचाउनुहुन्न। देउता रिसाए घरका लोग्नेमान्छेलाई समस्या हुन्छ, बालोबैंसमा मर्नुपर्छ। सन्तान अपाङ्ग हुन्छन्। यस्तो थाहा पाएपछि घरमा को बस्ने? एक महीना गोठमा बस्दा परिवारका सबैलाई राम्रो हुन्छ। ३० दिन मैले दुःख ज्ञट काट्दा के हुन्छ र?

भावना बुढा (२२) मैला, हुम्ला

प्रकाश सिंह

१३ कात्तिक। मैले तीन बच्चा गोठमै जन्माएँ। हरेक पटक एक महीना गोठमै बसें। बच्चा जन्माउन नसके मात्र स्वास्थ्य (केन्द्र) जाने हो। तर, स्वास्थ्य टाढा भएकोले घरको काम छोडेर जान सकिंदैन। सुत्केरी भएर गोठमा बस्दा हरियो तरकारी र झ्ाोल खानेकुरा खानुहुँदैन। खाए बच्चालाई कुवत (पखाला) लाग्छ। आफैं खाना बनाउनुपर्ने हुनाले यसमा होस पुर्‍याउनुपर्छ। छुई नबार्नेलाई देउताले धेरै दुःख दिएको आमाले सुनाउनुहुन्छ। परिवार, बालीनाली र आफ्ना सन्तानलाई राम्रो होला भनेर हामी गोठमा बस्छौं।

दुधारी धामी (२४) मैला, हुम्ला

प्रकाश सिंह

१३ कात्तिक। पोहोर माघमा सुत्केरी बेथा लागेपछि छिमेकी महिलाले मलाई गोठमा लगेका थिए। अरूको जस्तै हँसियाले बच्चाको नाल काटेको हो। पहिलो बच्चा हुँदा पनि म गोठमै बसेकी हुँ, अहिलेसम्म केही भएको छैन। मलाई पनि आमाले गोठमै जन्माउनुभएको हो, अहिलेसम्म केही भएको छैन। हाम्रो यहाँको चलन यस्तै छ। घरभित्र बसे देउता रिसाएर समस्या हुन्छ। सुत्केरी भएको समयमा दूध खाँदा गाईभैसाले दूध नदिने हुँदा दूध खान मिल्दैन। गोठमा बस्दा आधा ज्यान घटे पनि आफ्नो चलन मान्नु पर्‍यो। पानी पर्दा बर्खाको समयमा गोठमा कीरा आउँछन्, अलि समस्या हुन्छ। तर जे जसरी भए पनि बस्नुपर्छ।

'बीए पासले पनि सुत्केरी श्रीमतीलाई गोठमै राख्छन्'

धनबहादुर फडेरा

निमित्त प्रमुख, रुगिन स्वास्थ्य चौकी

म दुई वर्षदेखि यहाँ छु। गोठमा राखेको सुत्केरीको अवस्था निकै जटिल भएपछि मात्र स्वास्थ्य चौकीमा ल्याउँछन्, बचाउनै गाह्रो हुन्छ। कोल्टी लैजाउ भन्दा बिरामीको अवस्था त्यहाँसम्म पुग्ने पनि हुँदैन। गाईगोठमा पानी छैन, फोहोर मात्र छ। चिसो गोठमा कपडा पनि राम्रो हुँदैन। चेतनाको कार्यक्रम छ, तर गाउँलेहरू आफ्नो संस्कार छोड्न चाहँदैनन्। सुत्केरीलाई एक महीनासम्म मासु दिंदैनन्, दूध, दही, घ्यू पनि दिन्नन्।मेरो घर कालीकोट हो, कर्णालीका पाँचै जिल्ला घुमेको छु। यस क्षेत्रका ८० प्रतिशतले सुत्केरी राख्ने गोठमै हो। बीए पास गरेका श्रीमान्ले पनि श्रीमती सुत्केरी हुँदा गोठमै राख्छन्।

'बुझाउन नसक्दा दुःख लाग्छ'

रामुदेवी मल्ल, स्वास्थ्य स्वयंसेविका, बाँधु, बाजुरा

म १० वर्षदेखि गोठमा बस्नुहुन्न भनेर बुझाउन खोजिरहेकी छु, तर सकिरहेकी छैन। मेरो बच्चा जन्मँदा घरभित्र बसें, तर अरूलाई बुझाउन सकिनँ। भान्सा र देउता भएको कोठामा नराखी अर्को सफा कोठामा राख्नुपर्छ भन्दा पनि मान्दैनन्। घरका मान्छे र बस्तुभाउ बिरामी हुँदा पनि छुई भएर हो भन्छन्। रुढी हटाउन गाह्रो काम रहेछ।

सासूहरू गोठमा बस्दा केही भएन, अहिले हामीलाई पनि केही हुँदैन भनेर बुहारीहरू नै भन्छन्। सासूहरू हाम्रा पालामा १० बच्चा गोठमा जन्माइयो, बसियो, अहिलेकाहरू स्वास्थ्य जानुपर्छ भन्छन्, के जमाना आयो भन्दै कराउँछन्। यस्तोमा कसैले पनि परम्परा तोड्ने हिम्मत गर्दैन। गर्भ परीक्षण गर्नुपर्छ, भिटामिन, जुकाको औषधि, आइरन चक्की खानुपर्छ भन्ने चेतना फैलाउन सकिएको छ, तर गोठमा बस्नुहुन्न भनेर बुझाउन सकिएन। घरका सबैलाई राखेर सम्झाउँदा 'हुन्छ' भने पनि बेथा लाग्यो कि गोठमा लगिहाल्छन्।

पहिला त गाईको गोठमा पोस्रो (मल, गोबर) पनि सफा नगरी राख्थे। अहिले चाहिं पोस्रोसम्म फाल्छन्। कसैले पराल ओछ्याउँछन्, र पनि फोहोरै हुन्छ। गोठमै राखे पनि लिपपोत गरेर सफा बनाऊ भन्दा 'छाउ बस्ने गोठ पनि दुनियाँमा कहीं सफा हुन्छ' भन्छन्। पोहोर एउटी सुत्केरीको धेरै रगत बगेर मृत्यु भयो। फोहोरले गर्दा उनको पाठेघरमा संक्रमण भएको रहेछ। बच्चालाई निमोनिया हुने, आमालाई तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरमा संक्रमण हुने कारण गोठको बसाइ हो भन्दा 'देउता खुशी भए केही हुँदैन' भन्छन्। आफ्नै गाउँकालाई बुझाउन नसक्दा दुःख लाग्छ।

comments powered by Disqus

रमझम