१९-२५ मंसिर २०७३ | 4-10 December 2016

न्यानोको तयारी

Share:
  

जाडोयामसँगै घाम प्यारो लाग्न थालेको छ। घरबाहिर घाम तापेर जाडो कम भएको महसूस गर्न पनि सकिन्छ। तर, घरभित्रको चिसो कम गर्न भने आफैंले प्रयास गर्नुपर्छ।

घर न्यानो बनाउन कतिपयले एसी, हीटर जडान गरिसकेका छन्। विद्युत्, सोलार, ग्याँस, मट्टीतेल आदिबाट चल्ने उपकरणको प्रयोग पनि थालिएको छ। तर, सबैका लागि यो सम्भव छैन। खर्चिलो पनि छ। त्यसो भए कोठा कसरी न्यानो राख्ने? उत्तर त्यति सहज छैन।

त्यसो त चिसोको अनुभव उमेर अनुसार फरक फरक हुन्छ। युवाको तुलनामा बालबालिका तथा वृद्धवृद्धालाई चिसोले बढी सताउँछ। चिसोकै कारण यो बेला विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ। खासगरी दमका बिरामीका लागि चिसो प्रतिकूल समय मानिन्छ।

प्राकृतिक न्यानो

इन्टेरियर डिजाइनर सनन श्रेष्ठ प्राकृतिक रुपमै घरभित्रको तापक्रम न्यानो बनाइराख्न सकिने बताउँछन्। उनका अनुसार, यसका लागि प्रकाश छिर्ने कोठाको झ्याल तथा ढोका खुल्ला राख्नुपर्छ। झ्यालको पर्दा हटाएर सोझै घाम पर्न दिनुपर्छ। “घाम अस्ताउनुअघि झ्याल, ढोका बन्द गरेर पर्दा लगाएर कोठाको तापक्रम न्यानोे राख्न सकिन्छ”, उनी भन्छन्।

जाडोबाट बच्न बाक्लो तथा न्यानो कपडाको भूमिका सबैभन्दा बढी हुन्छ। यसका लागि बाक्लो तन्ना, सिरक, ब्लाङ्केट प्रयोग गर्नुपर्छ। त्यसो त कतिपय कपडा बाक्लो हुने तर जाडो नछेक्ने पनि हुनसक्छ। राति चिसो बढ्ने हुनाले हट ब्याग उपयोगी हुनसक्छ। सुत्नेबेला केही समय तातोपानीमा खुट्टा तताउने हो भने पनि शरीरमा चिसो कम हुन्छ।

जाडोमा न्यानो अनुभव गराउने रातो, सुन्तला जस्ता गाढा रङ घरको भित्तामा लगाउन पनि सकिन्छ। पर्दा, ओछ्यानमा पनि बाक्लो तथा गाढा रङको कपडा प्रयोग गर्दा न्यानो अनुभव हुने इन्टेरियर डिजाइनर श्रेष्ठ बताउँछन्। कपडालाई घाममा सुकाएर पनि न्यानो बनाउन सकिन्छ। “जाडोमा धेरै ओहोरदोहोर हुने ठाउँ, सोफा तथा कुर्सी मुनि बाक्लो कार्पेटहरु राख्नुपर्छ” उनी भन्छन्।

काठका फर्निचरले पनि न्यानो महसूस हुन्छ। जाडो र गर्मीमा उपयुक्त हुने गरी भित्तामा काठको प्यानलिङ गर्नु पनि उपयुक्त मानिन्छ।

चिसो पस्नबाट रोक्न खासै उपयोग नहुने कोठाको झ्याल, ढोका बन्द गर्नुपर्छ। खानेकुरा बनाइसकेपछिको ओभन तातो हुञ्जेलसम्म खुला राखे घरको तापक्रम बढाउन सघाउ पुर्‍याउँछ। हावा छिर्ने स–साना प्वाललाई टाल्न पनि ध्यान दिनुपर्छ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम