१९-२५ मंसिर २०७३ | 4-10 December 2016

कथावाचनको शक्ति

Share:
  

जात्रा।
'बहुप्रतीक्षित' भनिएको पुरानो डुगा ले दर्शकको अपेक्षा पूरा गर्न सकेन। निर्माणको घोषणासँगै प्रचार थालिएको रामबाबु गुरुङ निर्देशित यो फिल्मले व्यापारमा उनैको कवड्डी र कवड्डी कवड्डी को स्तर पनि कायम राख्न सकेन। बरु विना तामझाम प्रदर्शनमा आएको जात्रा ले तेस्रो सातापछि पनि दर्शक पाइरहेको छ।

दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, बुद्धि तामाङ जस्ता चल्तीका कलाकारको साथ पाएको पुरानो डुंगा ले रिलिज लगत्तैको शुक्रबार र शनिबार बजार तताएको थियो, तर आइतबारदेखि फिल्मबारे उत्साहजनक प्रतिक्रिया सुनिएन। राजधानीमा एकसाथ दुई दर्जन हल पनि पाएको थियो। तर, दर्शकले नयाँ स्वाद पाउन नसकेको प्रतिक्रिया दिए।

फिल्मको मूलकथा डुंगा चलाएर गुजारा गर्ने दाजुभाइको द्वन्द्व हो। कथा मौलिक छ, अभिनयमा पनि गुनासो गर्नुपर्ने ठाउँ छैन। तर, अघिल्ला चलचित्रमा दर्शकलाई तिक्खर घरेलु स्वाद पस्केका गुरुङ यसपटक भने चुकेका छन्।

जात्रा को कथामा खासै दम छैन। तर, कथावाचन शैली भने रोचक छ। शहरका गल्लीमा तीन अधबैंसेले देखेको सपना र त्यसले सिर्जना गर्ने घटनाक्रमलाई निर्देशक प्रदीप भट्टराईले सटिक र रसिक ढंगले प्रस्तुत गरेका छन्।

'पुरानो डुगा' मा दयाहाङ राई र प्रियंका कार्की ।
पुस्तक पसले फणिन्द्र तिमिल्सिना (विपिन कार्की), शैलुन चलाउने मुन्ना (रवीन्द्र झा) र फेन्सीशप चलाइरहेका जोयस (रवीन्द्रसिंह बानियाँ) नै जात्रा को केन्द्रीय पात्र हुन्। दयनीय पारिवारिक अवस्थाका कारण पैसा कमाउने दबाबकै बीच यी पात्रले अचानक तीन करोड रुपैयाँ फेला पार्छन्। यत्तिका पैसाले उनीहरुको तमाम समस्या समाधान हुनुपर्ने हो। तर, उनीहरु थप संकटमा पर्छन्। त्यही संकटबाट बच्ने अनेकन् दाउपेच नै फिल्मको कथा हो।

लामो समय 'मह संचार' मा आबद्ध भट्टराईको यो 'डेब्यु' निर्देशन हो। फिल्मको अर्को सशक्त पक्ष भनेको पात्र चयन पनि हो। चरित्र कृत्रिम लाग्दैन। नारीपात्र वर्षा राउत, प्रियंका झा, प्रेक्षा बज्राचार्यलगायत सबैको अभिनय स्वाभाविक छ।

जात्रा को 'हाँसो नरोकिने' र पुरानो डुगा को 'हास्यरसको कमी भएको' टिप्पणीले दर्शकको मनोदशा प्रकट गर्छ। लामो राजनीतिक उथलपुथल, भूकम्प, नाकाबन्दी जस्ता विश्रृंखलताका कारण दर्शकले मनोरञ्जन खोजिरहेको बुझ्न गाह्रो छैन। तर, मनोरञ्जन सस्तो नभई स्वस्थ हुनुपर्छ। यो मनोविज्ञानलाई निर्देशकले बुझ्नुपर्ने देखिन्छ।

शिव मुखिया

comments powered by Disqus

रमझम