१९-२५ मंसिर २०७३ | 4-10 December 2016

खेल–राजनीतिको दुर्लभ दस्तावेज

Share:
  

नयाँ पुस्ताको बढ्दो रुचिका कारण शुरुआती चरण नै सही, नेपाली खेलक्षेत्र पनि करिअर र व्यावसायिकताका हिसाबले आकर्षक बन्न थालेको छ। खासगरी क्रिकेट र फूटबलको 'टीम गेम' को ग्ल्यामरले कुनै बेला अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकलाई चिनाएका भारोत्तोलन जस्ता 'इन्डिभिजुअल गेम' हरूको चर्चा ओझेलमा पारेको छ। तर, यही 'टीम गेम' कै आकर्षणले कुनै बेला अन्तर्राष्ट्रिय जगतमा देशलाई चिनाएका खेलाडीहरूको आत्मविश्वास पनि बढाइदिएको छ। भारोत्तोलन खेलाडी सुरेन्द्र हमाल (५४) को आत्मकथा ओलम्पियन त्यसको उदाहरण हो।

सम्भवतः नेपाली खेलाडीको पहिलो आत्मकथा हो, ओलम्पियन। शीर्षक अनुसार नै पुस्तक खेलकुदको महाकुम्भ– ओलम्पिकमा नेपालको सहभागितामाथि केन्द्रित छ। सन् १९८३ मा सिरियामा भएको एशियाली भारोत्तोलन च्याम्पियनसिपमा कास्यपदक जितेका हमाल ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली भारोत्तोलक थिए। उनी सन् १९८४ मा अमेरिकाको लस् एञ्जलस्मा आयोजित ओलम्पिकमा पनि सहभागी भएका थिए।

पुस्तक ओलम्पियन

लेखक सुरेन्द्र हमाल

प्रकाशक क्रियटिभ बुक्स

पृष्ठ २०६+६

मूल्य रु.३२५

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई धेरै पदक दिलाउनेमध्येको एक भारोत्तोलन खेलको इतिहास, उतारचढाव र खस्कँदो वर्तमानप्रति पुस्तक समर्पित छ। आत्मकथा भएकाले धेरै प्रसंग लेखक र उनको जन्मथलो नेपालगञ्जकै सेरोफेरोमा घुमे पनि पुस्तकले ओलम्पिकमा मुलुकको सहभागिता, सफलता–असफलता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली सहभागिताका विभिन्न पक्ष र खेलकुदका भित्री पाटा उधिनेको छ।

नेपालगञ्ज कुनै बेला खेलाडीको उर्वरभूमि मानिन्थ्यो। भारोत्तोलन, सूटिङ, क्रिकेटका खेलाडी उत्पादनमा त मुलुकमै अग्रपंक्तिमै आउँथ्यो। राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थानीय खेलाडीकै वर्चस्व रहन्थ्यो। तीमध्ये पनि बेग्लै उँचाइ हासिल गरेका हमाल निरन्तर सफलताको सिंढी चढिरहेका थिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा गैर खेलकुद क्षेत्रका व्यक्तिहरूको हालीमुहाली पहिले पनि थियो। त्यसप्रति असहमत हमाल दरबारियाको कोपभाजनमा परे। परिणाम, उनको खेलजीवन झ्ान्डै सिद्धिएको थियो। २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा पनि सक्रिय हमालले त्यसबीचमा निराशालाई मोड्न राजनीतिक जीवन पनि रोजे। २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नेपालगञ्ज नगरपालिकाको उपमेयरमा निर्वाचित हमाल २०५४ सालको निर्वाचनमा भने मेयरमा पराजित भए। त्यसपछि भने उनी पुनः खेलक्षेत्रमा फर्किए। राखेप सदस्य भए र नेपाल भारोत्तोलन संघको नेतृत्व समेत गरे।

निरन्तरको लगन र मिहिनेत अनि जस्तोसुकै प्रतिकूलतामा पनि विचलित नहुने अठोट– खेलकुदमा करिअर बनाउन चाहने पछिल्लो पुस्तालाई उनको सफलता सूत्र छ। सम्भवतः यही सूत्रले उनलाई पाँच वर्ष अघि क्यान्सरले सन्निकट मृत्युबाट जित्ने सफलता पनि दिलायो। त्यसपछि नै हो, हमालले आफ्नो खेलजीवनको अनुभव नयाँ पुस्ताका लागि लिपिबद्ध गर्ने जमर्को गरेको।

भारोत्तोलक खेलाडीकै रुपमा ओलम्पियन बने पनि हमाल कुस्ती, टेबलटेनिस र क्रिकेटका समेत राम्रा खेलाडी हुन्। राजनीति र अर्थतन्त्र जस्तै खेलकुद पनि राजधानीकेन्द्रित रहेका बेला आफ्नै बुताले ओलम्पिकसम्मको यात्रा तय गरेका उनी अहिले नेपालगञ्जमै बसेर काठमाडौं बाहिरको खेल क्षेत्रको जग मजबूत बनाउने अभियानमा छन्।

पुस्तकले खेलक्षेत्रका मनग्ये सूचना र जानकारीका विकृत चित्र पनि प्रस्तुत गरेको छ। तर, अति राजनीतीकरण र भ्रष्टाचारले थला परेको खेल क्षेत्रको पछिल्लो अवस्थाबारे भने पुस्तक मौन देखिन्छ। पुस्तकको एउटै मात्र कमजोरी भनेको यही हो। अन्यथा ओलम्पियन एउटा खेलाडीको आँखाबाट नेपाली खेलकुदको ऐना देखाउन सफल छ।

रामेश्वर बोहरा

comments powered by Disqus

रमझम