१९-२५ मंसिर २०७३ | 4-10 December 2016

बहुआयामिक विपिन

Share:
  

'भष्मे डन' को रुपमा होस् वा 'फणिन्द्र तिमिल्सिना', विपिन कार्कीले आफ्नो चरित्रमा न्याय गरेका छन्। चलचित्र छड्के का 'बिन्दु माझी' पनि धेरैले बिर्सेका छैनन्। सहायक पात्रको अभिनयलाई स्थापित गराउने काममा यतिबेला विपिन जति योगदान शायदै अन्य कलाकारले गरेका छन्।

विराटनगरबाट पढाइको सिलसिलामा काठमाडौं आएपछि रंगकर्ममा जोडिएका कार्की हरेक चलचित्रमा भिन्न रुपमा प्रस्तुत हुन रुचाउने आफ्नो स्वभावकै कारण सफलता हात परेको बताउँछन्। त्यसका निम्ति पटकथाबाटै आफ्नो भूमिका खोज्न सक्रिय हुन्छन्। बेलाबेला पटकथा बदल्ने क्षमता पनि उनले राखेका छन्। भन्छन्, “आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउने भनेर म बारम्बार घोत्लिरहन्छु।”

तस्वीरः सूचनाकेन्द्रडटक

पात्रको हुलिया, हाउभाउ र पोशाकमा उनी खास चासो राख्छन्। मिल्दोजुल्दो चरित्र खोज्न भीडमा मिसिन्छन्। अरुले बोलेको हाउभाउ हेर्छन्। कसैको बोली त कसैको हाउभाउ उतार्छन्। र, यी सबैको 'फ्युजन' बाट आफ्नो चरित्र निर्माण गर्छन्।
जस्तो कि कार्कीलाई छड्के मा दिइएको भूमिका पनि छोटो र सामान्य थियो। तर, सानै सही, भूमिकालाई न्याय गर्न उनी चितवन पुगे। त्यहाँका युवासँग संगत गरे। उनीहरुको हाउभाउ टिपे। “शुरुमा बिन्दु माझीको चरित्र कमजोर थियो”, उनी भन्छन्, “तर, पछि उनैलाई सशक्त बनाइयो।”

कार्कीले पशुपतिप्रसाद को 'भष्मे डन' को आवाज प्राविधिक हरि थापाबाट नक्कल गरेका हुन्। सूटिङका बेला थापाको कर्मचारी खटाउने, हप्काउने शैलीबाट प्रभावित कार्की उनैबाट भष्मेको चरित्र बनाएको बताउँछन्।” तर, यसको भेउ निर्देशक दीपेन्द्र के खनालले समेत पाएनन्। “मैले भष्मेको स्वर भासिएको बनाए, तर सबैले मेरो आवाज बिग्रिएको भन्ने ठानिरहे, मैले पनि चिसोले गर्दा यस्तो भएको हो भनेर ढाँटिदिए”, उनी सुनाउँछन्।

जात्रा को फणिन्द्र भन्ने पात्रमा आफ्नो स्वभाव र अनुभव मिसाइएको निर्देशक प्रदीप भट्टराई बताइरहन्थे। फणिन्द्रको भूमिका पाएका कार्कीले भट्टराईलाई 'फलो' गर्न थाले। उनी कसरी बोल्छन्, कसरी खुशी व्यक्त गर्छन्, तनावमा उनको अनुहार कस्तो हुन्छ नियाल्न थाले। “मिहिन गरेर हेर्ने हो भने जात्रा का फणिन्द्र निर्देशक भट्टराई नै हुन्” कार्की भन्छन्।

शिव मुखिया


कमला कमान

पहाडी खोंच हुँदै तीव्र गतिमा बग्ने भोटेकोशीको स्वभाव कस्तो छ? कमला मगर (२३) सँग यसको उत्तर छ। र्‍याफ्टिङ गाइड कमलासँग भोटेकोशी वा त्रिशूलीको तीव्र वहावसँग दिनहुँ पौंठेजोरी खेलेको वर्षौंको नाता छ।

सिन्धुपाल्चोकमा जन्मे–हुर्केकी कमला १२ वर्षकी थिइन्; जतिवेला उनले कायाकिङ, पौडी र र्‍याफ्टिङ सिक्ने मौका पाइन्। घरको आर्थिक अवस्था बलियो थिएन। बुबा ज्यामी थिए, आमा रोगी। साना भाइबहिनी हुर्काउने जिम्मा उनैको थियो। दायित्वबोधले थिचेपछि उनको पढाइ छुट्यो।

ठीक यहीबेला संयोगले भेटिइन्, स्वीडिस युवती इन्का। तिनै इन्काले उनलाई पानीका यी सबै खेलको तालीम दिलाइन्। इन्काकै सहयोगले इक्वेडर एक्सपीडिसनमा काम पाइन्, र्‍याफ्टिङ गाइडको रुपमा।

वाइल्ड र्‍याफ्टिङका लागि संसारकै उत्कृष्ट र साहसिक मानिने भोटेकोशीलाई आधार बनाएर काम गरेकी कमला अहिले जापानमा र्‍याफ्टिङ गाइडको काम गर्छिन्। अघिल्लो वर्ष मात्र उनलाई जापानको होकाइडो आउटडोर एड्भेन्चरले र्‍याफ्टिङ गाइडको रुपमा निम्त्याएको थियो। “६ महीना नेपाल र ६ महीना जापानमा काम गरिरहेकी छु” कमला भन्छिन्।

कमलाले नेपालमै अन्य चार जना युवतीसँग मिलेर 'हिमालयन एड्भेन्चर गर्ल्स' स्थापना गरेकी छिन्। ठमेलमा कार्यालय रहेको यो संस्थाले स्वदेशी तथा विदेशी पर्यटकलाई त्रिशूली, भोटेकोशीमा जलविहार गराउनेदेखि उच्च हिमाली भेगमा साहसिक पदयात्रा समेत गराइरहेको छ।

comments powered by Disqus

रमझम