भव्य मोन्लम

Share:
  
- दीपक ज्ञवाली

लुम्बिनीमा बुद्धकालीन झल्को दिने यौटा ठूलो पर्व मानिन्छ, मोन्लम अर्थात् विश्वशान्ति पूजा। हरेक वर्ष हुने यस्तो पूजा यसपटक झन् भव्य भयो, रजत महोत्सवका रुपमा।

विश्वशान्तिको कामनाका लागि आयोजित पूजामा हिमाली बौद्ध परम्पराका सक्य (सँक्य) समुदायका नेपालसहित चीन, श्रीलंका, कोरिया, क्यानाडा, सिंगापुरलगायत १३ देशका ४५ सय भिक्षु–लामा सहभागी भए। १०–१९ पुसमा चलेको पूजामा गृहस्थ, अनुयायी, सेवक, दानवीर गरी थप ६ हजार जना पनि खटे। पूजाको अगुवाइ सक्य समुदायका ४१औं गद्दीनसीन साक्या ठि्रजिन रिम्पोछेले गरेका थिए। यो पूजालाई बोधिसत्व र ताराहरूको प्रार्थना तथा सेवा, दान र सत्कर्मको अभ्यास गर्ने अवसरका रुपमा पनि लिइन्छ।

तस्वीरः दीपक ज्ञवाली

बुद्ध शिक्षाको चुरो आफूमा भएको अस्थिर स्वभाव, लोभ, मोह, तृष्णा र सबैखाले खराब विचार त्याग्ने, खराब कर्म नगर्ने हो। अशान्त मन शान्त पार्ने हो। लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख इन्द्र काफ्लेका अनुसार बुद्ध जन्मस्थलमै आएर आफ्नो चित्त शुद्ध गर्नु र अरुको सर्वोत्तम कल्याणको संकल्प (प्रणिधान संकल्प) गर्नु यो पूजाको मुख्य परम्परा हो। विश्वशान्ति पूजाले खराब कर्म नष्ट हुने, आत्मशान्ति र विश्वशान्तिका लागि बल पुग्ने विश्वास गरिन्छ।

comments powered by Disqus

रमझम